फोनिजको सातौँ महाधिवेशन माघ पहिलो साता

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को सातौँ महाधिवेशन माघको पहिलो साता हुने भएको छ । फोनिजको सातौँ पूर्ण बैठकले महाधिवेशन माघ ७ र ८ गते तोकेको हो ।

फोनिजले नुवाकोटको ककनी गाउँपािलकामा भएको बैठकको निर्णय प्रेस विज्ञप्तिबाट सार्वजनिक गर्दै सबै शाखाहरूबाट सदस्यता वितरण र नवीकरण मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । महासचिव मनोज घर्ती मगरले जारी गरेको विज्ञप्तिमा मंसिर २५ सम्म जिल्ला शाखा र विदेश शाखाहरूको अधिवेशन गर्ने, पुस २४ गते एक साथ सातै प्रदेश समितिहरूको प्रादेशिक महाधिवेशन गर्ने र सातौँ संघीय महाधिवेशन माघ ७ र ८ गते सम्पन्न गर्ने निर्णय भएको उल्लेख छ । यद्यपि महाधिवेशनको स्थल भन्ने टुङ्गो लाग्न बाँकी छ ।

बैठकले कात्तिक २५ देखि हुन गइरहेको १२ औँ राष्ट्रिय महाधिवेशनमा सक्रिय सहभागिता जनाउन र आफ्नो जाति, मातृभाषा र धर्म लगायतका विषयमा स्पष्ट कुरा उल्लेख गर्न पनि आदिवासी जनजाित समुदायहरूलाई अपिल गरेको छ । फोनिजले सर्वोच्च अदालतले समानुपातिक समावेशी शासन व्यवस्थालाई नै चुनौती दिने गरी आरक्षण सम्बन्धमा गरेको फैसलाप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसैगरी, बैठकले नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको कात्तिक ७ गते खोटाङमा साँझ भीरबाट लडेर भएको मृत्युप्रति समेत दुःख व्यक्त गर्दै समवेदन प्रकट गरेको छ ।
फोनिजको स्थापना सन् १९९९ का अगष्ट ९ मा भएको हो । आठ जातीय पत्रकार संघहरू घटक संस्था रहेको फोनिजको ४६ जिल्ला शाखा संगठन र विदेशमा हङकङ, जापान, दक्षिण कोरिया र यूकेमा शाखा समिति रहेको छ ।