संघीय रिपोर्ट- ८ : पहिचानसहितको संघीयताको बाटो (मेन्निसाम याप्मी)

सबै एकजुट भएर सङ्घर्ष गरौं
–गणेश तामाङ अध्यक्ष,

नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलिया


सके एकता नभए मोर्चाबन्दी, सहकार्य र चुनावी तालमेल गरेर जाऔं
–अशोक राई

अध्यक्ष, संघीय समाजवादी पार्टी, नेपाल

हामी एक ठाउँमा आउनुको कुनै विकल्प छैन
–चैतन्य सुब्बा,

अध्यक्ष,सामाजिक लोकतान्त्रिक पार्टी

आ–आफ्नो शक्ति निर्माण गरेर जाऔं
–कुमार लिङ्देन ‘मिराक’

अध्यक्ष, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद


एउटै शक्तिमा आबद्ध भएर अगाडि जानुको कुनै विकल्प छैन
–बालकृष्ण माबुहाङ

सह–प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

”हामी आदिवासी जनजातिहरू एक्लै एक्लैले लडेर हाम्रा सम्पूर्ण मुद्दाहरूलाई टुङ्गोमा पु¥याउन सकिँदैन । हामी सबै एकजुट भएर लडेनौं भने हामीले जे चाहेका हौं त्यो प्राप्त गर्न असम्भव छ । एमाले र काङ्ग्रेसमा रहनुभएका हाम्रा अग्रजहरूले जसरी यी पार्टीहरूले हाम्रो माग र मुद्दालाई सम्बोधन गर्दैन भनेर परित्याग गर्नुभयो, जुन कदम अति नै स्वागतयोग्य थियो । तर, बीचमा आएर एउटै ठाउँमा रहन नसक्नु, दुःखद् कुरा हो । के कुरा नमिलेर दुई सङ्गठनहरू खडा भए ? मिल्ने अनेक विकल्प र प्रक्रियाहरू छन् ।”

माघ ७ गते (जनवरी २०, २०१३) नेपालको राजनीतिक गन्तव्य र गतिहीन भइरहेको बेला हाल अष्ट्रेलियमा रहेका आदिवासी जनजातिहरूका साभाm संस्था नेपाली आदिवासी जनजाति मञ्च, अष्टे«लियाको आयोजनामा नयाँ वानेश्वर, काठमाडौंमा पहिचानसहितको संघीयताका पक्षधर सम्पूर्ण आदिवासी जनजाति लगायतको एकीकृत राजनीतिक पार्टी किन बन्न सकेन र अझै कसरी एकीकृत भएर जान सकिन्छ भन्ने बारे एक अन्तरक्रिया कार्यक्रम भएको थियो ।
नेपालमा संघीयता र आदिवासी जनजातिको मुद्दा र पहिचानको मुद्दालाई आफ्नो सङ्गठनको मुख्य उद्देश्य बनाएर विगतदेखि नै राजनीतिक रुपमा सङ्घर्ष गरिरहेका विभिन्न राजजनीतिक दल, सामाजिक संघ–संस्था र स्वतन्त्र बुद्धिजीबीहरू विशेष उपस्थितिमा गरिएको सो अन्तक्र्रिया कार्यक्रमले विगतमा जे जस्तो भए पनि मुद्दा मिल्ने शक्तिहरू भविष्यमा एक हुनपर्ने आवक्यकता औंल्याएको थियो ।

नेपालमा संविधान सभाको विघटन गरिएपश्चात एमाले र कांग्रेस लगायतका विभिन्न संघीयता विरोधी एकात्मक दलहरूलाई परित्याग गरी आदिवासी जनजाति अभियन्ता तथा बुद्धिजीवीहरूको समेत संलग्नतामा एउटै राजनीतिक पार्टी निर्माण गर्न अन्तिम चरणसम्म प्रयास गरिएको थियो । सो प्रयास असफल भई भिन्दा भिन्दै दुर्व वटा पार्टीहरू संघीय समाजवादी पार्टी, नेपाल र सामाजिक लोकतान्त्रिक पार्टीको गठन भएपछि एउटै पार्टी होस् भन्ने चाहना राख्नेहरूमा निराशा छाएको छ ।

