अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपाल द्वितीय

भद्रपुर, २१ असोज । रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट मेचीनगर–११ बस्ने १० वर्षीया पुनम प्रसाइँ द्वितीय भएकी छिन् ।

गत असोज ८ देखि १३ गतेसम्म १४ वर्षमुनिको उक्त प्रतियोगिता जिल्ला बुद्धिचाल सङ्घ र गजुरमुखी चेस क्लबद्वारा इलाममा आयोजना गरिएको थियो ।
भारत सिक्किमका सुस्मिता लामा प्रथम भएकी सो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, रुस र अस्ट्रेलियाका खेलाडी सहभागी थिए ।

द्वितीय पुरस्कृत प्रसाइँलाई नगद तीन हजार राशि र प्रमाणपत्र दिइएको थियो ।

यसअघि पनि कम उमेरका अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा २०६६ सालमा काकरभिट्टा बस्ने १२ वर्षीय नोबल घिमिरे र २०६८ सालमा सोही ठाउँका १२ वर्षीय देहाङ्बु घिमिरे प्रथम भएको खेलाडी प्रशिक्षक विजु घिमिरेले बताउनुभयो ।

ती तीनैजना खेलाडीलाई जिल्ला खेलकुद परिषद् झापाले सम्मान गर्ने भएको छ । रासस