नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने ।

सुरेन्द्र इङ्नाम – लन्डन ।

गत सन २२४ जनवरी १४ तोरिखको दिन लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको बैठकले छैठौं अधिवेशन आगामी जुन महिनामा हुने निर्णय गरेको छ ।

अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने तथा भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष ध्रुवराज अर्याल र कार्यसमिति सदस्य गोमा रानालाई दिने पनि निर्णय गरेको छ ।

उक्त बैकले शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गरिने निर्णय गरेको छ । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लाबुङ् राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

बैठकले शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने तथा वेबसाइट रिडिजाइन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष ध्रुवराज अर्याललाई दिने पनि निर्णय गरेको छ ।

कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।

बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष बम थापा सूर्यवंशी, कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।

महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना, वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।