यसै अवस्थामा आयोजना गरिएको सो अन्तक्र्रिया कार्यक्रम नै नयाँ पार्टी गठनपछिको सामूहिक अन्तक्र्रिया थियो । मञ्चका सदस्य नीमा ग्याल्जे शेर्पाद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा बोल्दै अध्यक्ष गणेश तामाङद्वारा सो कार्यक्रम औचित्य प्रकाश प्रकाश पारिएको थियो ।
अध्यक्ष तामाङले आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्नका लागि एक्लै एक्लैले लडेर मुद्दाहरूलाई टुङ्गोमा पु¥याउन नसकिने बताउनु भयो । वहाँले भन्नु भयो– ‘‘हामी सबै एकजुट भएर लडेनौँ भने हामीले जे चाहेका हौँ त्यो प्राप्त गर्न असम्भव छ ।’’

एमाले र काङ्ग्रेसमा रहनुभएका हाम्रा अग्रजहरूले जसरी यी पार्टीहरूले हाम्रो माग र मुद्दालाई सम्बोधन गर्दैनन् भनेर ती पार्टीहरू परित्याग गर्नुभएको कदम स्वागतयोग्य भएको पनि अध्यक्ष तामाङले बताए । तर बीचमा आएर उहाँहरू एउटै ठाउँ (पार्टी) मा रहन नसक्नु दुःखको कुरा हो । के कुरा नमिलेर दुई सङ्गठनहरू खडा भए ? मिल्ने अनेक विकल्प र प्रक्रियाहरू छन् । तर तपार्इंहरूले कुनै प्रक्रियालाई प्रयोग गरिएको देखिएन भन्दै अब पनि मिलेर जान आग्रह गर्नुभयो । वहाँले थप्नु भयो– ‘‘वास्तवमा, यो दल खोल्ने काममात्र भएको देखिन्छ । दल खोलेर मात्र हाम्रो समस्याको समाधान हुँदैन । यदि हामी आदिवासी जनजातिहरू एक ठाउँमा आएनौँ भने हामीले हाम्रो माग पूरा गर्न सक्दैनौं । यसको लागि अझै पनि गम्भीर बहस र छलफल गरेर अघि बढौं भनेर यो अन्तरक्रियात्मक भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।’’

अन्तक्रिया कार्यक्रममा बोल्दै नव गठित संघीय समाजवादी पार्टी, नेपालका अध्यक्ष अशोक राईले विगतमा जे भएपनि सके एकता, नभए मोर्चाबन्दी, सहकार्य र चुनावी तालमेल गरेर सम्बन्धलाई अत्यन्तै सहिष्णु राखेर अघि बढ्नुपर्ने बताउनु भयो ।
यसैगरी, अन्तरक्रियामा सहभागी हुँदै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष डा. चैतन्य सुब्बाले हामीलाई जसले समाप्त पार्न खोजिरहेको छ, त्यसको विरुद्धमा एक भएर जाने कि नजाने भन्ने अहिलेको मूल प्रश्न भएको बताउनु भन्दै हामी एक ठाउँमा आउनुको कुनै विकल्प नरहेको बताउनु भयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, तमुवान लगायतको आ–आफ्नो शक्ति निर्माण गरेर आ–आफ्नो संविधान जारी गरेर अगाडि बढ्नु नै अहिलेको समयको माग भएको विचार राख्नु भयो । वहाँले अहिले नभए पनि आउने संविधान सभाको चुनावमा पहिचानसहितको संघीयताका पक्षधर शक्तिहरू चुनावी सहकार्य गरेर जाने हो भने जीत निश्चित रहको पनि बताउनु भयो ।

त्रि.वि.का सह–प्राध्यापक वालकृष्ण माबुहाङले ‘‘पहिचानसहितको संघीयतालाई स्वीकार्ने पार्टीहरू एकापसमा मेरो यो पार्टी छ । तिमी यहाँ आऊ । हाम्रो यो पार्टी हो । तिमी यहाँ आऊ भनेर जानुभन्दा एउटै शक्तिमा आबद्ध भएर अगाडि जानुको कुनै विकल्प छैन’’ भन्नु भयो ।
कार्यक्रममा डा. मुक्त सिंह लामा, पासाङ शेर्पा, कुमार फुदोङ, नरेश ताम्राकार, सोनी लामा, डीके बद्धिष्ट तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
धेरैजसो वक्ताहरूले यस्तो अन्तक्र्रिया नियमित रुपमा गरेर जानुपर्ने औंल्याएका थिए । अन्तमा, अन्तरक्रिया कार्यक्रममा उठेका विचारहरूलाई डा. कृष्ण भट्टचनले सार सङ्क्षेपीकरण गरी समीक्षासहित प्रस्तुत गर्नुभएको थियो ।

