कमाण्डरकी जीवन साथी

– लाहाङ चेम्जोङ


एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो । कोही आयो भने सशङ्कित हुन्थ्यो । झ्यालबाट बाहिर नियालेर सायद कल्पना गर्थ्यो- भाग्नसके हुन्थ्यो । किनकि, बाहिर हेरिरहन्थ्यो-ऊ । त्यतिनै बेला अर्को कोठाबाट एकजना युवा आएर भन्यो ‘लेऊ यो बिस्कुट र तातो पानी खाऊ ।’ कताकता सहानुभूति प्राप्त गरेको महसुस भयो उसलाई । खुब भोकाएको थियो-ऊ । सुरुप्-सुरुप् पानी र बिस्कुट खान थाल्यो । मर्छुहोलाको ठाउँमा बाँच्छु होलाजस्तो महसुस गर्नथाल्यो । मार्छन् होला होइन बचाउँछन् होला भन्ने आसा पलाउन थालेको थियो-उसमा । तातो पानीको अन्तिम घुट्को पिएर गिलास राख्यो सामुन्नेमा देखियो लगभग चालीस वर्षको मान्छे आर्मीलेजस्तो ड्रेस लगाएको लामो सिरुपाते खुकुरी कम्मरमा भिरेको मान्छे । ऊ थियो- माङ्तोक कमाण्डको प्रमुख कमाण्डर खाम्सा । कुर्सी तानेर उसको अगाडि बस्यो खाम्सा ।
“केहो तिम्रो नाम ?”
“जीवनु डराएर बोल्यो ऊ ।”
“तिमीलाई पिटे ?” पिटेन भन्न टाउको हल्लायो ।
“तेसोभए किन डराउँछौं ?”  डराउँदिन भन्न अलिकति टाउको उठायो ।
धम्कीको भाषामा खाम्साले भन्यो- “तर अन्तचाहिँ पिटाई मात्र के के हुन्छ यदि झूटो बोल्यो भने ।”
ऊ सबैभन्दा डरायो । झूटो बोल्दिन भन्ने स्वीकारोक्ति जनायो ।
“कति जना थियौं ?”
“आठ जना ।”
“यी रुखका मुढा गोलियाहरु कसलाई बेच्छौं ?”
“बमबहादुर भन्ने तलबाट आउँछ केटाहरु लिएर । एउटा गोलियाको हजार दिएर लैजान्छ । उसले पनि इण्डियाबाट आउनेलाई बेचिदिन्छ रे ।”
“तिमीले मात्र कतिवटा रुख ढाल्यौं ?”
“अहिलेसम्म लगभग चारसय जति ।”
खाम्साले अड्कल गर्यो रतुवामाई जङ्गलबाट मात्र दशौ हजार सालका रुखहरु ढालिए ।
“कतिमा पढ्छौ ?”
“पढ्न अहिले छोडीसकेँ ।”
“गोलिया बेचेर कमाएको पैसा के गर्छौं ?”
“रक्सि र मासु किनेर प्रायः जसो पाटी खान्छौं ।”
“ड्रग्स ?”
“अरुले खान्छन् ।”
“तिम्रो व्यक्तिगत मज्जाको लागि रातारात त्यहाँको जङ्गल सिध्यायौं होइन ?”
यी गोलियाहरु रातारात इण्डिया पुगेर इण्डिया दिनानुदिन धनी हुँदैछ । त्यहाँका जनताहरुले हाम्रा रुखहरु प्रयोग गरेर राम्रा राम्रा घरहरु बनाइरहेका छन् । हामीलाई यो कुरा मन पर्दैन । यी हाम्रो रुखहरुबाट हाम्रै देशका गरिबदुखीहरुको घरहरु बनाउनुपर्छ । भोलि हाम्रो आफ्नै राज्य भएपछि यी सालका चिरानहरु प्रयोग गरेर रेल गाडीको लिगहरु ब्नाउनुपर्छ । तर, तिमीहरु भने अहिले नै ती सबै सिध्याइदिने ?”
खाम्साको कुरा सुनेपछि उसलाई कहिल्यै नबुझेको कुरा बुझेजस्तो लाग्यो । रात छिपिसकेको थियो । खाम्साले एउटा ओड्नॆ सिरक ल्याउन लगाएर उसलाई दियो र भन्यो-
“ल सुत भोलि कुरा गर्ने । दायाँबायाँ गर्ने होइन नि ।”
उसले पनि सोच्यो यति राम्रो व्ववहार गर्नेहरुसँग डराएर भाग्दिन ।

