बेलायतमा आप्रवासीविरोधी हिंसा झन् उग्र
नविन पोख्रेल- लन्डन
बेलायतमा गत सातादेखि चर्किएको आप्रवासीविरोधी दंगाले उग्र रूप लिँदै गएको छ । बेलायतका विभिन्न भागमा आप्रवासीको विरोधमा र उनीहरूको प्रतिवादमा प्रदर्शन भइरहेका छन् । प्रहरीका अनुसार बुधबार मात्र एक दर्जन सहरका सयभन्दा बढी ठाउँमा प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले अध्यागमन परामर्श केन्द्र र वकिलका कार्यालयहरूलाई निसाना बनाएका छन् । प्रहरीका र निजी सवारीसाधन आगजनी, मस्जिद तोडफोड र पसल लुटपाटका घटना भइरहेका छन् ।
हिंसाका कारण जातीय अल्पसंख्यक र आप्रवासी समुदाय भयभीत बन्दै गएका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि अल्डरसट सहरमा रहेका नेपाली समुदाय पनि त्रसित छन् । अल्डरसट नेपालीको उल्लेख्य बसोबास र व्यवसाय रहेको सहर हो । ‘हिंसात्मक प्रदर्शन र आप्रवासीमाथि आक्रमण बढेकै कारण नेपालीले आज (बुधबार) आफ्ना कैयौं पसल बन्द गरेको सूचना आएको छ,’ स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीका अध्यक्ष मन गुरुङले भने, ‘हामीले आन्तरिक पत्राचार गरेर सबैलाई सचेत रहन अपिल गरेका छौं ।
उत्तर–पश्चिम इंग्ल्यान्डको साउथपोर्टमा गत जुलाई २९ मा १७ वर्षीय युवकले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको हो । प्रदर्शन हिंसात्मक बन्दै जानुमा दक्षिणपन्थीहरूलै फैलाएको गलत सूचनालाई पनि प्रमुख कारण ठानिएको छ । बालिका हत्या गर्ने युवक बेलायतमा जन्मिएको प्रहरीले बताए पनि दक्षिणपन्थीहरूले उनी शरणार्थी र मुस्लिम भएको हल्ला फैलाएका थिए । त्यसपछि आप्रवासी र मुस्लिम समुदायविरुद्ध आक्रमण सुरु भएको हो ।
लन्डन, लिभरपुल, सन्डरल्यान्ड, हल, ब्रिस्टोल, बेलफास्ट, साउथपोर्ट, रोदरम योर्कसायर, लिड्स, डरहाम, बोल्टन, मिडल्सब्रलगायत दर्जनौं सहरमा हिंसात्मक गतिविधि फैलिइसकेको छ । आन्दोलनकारीले गत आइतबार शरणार्थीहरू बसेका उत्तरी इंल्यान्डको ट्यामवर्थस्थित होलिडे इन एक्सप्रेस र रोदरमस्थित होलिडे इन एक्सप्रेस होटल आगजनी गरेका थिए । रोदरम घटनामा मात्र ५१ प्रहरी अधिकृत घाइते भएको जनाइएको छ । दुवै पक्षका प्रदर्शनकारी आमनेसामने भएको मर्सिसाइड घटनामा ५३ प्रहरी घाइते भए ।
मर्सिसाइडमा भएको हिंसात्मक दंगामा भाग लिएको आरोपमा बुधबार तीन जनालाई जेल सजाय दिइएको छ । यूके क्राउन प्रोसिक्युसन सर्भिसले हिंसात्मक दंगामा करिब १ सय ४० जनालाई अभियोग लगाइएको जनाएको छ । चार सय २० भन्दा बढीलाई गिरफ्तार गरिएको छ ।
एक दशक यताकै सबैभन्दा उग्र ठानिएको दंगा नियन्त्रण गर्न लेबर सरकार प्रयत्नरत छ । हिंसात्मक घटनालाई ‘एकदमै घृणायोग्य’ भन्दै सरकारले सबैभन्दा कडा कदम चाल्न प्रहरीलाई साथ रहेको जनाएको छ । दुई दिनमा दुई पटक भएको आपत्कालीन कोब्रा बैठकपछि प्रधानमन्त्री केयर स्टार्मरले मंगलबार साँझ समुदायहरूलाई ‘सुरक्षित राख्ने’ वाचा गरेका छन् ।
