मधेसी मोर्चा सरकार बनाउन बाधक नहुने
राजविराज, १२ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले सरकार बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाधक नरहेको बताउनुभएको छ ।
सप्तरीको पातो गाविसमा आज आयोजित कार्यकर्ता भेटघाटमा सद्भावना पार्टीका अध्यक्ष महतोले सरकार बनाउन मोर्चा बाधक नरहे पनि कसैको नाममा सहमति हुनु आवश्यक रहेको बताउनुभयो । मन्त्री महतोले राजनीतिक दलबीच सहमति नभए स्वतन्त्र व्यक्तिको नेतृत्वमा तीन महिनाका लागि सरकार गठन गरी निर्वाचनमार्फत मुलुकलाई समाधान दिनुपर्ने विचार राख्नुभयो ।
बाइस वर्षअघि गजेन्द्रनारायण सिंहले उठाउको सङ्घीयता, समावेशी र आरक्षणको विषय अहिले राष्ट्रिय कार्यसूची बनेको बताउँदै उहाँले मुलुक अहिले गजेन्द्रपथमा हिँडिरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा २५ भन्दा बढी व्यक्ति सद्भावना पार्टीमा प्रवेश गरेका थिए । यसअघि मन्त्री महतोले नेपाल रेडक्रस सोसाइटी मा डाक्नेश्वरी उपशाखा पातोको भवनको शिलान्यास गर्नुभएको थियो ।