बिहान सबेरै खाम्सा उठेर कमाण्डका युवाहरुलाई उठाएर दैनिक कसरत गर्न पठाएपछि डायरी पल्टाएर हेर्यो । आज बाटो खन्ने दिन रै’छ धरमपुरमा । उसले सम्झ्यो त्यहाँका स्थानीय नेता हर्के लिम्बूलाई । उसले भनेको धरमपुर राजमार्गसँग जोडिएको गाउँ तर विकासको दृष्टिले धेरै अविकसित छ । बिजुली-बत्ती राम्ररी पुगेको छैन । बाटो उहिले झोडमा खनेको फेरि मर्मत गरेको छैन । हर्क लिम्बूले यसरी भनेको थियो- “लिम्बूहरु बसेको ठाउँमा विकास नहुने पो हो कि ?” त्यसको जवाफमा खाम्साले हाँस्दे भनेको थियो- “त्यसो त होइन होला ।” आजको बाटो खन्ने योजनाको लागि पाँचसय युवाहरु लिएर जानुपर्ने अनुरोध गरे पनि दुई अढाईसय जति युवाहरु चाहिँ लगेर धरमपुर जान सकिएला भन्दै खाम्साले योजना बनाउँदै थियो । बाहिर कमाण्डमा युवाहरु जुत्ता बजार्दै कवाजबाट आइपुगे । एकछिनपछि ठूलो आवाजमा एकै स्वरमा युवाहरु कराए-…”लिम्बुवान माटोको निम्ति प्रतिवद्ध छौं……लिम्बुवान राज्य प्राप्तिको शान्तिपूर्ण आन्दोलनमा मर्नै पनि तयार छौं……। जय लिम्बुवान !”

आजभन्दा दुई वर्षअघि एल्भी. गठन गर्न र त्यसपछि प्रशिक्षण दिन भनेर खाम्सा धरमपुरमा दुईपटक पुगेको थियो । त्यसपछि, यहाँका स्थानीय नेताहरुसँग कमाण्डरको कार्यालयमा भेटघाट मात्रै हुनेगर्थ्यो खाम्साको । लिम्बुवानबाट पश्चिम थरुहटसम्म फैलिएको मुख्य हाइवेलाई छोएर उत्तर-दक्षिण परेर अवस्थित् छ धरमपुर । यहाँको बाटो हर्क लिम्बूले भनेजस्तै पूरै दूर्गम ठाउँको जस्तो रै’छ । बाटो बाटोजस्तो यस मानेमा रैन’छ बाटोको दुई किनारमा विरुवाहरु झाङ्गिएका बाटो धरै ठाउँमा घुमेको र थुप्रै ठाउँमा पाइपहरुको खाँचो, तर टार्न नसकिएको रहेछ । बस्ती बाक्लो छ मध्यम र गरिब परिवारहरु धेरै सङ्ख्यामा बसोबास गर्छन् । सम्पत्ति कमानउनेहरु शहरतिर जानेगर्ने गरेकाले झोडको अनुहारमा कुनै परिवर्तन आउन नसकेको रहेछ धरमपुरमा । जमिन अलिकति डाँडा परेको छ र जति नै पानी पर्दा वर्षा हुँदा पनि पानी नजम्ने हुनाले डाँडागाउँ पनि भन्दा रै’छन् । त्यो गाउँमा सार्वजनिक सम्पत्ति भनेकै एउटा पोखरी रहेछ । त्यो पनि मिचिएर र पुरिएर पोखरीको आकार सानो भइसेकेको रहेछ । त्यही पोखरीको पानीबाट करिब दुईसय घरले खेती गर्दारहेछन् । खाम्साले दुईसय जना युवाहरुको दस्ता लगेर धरमपुर पुग्दा त्यहाँका स्थानीय मान्छेहरु दुईसयको हाराहारीमा भेला भएका रहेछन्- हर्क लिम्बू र नेत्र कार्कीको नेतृत्वमा खाम्साको टोली पुगेपछि ती गाउँले मान्छेहरु अत्यधिक खुशी भए । ताली बजाएर स्वागत गरे । समाजसेवी नेत्र कार्की डिलमाथि उक्लिएर भाषणको शैलीमा बोल्नथाल्यो र बोल्नलाई खाम्सासँग अनुरोध गर्यो । र खाम्साले यसरी विचार राख्यो-…।” हामी भोलेण्टियस्र लिम्बुवानको नौ जिल्लामा यसैगरी परिचालित छौं । जनताका निम्ति विकासका कार्य गर्ने हामी कहिले पनि थाक्नेछैनौं । हामीले आज धरमपुरमा यहाँका जनताहरुसँग यहाँकै लागि बाटो खन्न पाउँदा खुशी लागेको छ । हरेक गाउँ हरेक बस्ती हरेक खोँचहरुका विकासको कार्य पुर्याउन सके समग्र लिम्बुवान सम्मॄद्धशाली बन्नेमा हामीलाई विश्वास छ । हामी अनवरत् कटिवद्ध छौं…! जय लिम्बुवान !”

