पुर्खाप्रति उत्कृष्ट सम्मान ! चन्द्र्रबहादुर इङ्नाम
पुर्खाप्रति उत्कृष्ट सम्मान ! चन्द्र्रबहादुर इङ्नाम
– जितबहादुर चोङबाङ – वेलायत
भूतपूर्व ब्रिटिस सैनिक चन्द्रबहादुर इङ्नामले ताप्लेजुङ र तेह्रथुमको चारवटा विद्यालयमा आफ्ना पुर्खाहरुको सम्झनामा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । कक्षा १० सम्म अध्ययन गर्दा सातवटा विद्यालय फेर्नु पर्दाको कठिनाइलाई स्मरण गर्दै इङ्नाम आफुले अध्ययन गरेका सबै विद्यालयमा आफ्नो पुर्खाका नाममा छात्रवृत्ति स्थापना गर्ने निर्णय लिएका हुन । इङ्नामले ती सातवटा विद्यालयमध्ये चारवटा विद्यालयमा छात्रवृत्ति स्थापना गरिसकेका छन् ।
बाल्यअवस्थामा अध्ययन गरेको विद्यालय ताप्लेजुङको फूलबारी–२, रमिते गाउँमा अवस्थित सरस्वती निम्न माध्यमिक विद्यालयमा आफ्नो बुढा मावली घरको स्मरणमा 
०६८ सालमा दुई लाख रुपियाँको अक्षय कोष (अंगे्रजी, नेपाली, विज्ञान र गणित विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु) को लागी स्थापना गरी ‘सुनकोसे परिवार स्मृति
छात्रवृत्ति’ खडा गरेका छन् । यो छात्रवृत्तिअन्तर्गत वार्षिक ३० हजार रुपियाँ वितरण गरिँदै आएको छ । समग्रमा उक्त रकमको ४० प्रतिशत उल्लेखित विषयहरुका उत्कृष्ट छात्रछात्रालाई प्रदान गरिन्छ । त्यसैगरी विद्यालयका उत्कृष्ट छात्र र छात्रालाई २०/२० प्रतिशत र अनुसाशित विद्यार्थीलाई २० प्रतिशत पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।
उक्त सुनकोसे परिवारका कुनैपनि सदस्यहरु र घरको भग्नवसेस समेत नरहेको अवस्थामा सो परिवार भान्जो नाती इङनामले सो परिवारको नामबाट गाउँमै अवस्थित विद्यार्थीले माया र दयाको केही मात्रामा भए पनि महसु र रमिते गाउँबासीले बिर्सन लागेको सुनकोसे परिवारको नाम पनि बाँचिरहोस भन्ने हेतुले छात्रवृत्ति स्थापना गरेको इङ्नाम बताउँछन् ।
तेह्रथुम जिल्लाको ह्वाकु गाविस ठुटेबरस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा आफ्नो स्वर्गीय कुप्रे बाजेको स्मरणमा ०६९ मा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरी ‘बज्रबहादुर इङ्नाम स्मृति छात्रवृत्ति’ खडा गरेका छन् । विद्यालयको ११ र १२ कक्षामा विज्ञान विषय नभएकाले अंग्रेजी, नेपाली र गणित विषयमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई ४० प्रतिशत, समग्रमा छात्र र छात्रातर्पmबाट प्रथम हुने विद्यार्थीलाई २०/२० प्रतिशत र अनुशासित विद्यार्थीलाई २० प्रतिशत रकम बराबरको नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
स्वर्गीय बज्रबहादुर इङ्नाम शिक्षित, विवेकशील, प्रभावशाली, न्यायप्रेमी, शिक्षाप्रेमी र समाजसेवी थिए । वहाले बन्धु समाज र स्थानीयवासी माझ पुर्याको योगदानको कदर होस् भन्ने र आफ्ना पुर्खा सदास्मरीणय रहुन् भन्ने कामनाका साथ उनका पनाती चन्द्रबहादुर इङ्नामले उनकै कर्मथलोस्थित सरस्वती उच्च मा.वि. ठुटेबरमा यो छात्रवृत्ति कोष स्थापना गरेका बताएका छन् ।
