लिम्बुवान अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषदको ऐतिहासिक सम्मेलन सम्पन्नः
तामाफोक, याक्खालेन, लिम्बुवान २४ असोज २०६८/
संविधान सभामार्फत बन्ने संघीय नेपालको नयाँ संविधानमा ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार, स्वशासन, आईएलओ महासन्धि नं. १६९ र यूएनड्रीपको कार्यान्वयसहितको लिम्बुवान स्वायत्त राज्य अन्तर्गत रहने याक्खालेन् स्वायत्त क्षेत्रको संवैधानिक सुनिश्चितताको लागि सङ्गठित भई लिम्बुवान आन्दोलनसँगै आन्दोलित हुन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषदको प्रथम ऐतिहासिक स्वायत्त सम्मेलन २०६८ पुस २३ र २४ गते मुढेशनिश्चरे, तामाफोक, सङ्खुवासभा, याक्खालेन, लिम्बुवानमा सम्पन्न भएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषदको प्रथम स्वायत्त सम्मेलनको उद्घाटनसभा पुस २३ गते मुढे शनिश्चरेमा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भई पुस २४ गते सोही ठाउँको सिङ्गेस्वरी माविको सेमिनार हलमा लिम्बुवानका केन्द्रीय पदाधिकारीहरू- अध्यक्ष कुमार लिङदेन ‘मिराक’, उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्य तथा महिला परिषद अध्यक्ष शान्त योङहाङ, केन्द्रीय सदस्यहरू अशोक चेम्जोङ र इन्द्रमान लिङथेप, पत्रकार परिषद् अध्यक्ष दिल कुमार लावती र युवा मंच अध्यक्ष सुनिल लिम्बूको समुपस्थिति र सम्पूर्ण याक्खालेनका प्रतिनिधि तथा पर्यपवेक्षकहरूको सहभागीतामा सम्मेलनको बन्द सत्र सञ्चालन भएको थियो । उक्त बन्द-सत्रले आर्थिक, साङ्गठानिक, राजनीतिक प्रतिवेदनका साथ संघीय याक्खालेन स्वायत्त परिषदको विधान समेत पारित गरी नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्षताको आन्दानेलमा लिम्बुवान आन्दोलनसँगै लिम्बुवान राज्य अन्तर्गत बन्ने याक्खालेन स्वायत्त क्षेत्रको संवैधानिक सुनिश्चिताका लागि हरतवरले सङ्गठित भई आन्दोलित हुने निर्णय गरेको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत रहने संघीय याक्खालेन स्वायत्त परिषदको प्रथम ऐतिहासिक स्वायत्त सम्मेलनले लोकतान्त्रिक विधिबाट इश्वर याक्खाको अध्यक्षतामा २३ सदस्यीय संघीय याक्खालेन स्वायत्त परिषद केन्द्रीय (स्वायत्त) कार्य समितिको चयन गरेको छ । नव निर्वाचिन केन्द्रीय कार्य समितिको अध्यक्षमा इश्वर याक्खा, प्रथम उपाध्यक्ष सजन याक्खा, द्वीतीय सपाध्यक्ष रहेश देवान; महासचिव शान्ता सोम्याहाङ याक्खा, सचिव धनमाया याक्खा र अर्थ-सचिवमा हेमन्ता याक्खा रहनु भएको छ ।
त्यसैगरी, सो समितिको सचिवालय सदस्यहरूमा हाललाई निमा रिजी शेर्पा र दिवस सोम्याहाङ रहनु भएको छ । साथै, केन्द्रीय सदस्यहरू जितहाङ याक्खा, विष्णु लिङ्खा, श्रीप्रसाद याक्खा, बेगबहादुर ताम्ली, करण जिमी, शुक्रराज जिमी, योगराज जिमी, बिर्ख जिमी, अपेक्षा जिमी, गुरुप्रसाद कोयङ्वा, राज चाम्लिङ, इशवर जिमी र डम्बर थम्फरा लगायत २३ सदस्यीय समिति चयन गरिएको छ ।
संघीय याक्खालेन स्वायत्त परिष्दको यस ऐतिहासिक सम्मेलनले याक्खालेनको आफ्नै साङ्गठानिक विधान, घोषणा-पत्र र झण्डासमेत तय गरेको छ । संघीयवादी लिम्बुवान आन्दोलनको यो ऐतिहासिक सङ्गीन घडीमा बनेको यस संघीय याक्खालेन स्वायत्त परिषदको गठन र आन्दोलनले विशेष अर्थ र महत्व राख्ने देखिन्छ ।
– डीबी आङ्बुङ लिम्बू,
Update: Surendra Ingnam