सबैले ताली बजाए । बाटो खन्न मर्मत गर्न सुरुभयो । पुसको महिना भएकोले धुलो निक्कै उड्नथाल्यो र बाटो छेउका विरुवाहरु विरुवाका हाँगाहरु काट्न थाले । बाटो नाप्नेहरु नाप्दै थिए खन्नेहरु खन्दैथिए, कोही गीत गाउँदै खन्ने कोही गफ गर्दै खन्ने कोही गाउँले चेलीहरु तिर्खाएकाहरुलाई पानी पिलाउन व्यस्त थिए । खाम्सा हर्क लिम्बू र नेत्र कार्की पोखरी सर्वे गर्नगए । पोखरीको पानी बाह्रै महिना नसुक्ने बुझेपछि खाम्साले एउटा सपना बुन्यो पोखरीको सेरफेरोमा । “पोखरीलाई गरिराएर २-४ वटा डुङ्गा चलाउने- त्यो खासगरी सानो बच्चाहरुको लागि रमाइलो गर्ने स्रोत बन्नसक्छ । पोखरीको वरिपरि विरुवा रोपेर तारबार गर्ने बस्ने फलैँचाहरु निर्माण गर्ने सानो र थोरै खर्चमा पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।” हर्क लिम्बू र नेत्र कार्कीलाई खाम्साको उत्तम लागेको बताए । उनीहरुले छलफल गरेर तुरुन्त कार्यक्रम बनाउने छलफल पनि गरे । त्यो दिन पाँच बजेतिर खाम्साले धरमपुरबाट आफ्नो टोली चारवटा बसमार्फत् फर्काए ।

खाम्साले आफूले नेतृत्व गरिरहेको माङ्तोक कमाण्डको कार्यालयमा आइपुग्दा बाहिरपट्टिको कुसर्ीमा गाउँले अन्नेली काका उसैको पर्खाइमा बसिरहेको रहेछ । साँझ भइसकेको थियो । खाम्साले नमस्कार गरी अन्नेली काकालाई भित्र आफ्नो कोठामा लिएर गयो । खबर आदान-प्रदान गरे । खाम्सा नौ महिनादेखि घर गएको थिएन । आफ्नो सत्तरी वर्षे बोजूले लिम्बुवान राज्य प्राप्त गर्न खाम्सालाई आशीर्वाद दिएको उसले झल्झली सम्झ्यो । गाउँको खबर सुन्दै जाँदा नौ महिनाअघि घर छोड्दा आफ्नी श्रीमति साइँलीले रुँदै भनेकी शब्दहरु एकाएक मानसपटलमा घुम्यो- “लिम्बुवान माटोको लागि रणमैदानमा मैले आफ्नो मुटु श्रीमानलाई श्वास थामेर पठाउँदैछु ।” अन्नेली काकाले साइँलीले पठाएकी भुटेको भटमास र अमिलो गुन्द्रुक एक पोका निकालेर हातमा थमाई दियो । र भन्यो- “खाम्सा ! बुहारीले नभन्नु भनेकी थिई भन्नेपर्छजस्तो लागेको छ ।”
खाम्सा झस्कियो- “काका भन्नुस् न । कुरा नलुकाई भन्नुस् ।”

