यो उठ्ने बेला हो, जुट्ने बेला हो

लिम्बुवान स्वायत्तता स्थापनाका निम्ति पछिल्लो समय लागिपरेका कुमार लिङदेन यतिबेला हङकङ आइपुगेका छन् । निर्वाचन आयोगले मान्यता प्रदान गरेको लिम्बुवान संघीय परिषदका अध्यक्ष रहेका उनी सोही पार्टी कामको सिलसिलामा यता आएका हुन् । यही मौकामा मूलबाटो डटकम वेभ पत्रिका टिमले उनीसँग कुराकानी गरेको थियो । कुराकानी मुख्यतः मुलुकमा संघीयताको स्थापना र लिम्बुवान स्वायत्तताको अहिलेको अवस्था बारे केन्द्रित् गरिएको थियो । सोही कुराकानीको सम्पादित अंश यसप्रकार छ ।

मूलबाटो : संघीयताको निम्ति आन्दोलन गर्दै हुनुहुन्छ, त्यो अहिले कता पुग्दैछ ?

लिङदेन: अब संघीयताको कुरा विशेषगरी लिम्बुवानबाटै सुरू भयो । मधेस आन्दोलनले त्यसमा इटा थप्यो । र, संघीय गणतन्त्र भनेर घोषणा भको छ संविधानमा । तर, संघीयता नदिने ठूलो षडयन्त्र तीव्र रूपमा भइरहेको छ । त्यसलाई काउन्टर गर्नको लागि हामीले सडक तताइरख्या छौं । विशेषगरी, लिम्बुवानमाचाहिँ एकात्मकतावादीहरू विरुद्ध दसहजार कालो झण्डा देखाउने, भोक हड्ताल गर्ने, प्रत्येक महिनाको पन्ध्र गते आम हड्ताल गर्ने, सरकारी कार्यालयहरूमा धर्ना दिने, आमसभा गर्ने, जनतासँग अतर्न्क्रिया गर्ने र देशमा संघीयतावादीहरूको एउटा ठूलो चेन बनाउने काम भइरहेको छ ।

मूलबाटो : माओवादीले समेत संघीयता भनेको छ, सँगै जाँदा हुँदैन  ?

लिङदेन: होइन, माओवादी संघीयतावादी होइन । ऊ संघीयताको लागि खोलिएको पार्टि होइन । उसको लक्ष्य संघीय गणतन्त्र होइन, साम्यवाद हो ।

मूलबाटो : यद्यपि, संघीयता भन्ने शब्द त माओवादीले नै स्थापित् गरेको शब्द हो नि ?

लिङदेन: यो कुरासँग हाम्रो नि:सन्देह असहमती छ । लिम्बुवान र मधेसमा संघीयताको आन्दोलन नउठेको भए नेपालमा संघीयता ल्याउन ५०औं हजारको बलिदानी हुनसक्थ्यो । माओवादीले ल्याएको कार्यक्रम होइन । आठदलको सहमतीमा कहाँ संघीयता लेखिएको छ र ! लिम्बुवान र मधेसमा आन्दोलन उठेपछि अन्तरिम संविधानमा गिरिजाप्रसाद कोइरालाले टेलिभिजनबाट रुँदैरुँदै थपेको हो ।

मूलबाटो : तपाइँहरूले खोज्नुभएको लिम्बुवान, लिम्बुहरूको मात्रै हो कि गैर?लिम्बुहरूको पनि हो ?

लिङदेन: हामीले अहिले जुन भनीरहेका छौं, त्यो मध्यम मार्गीय संघीयता नै हो । जस्तो कि अरुणपारिका नौ जिल्ला जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा त्यसको नाम लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् तर त्यहाँ रहने सबै जातिहरूको समावेशी, साझा र समानुपातिक लिम्बुवान हुनेछ । हामीले सुरुदेखि नै यही भन्दै आएका छौं र, नै आज त्यहाँ लिम्बुवानका लागि राई, लिम्बु, गुरुङ, मगर र क्षेत्री बाहुनसमेत लागीरहेछन् । त्यसैले, लिम्बुवानको मात्र अलि चर्चा आइरहेको छ । लिम्बुवान लिम्बुहरूको मात्र होइन । जस्तो कि अहिले म यता आउँदा हाम्रो पार्टि कार्यबाहक अध्यक्षको जिम्मेवारी पार्टिका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई दिएर आएकोछु । यसरी, हामीले सबै जातिहरूलाई समेटेर लगेका छौं ।

मूलबाटो – तपाइँहरू अरुणपारिका नौ जिल्ला भनेर लागीरहनुभएको छ, तपाइँहरूलाई ती सबै चाहिएको हो ?