–––––––––––––––––––––

सबै एकजुट भएर सङ्घर्ष गरौं

गणेश तामाङ
अध्यक्ष, नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलिया

अहिले अष्ट्रेलियामा पनि गैर–आदिवासी जनजातिहरूले हिन्दू चाडबाडलाई सम्पूर्ण नेपालीको चाड र दौरा सुरुवाललाई सबै नेपालीको राष्ट्रिय पोशाक भनी चिनाउन र प्रचारप्रसारमा लागिपरेका छन् । हामी सम्पूर्ण आदिवासी जनजातिहरूको आ–आफ्नै भाषा, धर्म, भेषभूषा हुँदाहुँदै पनि त्यसलाई गर्वका साथ आफ्नो भन्न र गर्न सकिरहेका छैनौं । यस सवालले पनि भोलि गएर स्थितिलाई गम्भीर नबनाउला भन्न सकिन्न ।

यसका लागि हामीले हाम्रो आफ्नो श्रम र शक्तिले भ्याएसम्म आफ्नो संस्कृतिलाई बचाएर लैजाऔं । यसका लागि हामी आदिवासी जनजातिहरू एक्लै एक्लैले लडेर हाम्रा सम्पूर्ण मुद्दाहरूलाई टुङ्गोमा पु¥याउन सकिँदैन । हामी सबै एकजुट भएर लडेनौं भने हामीले जे चाहेका हौं त्यो प्राप्त गर्न असम्भव छ । यसका लागि अष्ट्रेलियामा पनि सबै आदिवासी जनजातिहरूलाई एकै ठाउँ÷सङ्गठनमा आबद्ध होऔं भनेका छौं ।

एमाले र काङ्ग्रेसमा रहनुभएका हाम्रा अग्रजहरूले जसरी यी पार्टीहरूले हाम्रो माग र मुद्दालाई सम्बोधन गर्दैन भनेर परित्याग गर्नुभयो, जुन कदम अति नै स्वागतयोग्य थियो । तर, बीचमा आएर उहाँहरू एउटै ठाउँमा रहन सक्नुभएन, यो दुःखद् कुरा हो । के कुरा नमिलेर दुई सङ्गठनहरू खडा भए ? मिल्ने अनेक विकल्प र प्रक्रियाहरू छन् । तर, कुनै प्रक्रियालाई पनि प्रयोग गरिएको देखिँदैन । वास्तवमा, यो दल खोल्ने काममात्र भएको देखिन्छ । दल खोलेर मात्र हाम्रो समस्याको समाधान हुँदैन । यदि हामी आदिवासी जनजातिहरू एक ठाउँमा आएनौं भने हामीले हाम्रो माग सम्बोधन हुन्छ भन्ने कुरा कमैमात्र सोचे हुन्छ ।

––––––––––––––

सके एकता नभए मोर्चाबन्दी, सहकार्य र चुनावी तालमेल गरेर जाऔं

–अशोक राई
अध्यक्ष, संघीय समाजवादी पार्टी, नेपाल

नेपालका आदिवासी जनजाति राजनीतिकर्मीहरूको एउटै पार्टी हुनुपर्छ भन्ने अत्यन्तै पवित्र आकाङ्क्षालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । संघीय समाजवादी पार्टी आदिवासी जनजातिहरूको मुद्दामा बोल्ने, सङ्घर्ष गर्ने भनेर जन्मेको पहिलो पार्टी होइन । म यहाँहरूलाई यो निवेदन गर्न चाहन्छु कि योभन्दा अगाडि पनि हाम्रो मुद्दालाई सम्बोधन गर्ने भनेर खुलेका हाम्रो आदिवासी जनजातिहरूले नै नेतृत्व गरेका पार्टीहरू थुप्रै छन् । यो इतिहासको यथार्थ हो ।

