सिधा बाटो हिँडेर क्रान्ति सफल नहुने
सिन्धुलीमाढी, ९ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आसन्न महाधिवेशनले नेपालमा अभूतपूर्व परिवर्तन ल्याउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
एकीकृत नेकपा (माओवादी) सिन्धुलीको चौथो जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष दाहालले २०४८ सालमा आफूले प्रस्तुत गरेको दस्तावेजले निरङ्कुस राजतन्त्रको अन्त्यसँगै आमूल परिवर्तन भएको दाबी गर्नुभयो ।
उहाँले अब हुने एकता महाधिवेशनले पनि प्रतिक्रियावादीले नसोचेको परिवर्तन ल्याउने धारणा व्यक्त गर्नुभयो ।
बेपत्ता खोजबिन तथा सत्य निरूपण आयोग राष्ट्रपतिकहाँ थन्क्याएर एक/दुई घटनालाई उजागर गरी एमाओवादीलाई कमजोर पार्ने सोच नराख्न प्रतिपक्षीलाई आग्रह गर्दै उहाँले नाङ्लो ठोकेर हात्ती तर्साउनेजस्तो कार्य नगर्न चेतावनीसमेत दिनुभयो ।
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुँजीवादी क्रान्तिबाट यहाँसम्मको उपलब्धि प्राप्त गरेको भए पनि पूर्णरूपले सत्ता प्राप्त गरिनसकेकाले सरकारको मोर्चाबाट चाहेअनुसारको काम गर्न नसकिएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले सरकारमा बस्नुको उद्देश्य भनेकै नेपाललाई प्रतिक्रान्तितर्फ जान नदिनु हो ।”
सिधा बाटो हिँडेर क्रान्ति सफल नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले कालरात्रि अन्त्य भए पनि पूर्णरूपमा उज्यालो भइसकेको छैन ।”
उहाँले देशमा अहिले सङ्क्रमणकालीन परिस्थिति रहेकाले सरकारका बाध्यता बुझिदिन आफ्ना कार्यकर्ताहरूलाई आग्रहसमेत गर्नुभयो ।
उद्घाटन कार्यक्रममा एमाओवादी नेता गिरिराजमणि पोखरेललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