इङ्नामले आफ्नै पुर्खौली थलो तेह्रथुमको इवा–५ बरबोटेमा रहेको जनता निम्न माध्यमिक विद्यालयमा पनि स्वर्गीय पिता भक्तबहादुर इङ्नामको सम्झनामा ०६९ सालमा दुई लाख रुपियाँ अक्षय कोष स्थापना गरी ‘भक्तबहादुर इङ्नाम स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेका छन् । यो छात्रवृत्तिमा पनि (अंगे्रजी, नेपाली, विज्ञान र गणित विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु)लाई माथि उल्लेखित प्रतिशत रकम बराबरको नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
स्वर्गीय भक्तबहादुरले बाल्यकालमा धेरै दुःख–कष्टहरु सहनु परेका थियो । उनी २००४ फाल्गुन ११ गते गुम पहाडको रिक्रुटिङ सेन्टरबाट ब्रिटिस आर्मीमा भर्ति भएका थिए । उनले १/१० जिआरको सिग्नल प्लाटुनमा काम गरेका थिए । नोकरीकै शिलसिलामा मलाया (मलेसिया) को विद्रोहमा पर्दा उनको बायाँ कोखमा गोली लागेर घाइते भएका थिए ।
घरायासी समस्याको कारणले २० कात्तिक ०१२ सालमा (सेवा अवधि ७ वर्ष दुई सय ५७ दिनमा) नोकरीबाट राजीनामा दिएर स्वादेश फर्केर आफ्ना पितापुर्खाले गरिल्याएको समाज कल्याणका कार्यलाई निरन्तरता दिएका थिए । उनले जनचेतनामूलक धेरै कार्यको सुरुआत गरेका थिए । यस्ता कार्य गर्दा गर्दै उनको स्वास्थ्यस्थिति पनि विस्तारै खस्कँदै गएको थियो । आफ्नो जीवनको अन्त्यतिर २०१६ देखि २०२० सालसम्म पटक–पटक ‘मेरो छोरा नातिहरुलाई सन्देशपत्र’ नामक पत्र लेखेर उनले आफ्ना अधुरो सपनाहरुलाई लेखेर छाडेका थिए ।
आफ्ना पिताको कष्टकर जीवनका वाबजुद बुनेका सपनाहरुको स्मरण र सम्मान गर्दै पिता स्वर्गीय भक्तबहादुर इङ्नामको सपनाका नाममै चन्द्रबहादुर इङ्नामले ‘भक्तबहादुर इङ्नाम स्मृति छात्रवृत्ति कोष’ खडा गरेका हुन् ।
इङ्नामले आफु जन्मेको स्थान तेह्रथुमको ह्वाकु–१ खुर्पाथोकमा अवस्थित सरस्वती प्राथमिक विद्यालयमा बाजे लालबहादुर इङ्नामको सम्झनामा दुई लाख रुपियाँको अक्षय कोष स्थापना गरी ‘लालबहादुर इङ्नाम स्मृति छात्रवृत्ति कोष’ खडा गरेका छन् । यो छात्रवृत्तिमा पनि माथि उल्लेखित प्रतिशत रकम बराबरको नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
स्वर्गीय लालबहादुर इङ्नाम ‘फुर्के’ उपनामले प्रचलित थिए । शिक्षित, बुद्धिजीवी, प्रभावशाली व्यक्तित्व,दयावान मान्छे भनेर चिनिन्थे । अड्डा अदालतको मामिलामा उनी स्वयं किपटको हक दाबीमा सम्मिलित भएका कारण त्यसबेला आफु बसेको ठाउँमा मात्र नभएर ताप्लेजुङ, चैनपुर, पान्थर (पाँचथर) इलामलगायत धेरै ठाउँमा उनको कौशलताको प्रशंसा हुन्थ्यो । यही कुराबाट पे्ररित भई आफ्ना बाजेको सपनामा आधारित भएर ‘लालबहादुर इङ्नाम स्मृति छात्रवृत्ति कोष’ खडा गरेको बताउँछन्, चन्द्रबहादुर इङ्नाम ।