पहिला हामी आदिवासी जनजातिहरू एक हुन नसकेकै हो । हामी त्यसतर्फ नजाऔँ । तर पछि एमाले र काङ्ग्रेस परित्याग गर्नेहरूको एउटै पार्टी निर्माण होस् भन्ने सबैले अपेक्षा गर्नुभएको थियो । त्यसमा हामी अहोरात्र लागी प¥यौँ । यसमा आदिवासी जनजाति महासङ्घले निर्माण गरेको कार्यदल थियो । कार्यदलले अत्यन्तै मेहनत गरेको हो ।

प्रकृतिको नियम भनौं कि के भनौं कहिले काहीँ एकजना सन्तानको आशमा बस्दा अचानक जुम्लयाहा जन्मी दिन्छ । यसमा हाम्रो केही कमजोरी रह्यो होला । यसको इतिहासले अवश्य पनि समीक्षा गर्नेछ । त्यसैले अब हामीमा दुईवटा पार्टी आए पनि यसलाई हामीले असहज, अस्वस्थ रुपमा हेरिनु हुँदैन । हामीमा एक असल साथीको नाता हुनुपर्दछ । एकले अर्कालाई रिस गर्ने, आक्षेप लगाउने, कुरा काटाकाट गर्नेजस्ता कुसंस्कृतिहरूलाई छोडौं ।

सक्छौं एकता, त्यसमा भएन मोर्चाबन्दी, त्यसमा पनि भएन सहकार्य र त्यसमा पनि भएन भने चुनावी तालमेल गरेर हाम्रो सम्बन्धलाई अत्यन्तै सहिष्णु राखेर अगाडि बढ्नुपर्दछ । यति हुँदाहुँदै पनि पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान ल्याउने अटोठ गरेका र प्रतिबद्धता गरेका सबै दलहरूसँग एकताको सम्भावना कतिको छ त ? त्यसको लागि पहल गर्न जरुरी छ । त्यसको लागि तपाईंहरूबाट दबाबको अपेक्षा गर्दछौँ । हाम्रो दल संघीय समाजवादी पार्टीको तर्फबाट पहिचान सहितको संघीयता चाहनेहरूसँग एकताको लागि विभिन्न वार्ता टोलीहरू निर्माण गरेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

–––––––––––––
हामी एक ठाउँमा आउनुको कुनै विकल्प छैन

–चैतन्य सुब्बा

अध्यक्ष,सामाजिक लोकतान्त्रिक पार्टी

सम्पूर्ण उत्पीडनबाट मुक्त हुनका लागि नयाँ राजनीतिक शक्ति निर्माणको गर्न आदिवासी जनजाति महासङ्घको कार्यदलले बनाएको कार्यदललाई नेतृत्व दिनेक्रममा सबैको राय, सल्लाह, सुझाव अनुसार हामी लागेकै हो । यसमा जसले हाम्रो विरुद्धमा नकारात्मक भूमिका खेल्यो, त्यसको बदला हामीले लिन सक्नुपर्छ भन्ने कुरा हामीमा उठेकै हो । त्यसको लागि हामीले सबैभन्दा पहिले काङ्ग्रेस र एमाले त्याग्नुपर्छ भन्ने निष्कर्षमा पुगेकै हो । त्यसपछि, हामी सबैजना ती संघीय विरोधी पार्टी परित्याग गर्नेक्रम पनि चल्यो ।

