किरात याक्थुङ चुम्लुङको रजत जयन्ती उद्घाटन:
भदौ १७, नेवाः ललितपुर । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन हेक्याम’ भन्ने नाराका साथ किरात याक्थुङ चम्लुङुले आजदेखि रजत जयन्ति मनाउन शुरु गरेको छ ।
किरात याक्थुङ चुम्लुङ आजबाट २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चुम्लुङले वर्षभर रजत जयन्ती मनाउन शुरु गरेको हो । उक्त रजतजयन्ती वर्षभर नै मनाइने छ ।
रजत जयन्तीको उद्घाटन सम्माननीय उपराष्ट्रपति परमानन्द झाले चुम्लुङहिम शोभाहिटी ललितपुरमा लिम्बूहरुको बाजा (के) बजाएर उद्घाटन गर्नुभएको हो । साथै बेलुन उडाएर रजतजयन्तीको पनि शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा २०६९ सालको एसएलसीमा सर्वोत्कृष्ट हुनुहुने लिम्बु छात्रछात्रालाई सम्मानसमेत गरिएको छ । साथै चुम्लुङको विषिष्ट संरक्षक, संरक्षक सदस्य र आजिवन सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. नोबलकिशोर राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पनि मन्तव्य दिनुभएको थियो ।
उद्घाटन समारोहको पूर्वसन्ध्यामा चुम्लुङले ललितपुरको जावलाखेलदेखि चुम्लुङहिम शोभाहिटी ललितपुरसम्म र्याली आयोजना गरेको थियो ।