उनले हिंसामा सहभागी हुनेहरूले ‘कानुनको पूर्णशक्ति महसुस गर्ने’ पनि बताएका छन् । प्रत्यक्ष र अनलाइनमार्फत हिंसा भड्काउनेहरू पनि कानुनी दायरामा आउने प्रधानमन्त्रीले बताए । कोब्रा बैठकमा मन्त्रीहरू, निजामती कर्मचारी, प्रहरी, गुप्तचर अधिकारीहरूलगायत सरोकारवाला सम्मिलित हुने गर्छन् । अराजकता नियन्त्रण गर्न करिब ६ हजार जनशक्ति परिचालन गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अति दक्षिणपन्थी दंगा बढिरहँदा सरकारले विभिन्न जेलमा ५ सयभन्दा बढी मानिसलाई थुनामा राख्ने गरी व्यवस्था मिलाइएको न्यायमन्त्री हेइडी अलेक्ज्यान्डरले जनाएकी छन् । अराजकता मच्चाउनेहरू जेलमा पुग्नेको उनले चेतावनी दिएकी छन् । गत आइतबार टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री स्टार्मरले हिंसामा संलग्न भएकाहरूले ‘पछुताउनुपर्ने’ बताएका थिए । ‘हामीले मुस्लिम समुदायलाई निसाना बनाएको, मस्जिदहरूमा हमला गरेको देखेका छौं’, प्रधानमन्त्रीले भनेका थिए, ‘अन्य अल्पसंख्यक समुदायलाई पनि निसानामा पार्ने, प्रहरीमाथि हमला गर्ने, नश्लवादी अभिव्यक्ति दिनेजस्ता गतिविधि भएका छन् जुन उग्र दक्षिणपन्थी अराजकता हो ।’
हुलदंगा र प्रदर्शन भइरहेको क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ । दूतावासले मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको हो । दूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचना ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।
दूतावासले बेलायतस्थित नेपाली संघसंगठनलाई समेत आफ्नो संस्था–समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउनेसम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न आह्वान गरेको छ । कार्यवाहक राजदूत रोशन खनालले परिस्थिति आत्तिइहाल्नुपर्ने खालको नरहे पनि सतर्कता अपनाउन अपिल गरिएको प्रस्ट्याइन् ।
‘नेपाली समुदाय पीडित भएको भन्ने खबर अहिलेसम्म छैन,’ खनालले कान्तिपुरसँग भनिन्, ‘बेलायतले यहाँ बस्ने हरेक नागरिकको सुरक्षाको प्रत्याभूति गरेको छ । तर पनि सचेत रहन हामी अपिल गर्छौं ।’ दुई बेग्लाबेग्लै एनआरएनए यूकेका अध्यक्षहरू क्रमशः प्रेम गाहामगर र हितकाजी गुरुङले पनि विज्ञप्ति जारी गर्दै सुरक्षा सतर्कता अपनाउन अपिल गरेका छन् ।
बेलायतमा भइरहेको दंगा अत्यन्तै दुःखदायी रहेको र यसले समाजमा ठूलो असर पुर्याएको साहित्यकार संगीता श्रेष्ठ बताउँछिन् । ‘सरकारले दंगा नियन्त्रण गर्न सुरक्षा बल बढाएको छ । कानुनी कदम चाल्नुका साथै प्रभावित क्षेत्रहरूमा तुरुन्तै राहत र पुनर्स्थापना कार्यक्रम सुरु गरिएको छ । यस कठिन समयमा सबैले धैर्य र समझदारी देखाउन जरुरी छ,’ उनले भनिन्, ‘आशा छ, चाँडै शान्ति पुनः स्थापना हुनेछ र समाज पुनः सामान्य अवस्थामा फर्कनेछ ।’