चन्द्रबहादुर इङ्नाम आफ्नै शब्दमा भन्छन्:
आफ्नो जन्म, कर्म थलो वा आफ्नो मुलुकमा केही गरौँ भन्ने प्राय सबैले सोचेकै हुन्छन् । तर, स्रोतसाधन चेतना अभावमाअभावले सबै कुरा पूरा हुँदैनन् । २०/२५ वर्षभन्दा अगाडिको जस्तो समय अहिले छैन । आजभोलि आयआर्जनका धेरै विकल्पहरु छन् । विदेशमा भए पनि जागिर गर्ने मौका पाइरहेका छौँ । हामीले सोचेको कार्यहरु पूर्ण रुपमै पूरा
गर्न नसके पनि थोरबहुत आकारमा ढाल्नु सक्छौँ ।
तर, पनि हामीले विद्यालयमा आधारभूत सामग्रीसमेत व्यावस्था गर्न सकिएको छैन । प्रायः सरकारी विद्यालय भवनहरुको स्थिति नाजुक अवस्थामा छन् । स्रोतसाधनको कमीले मर्मत तथा सम्भार नपाएर जीर्ण अवस्थामा छन् । केही भत्किसकेका छन् । पढ्ने र पढाउने कार्यमा गुणस्तर ल्याउन चाहिने तालिम र यसलाई मानसिक जग बसाल्नुजस्ता कुरोहरु धेरै टाढा छन् । सरकारको मुख ताकेर बस्ने हो भने यो सम्भावना धेरै टाढा छ । देश राजनीतिक द्वन्द्वमा फसेको छ । यो अहिलेको मात्र समस्या होइन, देशको राजनीतिक, ऐतिहासिक पृष्ठभूमिलाई पढ्ने हो भने हाम्रो देशको राजनीतिक समस्या सुल्झने देखिँदैन । हाम्रो मुलुकको पोलिटिकल ल्यान्डस्केप नै त्यस्तो ठाउँमा छ । दुईवटा साँढेको बीचमा हराएको एउटा बाछोको हालत जस्तो ।
मान्छेको भीडमा हिँड्दा आफ्नो आँखाले देख्न नसक्ने मुहार अरु कसैको नभएर आफ्नै हुन्छ । तर, भीडले हाम्रो मुहार देखिरहेको हुन्छ । हामीले अरु कसैलाई दोष नदिएर हाम्रो ल्याकतले भ्याउने बाटो लिएर आयमूलक कार्यहरु गर्यो भने अवश्य केही हुन्छ । सरकारले जनताको जीउ र धनको सुरक्षाको व्यवस्था गर्यो र वैदेशिक रोजगारमा रहेको लाखौँ नेपालीले मुलुकलाई थोरै मात्र दिन सक्यौँ भने ‘सय थुकी नदी’ बन्न सक्छ । त्यसैले अहिलेको सम्भावना भनेको वैदेशिक रोजगार नै हो । विदेशको अग्लो भवनका ठुल्ठूला झ्यालको ऐनामा प्रतिबिम्वित आफ्नो मुहार देख्दा झस्कँदा मनमस्तिष्कमा आउने नेपाल आमाको यादका तरंगको फैलावट पराई भूमिमा टेक्नेलाई मात्र थाहा हुन्छ । देशभित्र बसेर मातृभूमिको माया पत्तै हुँदैन । त्यही मायाको खातिर हामीले हाम्रो आयआर्जनबाट थोरै अंशले गाउँको विद्यालय, बाटो, पुल वा कुनै स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा मद्दत पुर्यायौ भने यहाँ बस्ने हाम्रा मान्छेलाई ठूलै राहत पुग्नेछ ।
यो लेखमा उल्लेख भएका परिवारको चार पुस्ताको योगदान र आफु जन्मेहुर्केको ठाउँका लागि केही गरौँ भन्ने भावना एकले अर्को गर्दै भावी पुस्तालाई बुझाउँदै आफ्नो क्षमताले भ्याएसम्म पुर्खाको अपुरो सपना पूरा गर्ने प्रयत्न गरेको देखिन्छ ।
एक पुस्तापछि अर्को पुस्ता गर्दै समाजसेवाको यो भावनाले झन्–झन् गाढा हुँदै गएको देखिन्छ । यो अत्यन्तै सह्रानीय छ । यस्तो मानव कल्याणकारी भावना चन्द्रबहादुर इङ्नामको कदर र सम्मान गर्दै यसले निरन्तरता पाइरहोस्, यही कामना गरौँ ।
