किरात धर्मका अभियन्ता फूरुम्बोसंग युकेमा अन्तरक्रिया

युके, आसफोर्ड । ३० सेप्टेम्बर २०२१ का दिन किरात धर्मका सक्रिय अभियन्ता ज्ञानु फूरुम्बोसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ युके समितिको केन्ट इलाकामा रहेका पदाधिकारी तथा धर्मालम्बिहरुको उपस्थितीमा अभियन्ता फूरुम्बोलाई स्वागत तथा उनीसंग अन्तरक्रिया सम्पन्न भएको हो । फूरुम्बो किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङ जिल्ला सचिव र किरात याक्थुङ चुम्लुङ फूङलिङ नगरपालिका सचिव तथा ताप्लेजुङको फक्ताङलुङमा निर्माण गरिने धर्मगुरु आश्रम निर्माणार्थ केन्द्र सरकारबाट प्राप्त १ करोड ३० लाख बजेटको निमित्त पहलकर्ता मध्येका एक हुन । उनी किरात मुन्धुम विज्ञ र सेवासाबा पनि हुन । उनी भर्खरै मात्र युकेको आसफोर्डमा आईपुगेका हुन ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, सेवासावा मंगलसिं लिङदेन, केवाहाँङ चेम्जोङ लगायतले खदा लगाई दिएर स्वागत गरेका थिए । फूरुम्बोले आफूले सकेको, जानेको मुन्धुम र किरात धर्म सम्बन्धिको कार्यमा साथसहयोग गर्ने प्रतिबद्धता पनि जनाए । मुन्धुम सम्बन्धि सहभागीहरुको धेरै प्रश्नका उत्तर उनले दिएका थिए । कार्यक्रमको ब्यवस्थापन आसफोर्ड टाउनको गोर्खा भिल्ला रेष्टुरेष्टका प्रोपराइटर डम्बर खजुमले गरेका थिए ।

युकेका किरात धर्म तथा साहित्य उत्थान संघ सन् २००९ मा गठन भएको हो भने संघले युकेमै माङहिम निर्माणको निमित्त ४० हजार पाउण्ड भन्दा बढि संकलन गरिसकेको छ । संघले बार्षिक रुपमा गाली सराप बगाउने, उधौली र उभौलीमा पुजाअनुष्ठान गर्ने गरेको छ । युकेमै अहिले करिब एक दर्जन सेवासावा बनिसकेका छन जसले किरातहरुको जन्म, मृत्यूमा मुन्धुम अनुसार अनुष्ठानहरु गर्ने गर्दछन । संघले मुक्कमलुङ (पाथीभरा) मा स्थापना गरिएको महागुरु फाल्गुनन्दको शालिक स्थापनार्थ नेरु ३५ लाख र फक्ताङलुङमा निर्माण भएको गुरु आश्रम निर्माणमा पनि दाताहरुको तर्फबाट उल्लेख्य सहयोग गरेको र माङसेबुङ गुरुआश्रममा समेत नियमित सहयोग उपलब्ध गराउदै आएको छ ।