१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत ३० नोभेम्बर २०१९ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दज्यूको १३५ औँ जन्म जयन्ति समारोहको आयोजना गरेको हो । 

प्रमुख अतिथि कियाचु युकेका वर्तमान केन्द्रिय अध्यक्ष तील बिक्रम सम्बाहाङ्फे र अन्य अतिथिहरु पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, कियाचु वेल्स साखा अध्यक्ष पर्शु फागो, समाजसेवि भक्तिहाङ् लीम्बु, रि क्या. ईश्वर आङ्बुहाङ् लगायत समाजका अग्रज समाजसेबिहरुहरु रहेको सो जन्मजयन्तिमा संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेको थियो ।

“किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गर्दै उक्त कार्यक्रम र अन्य सेवापुजाहरुबाट जुटेको माङ्भेटिहरु समाजका सदस्यहरुसँग सल्लाह गरि फल्गुनन्द नोमाङ्गेना गुरु अक्षयकोष को लागी नेपाली रुपैया २ लाख १३ हजार पठाउने सल्लाह भएको समेत अवगत गराउदै सम्पुर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई आजको कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको र पुजा पछि खानपिनको ब्यवस्ता भएको पनि जानकारी दिदै समापन गरेका थिए ।

विहानको १० बजे कार्यक्रम शुरु भएर साँझ ५:३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।