बेलायतवासी राजेन्द्र गुरुङद्वारा ‘मिरा राई इनिसिएटिभ’ लाई ७ लाख ३५ हजार सहयोग
लन्डन । बेलायतवासी राजेन्द्र गुरुङले प्रख्यात धाविका मीरा राईले संचालन गरेको ‘मिरा राई इनिसिएटिभ’लाई ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् ।
लन्डन म्याराथन-२०२४ मा सहभागी भएर संकलित उक्त रकम काठमाडौं दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधीन मीरा राई ट्रेनिङ सेन्टर तथा आवासका लागि हस्तान्तरण गराएका हुन् । भवन निर्माणस्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहीबार मीरा र इनिसिएटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
लन्डन म्याराथन राजेन्द्रले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्वखेलाडी पनि हुन् । ‘देशविदेशमा रहेर अथक् मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पूरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भनिन् ।
करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।
साभारः गोर्खा मेडिया