लिम्बु साहित्य प्रकाशन समिति निर्माण
ब्रुनाई, ८ अगष्ट २०१३ । लिम्बु जातिको साहित्य संस्कार संस्कृति तथा मुन्धुम प्रकाशनको लागि ‘लिम्बु साहित्य प्रकाशन समिति’ निर्माण भयो ।
लामो समय देखि लिम्बु भाषाका पुस्तकहरु प्रकाशनमा प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्दै आएका जितेन्द्र चेम्जोङ, सुरेन्द्र इङनाम र विश्वास दीप तिगेला लगायतले सर्वसम्मत निर्णय गरेका हुन । विभिन्न लिम्बु साहित्य प्रकाशनको कार्य सहज र सजिलो हुन सकोस भन्ने उद्देश्यले स्वतन्त्र प्रकाशन समिति निर्माण गरिएको बताइएको छ ।
समितिले तत्कालै प्राज्ञ कुलपति वैरागी काँइलाद्धारा संकलित ४ वटा मुन्धुमको पुस्तक मध्ये २ वटालाई संकलकको इच्छा बमोजिम यहि अगष्ट अन्तिमबाट प्रकृया अगाडि बढाउने निर्णय गरयो । त्यसमध्ये चेम्जोङ र इङनामले एकएक पुस्तक प्रकाशनको खर्च ब्यहोर्ने र बाँकी पुस्तकहरुको लागि लिम्बु साहित्य उत्थानमा तल्लिन सबै दाताहरु संग प्रत्येक्ष तथा अनलाइनबाट सहयोग लिने बताईएको छ ।
प्रतिबद्धताः
१. जितेन्द्र चेम्जोङ, मौनाबुधुक ६ हालः वेलायती सेनामा सेवारतबाट रु १ लाख बराबरको एक मुन्धुम पुस्तक प्रकाशन गरिदिने निक्यौल ।
२. सुरेन्द्र इङनाम, इवा ७, तेह्रथुम, हाल वेलायती सेनामा सेवारबाट रु १ लाख बराबरको एक मुन्धुम पुस्तक प्रकाशन गरिदिने निक्यौल ।
दुबैजनाले अगष्ट अन्तिममा उक्त रकम उपलब्ध गराउने बचनबद्धता ।
बहसः
किरात याक्थुङ चुम्लुङ अन्तर्गतको लिम्बु भाषा साहित्य प्रतिष्ठानको ब्यानरबाट प्रकाशन गर्ने सवालमा छलफल हुदाः भोलि अन्यहरु संग अरु पुस्तक प्रकाशनको लागि सहयोग माग्दा त्यसको जिम्मेवारी चुम्लुङले लिन सक्ने वा नसक्ने, अख्तियारी प्राप्त हुने वा नहुने आदी समस्या देखियो ।
वैरागी काँइला अध्ययन प्रतिष्ठानबाट प्रकाशन गर्ने की भन्ने सवालमा पनि बहस भयो । जिवित ब्यक्तिको नाममा यस्तो हुनसक्छ वा सक्तैन अन्यौल यथावत रहेकोले त्यसो गरिएन ।
स्वतन्त्र प्रकाशन समिति बनेपछि विश्वभरका लिम्बु वा इच्छुक जो कोहिलाई फेसबुक, अनलाइनबाट समेत सहयोग मागि आर्थिक संकलन गरि प्रकाशन गर्न सकिने र त्यसको जिम्मेवारी नयाँ बनेको समिति आफैले लिन सक्ने निक्र्यौल सहित छु्ट्टै समिति निर्माणको घोषणा गरिएको हो । संयोजनकारी भूमिका तिगेलाले निर्वाह गरिरहेको भएपनि समितिका पदाधिकारी तोकिएको छैन । लिम्बु भाषा संस्कृति फाँटका अगुवा तथा सक्रिय महानुभावहरुको संलग्नता र सल्लाहमा निर्माण हुनेछ ।