त्यसपछि, हामी दुवै दल परित्याग गर्नेबीच एउटै पार्टी निर्माण गर्ने भन्ने कुरालाई चर्को पारेर लग्यौं । तर हामीले एउटै दल निर्माण गर्न सकेनौं । यसमा मैले अनुभव गरेको कुरा एजेन्डाप्रति भित्रै हृदयदेखि समर्पित छैनौं भने त्यसमा हामी अडेर रहन सक्दैनौं । साथै, एजेन्डाले बाँधेर राख्न सकेन भने फेरि आफ्नै आग्रहको लाइनमा फर्केर गइने हो । यसका साथै, त्यस एजेन्डालाई गाइड गर्ने एउटा सामान्य प्रिन्सिपल पनि हुनुपर्ने रहेछ भन्ने धेरै बहस र छलफलले देखाएको छ । हामी आदिवासी जनजातिहरूको लागि त आदिवासीवाद नै हो । यसले मात्र हाम्रो एजेन्डालाई जीवन्त बनाइराख्न सक्छ । यसमा हामी आदिवासी मात्र छैनौं, मधेसी दलित साथीहरू पनि हुनुहुन्छ । त्यसैलेÞ हामीले त्यसका लागि बहुल राष्ट्रवादलाई अङ्गालेर जाऔं भनेका हौं । यति हुँदाहुँदै पनि हामीलाई जसले समाप्त पार्न खोजिरहेको छ, त्यसको विरुद्धमा एक भएर जाने कि नजाने ? अहिलेको मूल प्रश्न भनेको यो भएको छ । त्यसैले हामी एक ठाउँमा आउनुको कुनै विकल्प छैन ।

–––––––––

आ–आफ्नो शक्ति निर्माण गरेर जाऔं

–कुमार लिङ्देन ‘मिराक’

अध्यक्ष, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

हामी जहिल्यै जे कुरामा पनि दुई पक्षको मात्र कुरा गर्छौं । तर, वास्तवमा कुनै पनि वस्तुमा दुई पक्षमात्र नभएर तेस्रो पक्ष पनि अस्तित्वमा रहेको हुन्छ । मानौं, तपाईं इजरायलमा जानुभयो भने क्रिश्चियन र मुस्लिम धर्मावलम्बी मात्र छन्जस्तो लाग्छ । तर त्यहाँ बुद्धिष्टहरूको पनि अस्तित्व रहेको छ । हामीले आजसम्म संसारमा पुँजीवाद र साम्यवाद मात्र देख्यौं । तीभन्दा फरक तेस्रो विश्व छ कि छैन भन्ने कुरा हामीले कहिल्यै सोचेनौं । त्यहाँसम्म पुग्नका लागि हामीले निकै अभ्यास गर्नुपर्दछ । जसरी संविधानसभामा संघीयताको कुरा त आयो । तर मुख्य कुरा त्यसको नामाङ्कनमा अड्केको थियो । त्यसरी नै एमाले, काङ्ग्रेस, माओवादी, अहिलेका अग्रगामी नयाँ २ वटा दलले त्यो नामाङ्कनमा जोड दिन्छ कि दिँदैन ? कुरा यहाँनेर अड्केको छ । जस्तै लिम्बुवानको पान्थरमा ठूलो आमसभा ग¥यो, कसले ? एमालेले, काङ्ग्रेसले, माओवादीले ? अनि लिम्बुवान भूमिको नाम त त्यहाँ आएन । त्यसरी नै काभ्रेमा त्यस्तै कार्यक्रम भयो, त्यसमा पनि तामाङसालीङको नाम आएन । तसर्थ, कुरा यहाँनेर अड्केको छ ।

अब चुनाव भयो भने के कुनै दलको बहुमत आउने सम्भावना छैन । २५ प्रतिशत मधेसीले अरु कसैलाई पनि भोट हाल्दैनन् । ३७ प्रतिशत आदिवासी जनजातिले बाहुन क्षेत्रीलाई भोट हाल्दैनन् । ३० प्रतिशत क्षेत्रीबाहुनले अरुलाई दिने कुरै भएन । त्यस्तो स्थितिमा कसैको पनि बहुमत हुनेवाला छैन । यस्तो स्थितिमा संविधान अवश्य पनि बन्दैन ।

त्यसैले, हामीले लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट, तमुवानको आ–आफ्नो शक्ति निर्माण गरेर आ–आफ्नो संविधान जारी गरेर अगाडि बढ्नु नै अहिलेको समयको माग हो । अर्थात, अहिलेको राजनीतिक दृश्य त्यतातिर अगाडि बडिरहेको छ ।

