बेलायतमा युद्ध साहित्य गोष्ठी आयोजना गरिने

जय तमाङ – लण्डन

विश्व नेपाली साहित्य समाज-पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज- दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुम मार्फत यी दुई संस्थाबीच बसेको बैठकले सो निर्णय गरेको हो।

बेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसलाई पारेर आयोजना हुन गैरहेको कार्यक्रमको प्रमुख संयोजक विजय हितानलाई तोकिएको छ । मुख्यतः विगतका युद्धहरूमा सहादत प्राप्त गरेका सैनिकलाई श्रद्धान्जली अर्पण गर्दै युद्ध सृजनाहरू वाचन गरेर यो कार्यक्रम गरिनेछ । यस कार्यक्रम शनिबार १३ र आइतबार १४ नोभेम्बरका दिन दिनको १ देखि ३ बजेसम्म भर्चुअल जूममार्फत गरिने योजना छ ।

युद्ध साहित्यलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रममा ब्रिटिस गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ युनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाई पनि सहभागिताको लागि सम्पर्क गरिनेछ । सिर्जना वाचनका साथसाथै युद्ध साहित्यउपर परिचर्चा पनि गरिने हुँदा यस विषयका अध्येता/अभियन्तालाई प्रमुख वक्ताको रुपमा निम्त्याउने पनि आयोजकले निर्णय गरेको छ ।

युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका सर्जक साथै निवृत्त तथा सेवारत सैनिक र तिनका परिवारलाई कार्यक्रममा जोडिन हार्दिक अनुरोधसमेत आयोजकले गरेका छन् ।

कार्यक्रमको प्रथम दिन बेलायत र नेपालका संस्ठालाई र दोस्रो दिन भारत र अन्य मुलुकका स्रष्टालाई भाग लिन लगाएर सञ्चालन गरिनेछ ।

स्मरण रहोस्, प्रथम पल्ट गत वर्ष यस्तै बृहत् युद्ध साहित्य गोष्ठीको आयोजना गरिएको थियो । त्यसको अपार सफलतापश्चात् यो दोस्रो गोष्ठी पनि गर्न लागिएको हो । यस पल्ट १३ गोर्खा भिसीको सम्झनामा यो आयोजना गर्न लागिएकाले भिसीका आफन्तलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिने छ ।