लिङदेन: हजुर त्यो माग हो, हाम्रो आन्दोलनको ।

मूलबाटो: तपाइँहरूले नौ जिल्ला दावीसहित लिम्बुवानको माग गर्दैगर्दा त्यहीँभित्र किरात मध्येकै राई, याक्खा र धिमाललगायतका जातिहरूबाट असुरक्षित महसुस हुन्न ?

लिङदेन: हामीलाई त्यस्तो लाग्दैन । हामी उहाँहरूसँग छलफल एवं अर्न्तक्रिया गरिनै रहेका छौं । समर्थन नै छ भन्ने हामीले ठानेका छौं ।

मूलबाटो: तपाइँहरू अरुणपारिका राईहरूलाई आयतित् भन्दै हुनुहुन्छ, यसको पछाडि के तर्क होला ?

लिङदेन: होइन, हामीले त्यसो कहिल्यै भनेका छैनौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान परिषदको नेतृत्वमा थुप्रै राईहरू हुनुहुन्छ । हामीले त्यो भन्ने कुरै भएन । अरुले भनेका होलान् । लिम्बुवानमा न राई, न लिम्बु सबै समान हुन् ।

मूलबाटो : किरात राज्यको माग उठीरहेको बेला त्यसमा संयुक्त रूपमा अगाडि बढे हुँदैन ?

लिङदेन: खै, अहिले किरात भनेर आन्दोलन उठेको जस्तो मलाई लाग्दैन । त्यो खाली मिडिया र पत्रपत्रिकाको हल्ला मात्र हो । त्यो माओवादीका साथीहरूले बढी उठाउने गर्नुहुन्छ । त्यो सारा आन्दोलनको गाइडेड प्रचण्डजीले गर्नुहुन्छ । उहाँहरू स्वतन्त्ररूपले उठाउन सक्नुहुन्न । त्यो अलि फरक कुरा हो ।

मूलबाटो :  लिम्बुवानको सैद्धान्तिक आधारहरू के हुन् ?

लिङदेन: धेरै सरल । विश्वका धेरै देशहरूमा संघीय व्यवस्था छ । मध्यम मार्गीय शासन व्यवस्था अपनाइने छ । मिश्रति अर्थ व्यवस्था कायम गरिने छ । त्यहाँ अर्न्तराष्ट्रिय श्रम संगठनको महासन्धी १६९ लागू गरिएको हुनुपर्दछ । सह?अस्तित्व र समावेशी हुनेछ । त्यहाँ लोकतन्त्र हुनेछ । बहुदलीयता हुनेछ ।

मूलबाटो : भोली लिम्बुवानको नेतृत्वमा पदमसुन्दर लावती वा बीर नेम्वाङ जस्ता राजावादी मान्छे आए भने स्वीकार्नु हुन्छ ?

लिङदेन: नेतृत्व भन्ने कुरा गर्छु भनेर हुने होइन । सबैले पत्याए भने, दशौं हजार मान्छे पछि लागे, हामीले मान्दैनौं भनेर हुन्छ ? नस्वीकार्ने भन्ने हुन्न ।

मूलबाटो : अन्त्यमा, हङकङमा रहेका नेपाली आदिवासी जनजातिहरूलाई के आग्रह गरेर फर्किनुहुन्छ ?

लिङदेन: सम्पूर्ण आदिवासी जनजातिहरूलाई म त त्यही भन्छु, यो उठ्ने बेला हो, जुट्ने बेला हो । मनमुटाबका कुराहरू छोड्ने बेला हो । तर मुख्य कुरा मधेसीहरूले आफ्नो स्वतन्त्र पहिचान आफैं बनाए, हामी पनि बनाऔं । सामाजिक सँस्थाहरूमा मात्र नभई राजनीतिक संगठनमा पनि संगठीत् होऔं । यहाँ साँस्कृतिक पहिचानले मात्र हुँदैन राजनीतिक पहिचान देखाउने कोशिस् गरौं ।

प्रस्तुति : रमेश नामहाङ,पितम्बर राई
फोटो :  कल्पना तुम्रोक

Source: http://mulbato.com/?p=1967#comment-469