ठूला दल असफल भएकोले देश संकटतर्फ
इटहरी, ८ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको प्राप्तिपछि ठूला राजनीतिक दलहरू असफल भएको र देश सङ्कटतर्फ धकेलिएको बताउनुभएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घकोे ३२ आँै साधारणसभाको आज धरानमा उद्घाटन गर्दै उहाँले ठूला राजनीतिक दलहरू सहमति खोज्नमा भन्दा आ–आफ्नै स्वार्थ पूर्तिमा मात्र लागेकाले राजनीतिक निकास निस्कन नसकेको बताउनुभयो ।
मन्त्री गच्छदारले राजनीतिक लुछाचुँडी र आफ्नो गोरुको बाह्रै टक्का भन्ने अडानले आगामी बैशाख अन्तिममा पनि निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीलाई उद्योग वाणिज्य सङ्घ सुनसरीले सम्मान गरेको थियो ।
पूर्व अध्यक्ष जोशीले राजनीतिक लुछाचुँडीमा नलागी देश र जनताका पक्षमा इमान्दार भएर काम गर्न नेताहरूसँग आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्री गच्छदारले नवनिर्मित चेम्बर विश्रामगृहको उद्घाटन पनि गर्नुभएको थियो ।