सम्पादकीय – ८: सशक्त राजनीतिक शक्ति र सञ्चार माध्यम


नेपालमा पहिचानसहितको संघीयता सुनिश्चितताको बाटो एकात्मक षडयन्त्र र जालझेलका कारण अल्मलिएको छ । जनताको आन्दोलन र वलिदानीले प्राप्त संविधान सभालाई जबर्जस्त भङ्ग गरिएको छ । आइसकेको पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानलाई अबरुद्ध गराइएको छ ।

ऐतिहासिक संविधान सभाको विघटनपछि त्यसको हत्यारा प्रमुख एकात्मक दलहरुले संविधान सभाको विघटनको दोषारोपण गर्दै बिताए । एकापसमा दोषारोपण गरेर जनतामाझ केही चोखिएजस्तो भएपछि काम चलाऊ सरकारमै बाझिरहेका छन् । संविधान सभा र व्यवस्थापिक संसदको अस्तित्व नरहँदा पनि तिनै संविधान सभाका हत्यारा एकात्मक दलहरु सत्तामा एकात्मकसत्तामा लुछाचुडी गरिरहेका छन् । मङ्सिरमै गर्ने भनिएको संविधान सभाको पुनःर्चुनाव गर्ने कुराको अत्तोपत्तो छैन ।

एकात्मकवादीहरुको सहजता, नेतृत्व र निर्देशनमा हुने जुनसुकै सत्ता, सरकार र चुनावमा पनि पहिचान र संघीयताका पक्षधरहरुले आफ्नो अस्तित्व कायम गर्न चुनौतीपूर्ण हुनेछ । यसका लागि पहिचान र संघीयताका पक्षधर सम्पूर्ण जातजाति र क्षेत्रका जनताहरु राजनीतिक रुपमै एकतावद्ध हुन आवश्यक छ ।

संविधान सभाको जबर्जस्त विघटनपश्चात पुराना एकात्मक दलमा वर्षौदेखि रहेका पहिचान र संघीयताका पक्षधर आदिवासी जानजाति, मधेशी, मुस्लिम, दलित र महिला लगायतले ती पहिचान र संघीयता विरोधी दलहरुलाई त्याग्ने हिम्मत गरेका छन् । यसपछि, नेपालका पहिचान र संघीयताका पक्षधरहरुको मजबुत र एकीकृत राजनीति शक्ति निर्माण हुने अपेक्षा गरिएको थियो र छ । देश–विदेशमा रहेको अग्रगामी जनताहरुको यो अपेक्षा समय र परिस्थिति सान्दर्भिक छ । तर, ती अपेक्षा र आग्रहहरुलाई समयमै सम्बोधन गरी कार्यान्वयनमा ल्याउने जिम्मेवारी अग्रज नेतृत्वहरुको हो ।

राजनीतिक सङ्गठन निर्माण, विकास र सञ्चालन गर्नु अवश्य सजिलो कुरा होइन । यसका लागि देश, काल, परिस्थिति र वैचारिक हिसाबले परिपक्व सुझबुझको खाँचो पर्दछ । एउटा राजनीतिक सङ्गठन सञ्चालन गर्नको लागि आवश्यक सही नेतृत्वहरुको विकास र आर्थिक, सामाजिक, वैचारिक पक्षहरुको व्यवस्थापनका साथ कार्यकर्ता, सङ्गठन र आन्दोलनको परिचानल गर्नु प्रमुख दायित्व र चुनौतीका विषयहरु हुन् । यी कुरामा चुकियो भने नेतृत्व, सङ्गठन, आन्दोलन नै चुक्दछ ।

संघीयता र पहिचानका पक्षधरहरुले एकात्मक दलले गर्नेभन्दा फरक राजनीतिक संस्कार, विचार र नेतृत्व विकास गरेर अघि बढ्न आवश्यक छ । यसका साथै, समाज र राजनीतिका सबै पक्षहरुमा सही भूमिका निर्वाह गर्ने सञ्चार संयन्त्रको पनि खाँचोपर्दछ । एकात्मक दलमा भरपर्दा धोका पाएजस्तै एकात्मक सञ्चार माध्यमले पनि धोका दिनेछन् भन्ने कुरा बिर्सनु हुन्न । नेपालका पहिचान र संघीयतको पक्षधरहरुको एउटै सशक्त राजनीतिक शक्तिको अपेक्षा गरिएजस्तै सञ्चार माध्यमको अपेक्षा र आवश्यकता छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गरी सहकार्य गर्नु सो कार्यको सुरुवात हुनु हो ।

– सम्पादक