अब हामी कसरी अगाडि बढ्ने त ? अहिले २ वटा पार्टीहरू बनेका छन् । यसलाई हामीले नकारात्मक रुपमा लिनु हुन्न । किनभने हामीले लिम्बुवान आन्दोलन थालेको ७, ८ वर्ष भयो । त्यहाँ हजारौँ लिम्बुवानीहरू सडकमा निस्केका छन् । कोही मरी राखेका छन् । कोही घाइते भइरहेका छन् । यस्तो स्थितिमा हामीले हाम्रै एमालेका लिम्बू साथीहरू हाम्रो आन्दोलनमा लागौं भनेर पटक पटक भन्दा पनि उहाँहरूलाई हामीले हाम्रो पार्टीमा ल्याउन सकेनौं । तर जब माथिबाटै एमाले फुटेर आयो तब उहाँहरू हाँसीखुसी संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभयो ।

त्यस्तै, काङ्ग्रेसका साथीहरूलाई पनि त्यसरी नै अनुरोध ग¥यौं, तर भएन । तर जब काङ्ग्रेस फुटेर आयो, ती काङ्ग्रेसी साथीहरू उही हाँसीखुसी सामाजिक लोकतान्त्रिक पार्टीतिर लाग्नुभएको छ । त्यसैले, अहिले केही हदसम्मका लागि यसरी नै अगाडि बढ्नु एक किसिमले ठीक रहेको छ भने संविधानसभाको चुनाव भयो भने हामीले १ क्षेत्रमा एकजना मात्र पहिचानवादी उम्मेदवार उठाउने प्रतिबद्धता आजै अहिले नै गरा । यसो ग¥यौँ भने हाम्रो जीत निश्चित छ ।

–––––––––––––––––––
एउटै शक्तिमा आबद्ध भएर अगाडि जानुको कुनै विकल्प छैन

–बालकृष्ण माबुहाङ

सह– प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

वि. सं. २०४७ सालमा गोरेबहादुर खपाङ्गी र एमएस थापामगरले आफ्नो जल्दोबल्दो पार्टी छाडेर राष्ट्रिय जनमुक्ति पार्टी निर्माण गर्नुभयो । अहिले २०६९ सालमा आएर अर्को नयाँ पार्टी निर्माण गर्नुपर्ने समयको गाम्भीर्यतालाई बुझ्न जरुरी छ । खपाङ्गी र थापामगर जीले पार्टीको आन्तरिक जीवनमा के–कस्तो उपेक्षा र उत्पीडन बेहोर्नुभएको थियो र त्यसखेरको ३० वर्षे पञ्चायती निरङ्कुशतापछि प्रजातन्त्र पुनःस्थापनाको घडीमा किन जनजातिको पार्टी बनाउन लाग्नुभयो ? त्यसबारेमा उहाँहरूले प्रशस्त व्याख्या र बुझाउन नसकेको कारण पार्टीले उचित गति लिन नसकेको हो ।

त्यतिखेर जनजातीय उत्पीडनको चेतना नभएर वा जनजातीय पार्टी चाहिन्न भन्ने लागेर हो कि त्यो पार्टीले सोचेजस्तो आकार ग्रहण गर्न सकेन । तर जब माओवादी जनयुद्धपश्चात, संविधानसभाबाट जनताको संविधान बनाउने दौडाहामा पहिचानसहितको संघीयताको बहस संविधानसभामा उच्चतम विन्दुमा पुग्यो । त्यही समयमा वैचारिक रुपले जेजस्तो भए पनि ‘ककस’ को सक्दो पहलमा एउटा सङ्गीन घडीमा चुनौतीपूर्ण एजेन्डा राख्यो । २०४७ सालदेखि २०६९ सालसम्मको यो सबैभन्दा ठूलो र उपलब्धिमूलक मोड हो ।

त्यसैले यति लामो समयमा जेजति पहिचानसहितको संघीयतालाई स्वीकार्ने पार्टीहरू बने, तिनीहरूमा एकापसमा मेरो यो पार्टी छ । तिमी यहाँ आऊ । हाम्रो यो पार्टी हो । तिमी यहाँ आऊ भनेर जानुभन्दा एउटै शक्तिमा आबद्ध भएर अगाडि जानुको कुनै विकल्प छैन । कुनै पनि हिसाबले तपाईंहरू बीचमा बसेर जान्छु नभन्नुहोस् कि त राजनीति गर्न नै छाडी दिनुहोस् ।