चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल
संघीय/पालाम खबर सेवा, अगष्ट ३१, २०१०/
चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल संघीय/पालाम खबर सेवा, अगष्ट ३१, २०१०/ चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ‘किरात याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलन’ विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ (भाद्र १५) मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लिम्बुवान र आदिवासी जनजातिको सवालमा आन्दोलनरत् विभिन्न राजनीतिक तथा सामाजिक संघ-संगठन र स्वतन्त्र बुछिजीवीहरूको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा विचार राख्ने धेरै वक्ताहरूले संविधान लेखन, संघीयता, जातीय स्वायत्ता र धर्मनिरपेक्षताका लागि लिम्बुवान र आदिवासी जनजाति आन्दोलन अझ एकतृत भई थप सशक्तताका साथ उठ्नु र उठाउनु पर्ने कुरामा जोड दिए ।
चुम्लुङका अध्यक्ष अर्जुन नुगो लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव योगराज वनेमले प्रारम्भिक अवधारणाका साथ लिम्बुवान र आदिवासी जनजाति आन्दोलन बारे छलफलको आधारपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लीला सिङगकद्वारा गरिएको थियो ।
लिम्बुवानको बारेमा निरन्तर बहस-पैरवी गर्दै आएको चुम्लुङले यसअघि साउन १० गते पनि ‘लिम्बुवान आन्दोलन र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । आउँदो भाद्र १७ गते किरात याक्थुङ चुम्लुङले सदाझैं यसवर्ष पनि चुम्लुङको २२औं स्थापना दिवस सम्माननीय सभाध्यक्ष सुभाष नेम्बाङको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रमका साथ मनाउने भव्य तयारी गरिरहेको छ ।
रिपोर्टिङ/फोटोः सेमिमा तुम्बाहाङफे
