नेपाली सेनामा मधेसीको समूहगत प्रवेशको माग स्वीकार नगर्न थरुहटद्वारा खबरदारी
महेन्द्रनगर, संयुक्त थरुहट संघर्ष समितिले संयुक्त मधेसी मोर्चाले अघि सारेको एक मधेस एक प्रदेश र नेपाली सेनामा मधेसीको समूहगत प्रवेशको माग स्वीकार नगर्न खबरदारी गर्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
समितिसँग आबद्ध थारू तथा आदिवासी जनजातिका डेढ दर्जन संस्थाका तर्फबाट जिल्ला प्रशासनमार्फत बुझाइएको ज्ञापनपत्रमा नयाँ सरकार गठनमा सहयोग गर्न मोर्चाले अघि सारेका सर्तप्रति गम्भीर ध्यानाकर्षण्ा भएको उल्लेख छ । ‘मधेस नामक भूगोलको ऐतिहासिक पृष्ठभूमि नेपालको सन्दर्भमा हुँदै नभएकाले समग्र तराईलाई मधेस नामकरण गर्न प्रमुख राजनीतिक दलहरू सहमत हुनु सम्पूर्ण तराईवासीको अपमान भएको हाम्रो ठहर छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा सरकार र थरूहट संघर्ष समितिबीच चैत १ गते भएको सम्झौताअनुसार थारूलगायत विभिन्न आदिवासी, जनजाति, दलित, मुस्लिम तथा लोपोन्मुख अल्पसंख्यकहरूको पहिचानसँगै राज्यका विभिन्न अंगमा समानुपातिक सहभागिता कार्यान्वयन हुनुपर्ने उल्लेख गरिएको छ ।
अब बन्ने सरकारको नेतृत्वकर्ता तथा सहभागिता जनाउने सबै राजनीतिक दललाई मधेसीहरूले उठाएको समग्र मधेस एक प्रदेश तथा सेनामा मधेसीहरूको समूहगत प्रवेशको मागलाई मान्यता नदिन सरकारमार्फत ज्ञापनपत्रमा अनुरोध गरिएको छ । समितिका कञ्चनपुर संयोजक बलबहादुर डगौराले आफ्ना माग नसुनिए आन्दोलनमा उत्रने बताए ।
– कान्तिपुर संवाददाता
from: ekantipur
