धार्मिक प्रवचन दिन पण्डित दिनबन्धु पोखरेल बेलायतमा

लन्डन- लोकप्रिय धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्।

बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उनी शुक्रबार दिउँसो लन्डन आइपुगेका हुन्।

लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङ, शिव कल्चरल सेन्टरका पूर्व अध्यक्ष पत्रकार बाचस्पति रेग्मी, सल्लाहकार गणेश गुरुङ, सचिव राजेन्द्र गुरुङ, गीता ढकाल, गायक रविन लामिछानेसहितले स्वागत गरेका थिए । समाज र ग्लोबल गोर्खा समाजको पहलमा उनी बेलायत आएका हुन् ।


गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङका अनुसार बेलायतमा रहंदा पण्डित पोखरेलले विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ धार्मिक प्रवचन दिनेछन् ।

२८ अगष्टमा स्कटल्यान्डस्थित पशुपतिनाथ मन्दिर, ३१ अगष्ट र १ सेप्टेम्बर अल्डरसटस्थित शिव कल्चरल सेन्टर तथा २ सेप्टेम्बरमा नटिङहमको हिन्दू मन्दिरमा उनले प्रवचन दिने तय भइसकेको छ।

बेलायतमा यसपटक पण्डित पोखरेलको प्रवचन वेद र बौद्ध दर्शनमा केन्द्रित रहने बताइएको छ ।

बेलायतमा चार दिनका प्रवचनहरु पूरा गरी ३ सेप्टेबरमै पण्डित पोखरेल नेपाल फर्किने योजना छ ।

साभारः नेपाली लिङ्क