जेठ पहिलो साताभित्र निर्वाचन गराउने मोर्चाको निर्णय
काठमाडौँ, १० माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलको बैठकले सहमतिको सरकार बनाई जेठको पहिलो साताभित्र संविधानसभाको निर्वाचन गराउन पहल गर्ने निर्णय गरेको छ ।
मङ्गलबारदेखि गोकर्णमा सुरु भई आज अबेर सकिएको बैठकले वर्तमान राजनीतिक सङ्क्रमणबाट मुलुकलाई समाधान दिनका राष्ट्रिय सहमतिको विकल्प नभएको निष्कर्ष निकालेको छ । त्यसका लागि एकीकृत नेकपा(माओवादी), नेपाली काँग्रेस, नेकपा(एमाले)लगायत पार्टीसँग सहमतिका लागि पहल गर्ने बैठकको निर्णय गरेको छ ।
बैठकमा सहभागी फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य रामजनम चौधरीले सरकार गठनका समयमा भएको चारबुँदे सहमतिको कार्यान्वयन र राष्ट्रपतिसमक्ष पेस गरिएको अध्यादेश स्वीकृत गर्न पहल गर्ने लगायत विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले बैठकमा मोर्चाको भूमिका र मधेसका विषयलाई कसरी सशक्तरूपमा अगाडि बढाई समाधान गर्ने लगायत विषयमा छलफल भएको पनि बताउनुभयो ।
बैठकमा फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तमलोपा नेपालको सहभागिता थियो ।