साइँलीले ती महिनादेखि सप्तमीबाट लामा गाउँको सभापति बुढोको पसलमा चामल बोक्ने काम गर्दैथिई । एक बोराको असी रुपैयाँ लिन्थिन् । बिहान खाना खाई छोरा सेन्लपलाई स्कुल पठाएर सप्तमी जान्थी र बेलुकीपख फर्किन्थी । हप्तादिन भयो खुट्टा सर्किएछ निकै ठूलो सुन्निएको छ ।
खाम्सा निक्कै भावुक देखियो । सोध्यो काकासँग- “काका भाँचिएको त होइन ?”
“होइन होला भन्थी ।”
“साइँली समस्याहरु आफैले सामना गरौं भन्छे ।”
“आन्दोलन सफल पार्ने मेरो नेतृत्वमा कुनै समस्या नआओस्- ऊ चाहन्छे ।”
खाम्सा निरन्तर बोलिरह्यो- उनको यो प्रकृति बेठीक लाग्छ फेरि सही पनि लाग्छ ।
काका जब म लिम्बुवानको आन्दोलनमा होमिएँ तब पो थाहा भो हाम्रो लिम्बुवान त मरिसकेको रहेछ ।
क्षतविक्षत् थाङ्थिलो अवस्थामा पाएँ । अब लिम्बुवानको यो दुःखद् अवस्थालाई यही भुलेर कसरी फिर्ता होऊँ साइँलीको समस्या अनि मेरो घरको समस्या एउटा समस्या हो । यस्ता हजारौ  समस्याहरु रै’छन्- लिम्बुवानमा । समग्र समस्याहरुको समाधान गर्न मजस्ता हजारौं युवाहरु खाई-नखाई सुती-नसुती लागिरहेका छन् ।
यति नै बेला एकजना भोलेण्टियस्र खाम्साको नजिक आइपुग्यो र अन्नेली काकालाई दुईहात जोडेर “जय लिम्बुवान” भन्यो । कमाण्डका युवाहरु कमाण्डभित्र पाहुनाका रुपमा आएका सबैसँग अपरिचित भएपनि यसैगरी सम्बोधन गर्नेगर्दथे । त्यो युवा खाम्सातिर फेर्केर बोल्यो- “चुम्मे आज खाना बानाउने पालो मेरो टोलीको हो ।”
“कमाण्डका कतिजना छौं ?”
“अठार जना ।”
“उन्नाइस जनाको बनाउनू । अनि यो गुन्द्रुक गाउँदेखि आएको रै’छ । यसलाई मजाले झोल बनाउने । बनाउन आउँदैन भने म बनाउँछु ।”
“हुन्छ” भनेर हिँड्यो ऊ ।
अन्नेली काकाले भित्ताको बिजुलीतिर नियाल्दै भन्यो- “खाम्सा यस्तो बत्ति हाम्रोतिर कहिले पुग्ला ?”
“काका लिम्बुवानको नब्बे प्रतिशत भाग हाम्रो गाउँजस्तै अँधेरो छ । बाटो-घाटो छैन । पुल-पुलेसा छैन । चिल्लो बाटो ठूलठूला घर र बिजुली बत्तीहरु त राजधानी र शहर बजारमा मात्रै केन्द्रित रै’छ । हाम्रो पैसाले अरु सुविधा सम्पन्न भएका छन् । हाम्रो गाउँतिर सलल बग्ने नदीबाट यस्तो बिजुली उत्पादन गरेर उनीहरु आनन्दमा बस्दारै’छन् । यो ठीक हो त काका ?
काकाले ठीक नभएको भन्न टाउको हल्लायो ।
“काका लिम्बुवानको नाै जिल्लाको चारसयवटा गाविसहरु मैले घुमेको छु । हाम्रो मान्छेहरु आफ्नो मातृभाषा बोल्न छोडे । एक महिनाअघि चारखलमा धान नाच्नुपर्ने भयो । हात समाएर आँगनमा घुमियो तर पालाम भन्न कसैले सकेनन् । चोयाका सामान चलाउन छाडे । रबर र प्लाष्टिकका सामानहरु गाउँगाउँमा पुगेका छन् । बाँसबाट बुनेका विभिन्न सामग्रीहरु गाउँ-शहरमा चलाउन सकेको भए तपाइँ-हामीले जानेको सीप र कला-कौसलको बिक्री हुनेथियो……॥”

काकाले खाम्साको कुरा निक्कै ध्यान दिएर सुनिरह्यो । केही छिनपछि काका र खाम्साले खाना खाइवरी सुत्न कोठामा पसे र खाम्साले चारैतिरको कमाण्डमा फोनमार्फत् जानकारी लियो । त्यसपछि उसले आफ्नो सम्बन्धित् नेतालाई फोनमार्फत् रिपोर्ट गर्यो ।
काकासँग कुरा पुनः सुरुभयो । प्रसङ्गवस खाम्साले पनि साँइलीलाई नसुनाउने सर्तमा सात महिनाअघि झापाको बुधबारेमा गोली लागेको घटना सुनायो । पेटको बायाँ छेउमा लागेको दाग देखाउँदै खाम्सा जोसियो- “काका लिम्बुवान विरोधीहरुका गोली खाँदै गोलीहरु छल्दै हामी हाम्रो उद्देश्य प्राप्ति गर्न प्रतिवद्ध छौं ।” अन्नेली काका गोलीको डाब हेरेर छक्कपर्यो । खोई के सम्झ्यो एकछिन निहुरेर काकाले मुख फोर्यो- “खाम्सा हाम्रो छोरा-भतिजहरु हाम्रो राज्य प्राप्तिको लागि बन्दुकको गोलीसँग लडिरहेका रै’छन् । ज्यानको बाजी थापेर खाई-नखाई युद्धमा रै’छन् । अब म पनि गाउँमा पुगेर यो आन्दोलको नेतृत्व म बुढोले गर्छु ।”

काकाको बुढो तर जोसिलो प्रतिवद्धताले खाम्सा हर्षविभोर भयो र जुरुक्क उठेर खुट्टा बजार्दै काकालाई सलाम् गर् यो । निकै रातसम्म यी दुई योद्धाहरु आन्दोलन र भोलिको रणनीतिको विषयमा कुरा गरे र सुत्ने सहमति गरे । करिव आधा घण्टामा खाम्साको मोबाइल फोनमा रिङ बज्यो । नयाँ नम्बरबाट फोन आएको थियो । उसले फोन उठाएर बोल्यो । …” खुब धम्क्यायो । नेता र आफ्नो सुरक्षा गर्न नसक्ने चेतावनी दियो । …हुन त यस्ताखाले धम्कीहरु त खाम्सालगायत लिम्बुवान आन्दोलनमा समाहित भएका नेताहरुले बारम्बार सामना गर्दै आइरहेका थिए । यो धम्कीले खाम्सा आधाघण्टा बढी घोत्लियो । कमाण्डरको हैसियतले उसलाई ठूलो र गम्भीर जिम्मेवारीको महसुस भयो । आन्दोलनलाई थप सशक्त र सफल बनाउन सुरक्षाको बारेमा थुप्रै योजनाहरुको ब्रेनस्ट्रमिङ् गर्दै खाम्सा निदायो ।
भोलि बिहान सबेरै अन्नेली काका गाउँ फर्कनेवाला थियो । खाम्साले नौ महिनासम्म छुट्टिएर बस्नुपर्दाको अनुभूतिहरु आफ्नी श्रीमति साइँली बोजु र छोरा सेन्लपलाई दुई शब्दमा एउटा चिठी तयार गरेर पठायो । अन्नेली काकाले पनि बढो उत्साहित मोडमा भन्यो- म यो चिठी पुग्ने बित्तिकै सम्मानका साथ कमाण्डरकी श्रीमति अर्थात् जीवनसाथीलाई दिन्छु । अन्नेली काका थुप्रै कुराहरु खेलाउँदै गाउँतिर लाग्यो । यता कमाण्डर खाम्सा थप प्रतिवद्धताका साथ योजनावद्ध आन्दोलनमा लागिरह्यो ।

E-mail: soaltee_5@yahoo.com
Source: संघीय मासिक वर्ष १, अङ्क ४/५, पूर्णाङ्क ५ साउन-भदौं २०६७ (सन् २०१०) किरात येले तङ्गप ५०७०