लिम्बुवान राज्य भए (लाहाङ चेम्जोङ)

लिम्बुवान राज्य भए
– लाहाङ चेम्जोङ
सोल्टीनी !
लिम्बुवान राज्य भए
सेहोनाम्लाङ्को भाज्याङ्तिर कतै
मायाको सेक्मुरिफुङ् जगाउने धोको छ
काबेली खोलाको चिसो पानीमा
सेसे साङसाङ गर्न मन लागेको छ
माथि फक्ताङ्लुङको स्वच्छ हिउँमा
जीवनको मिक्कि वारक बार्ने मन छ
अरुणनदीको तीरैतीर हिँडाएर
काङ्सोरेको वीरगाथा सुनाउने रहर छ ।

सोल्टीनी !
लिम्बुवान भूमि भए
माघेनी मेलामा धान नाच्ने धोको छ
यसै पालीको त्रिशाली मेलामा
युमा माङलाई भाकेर पालाम गाउँदै
आहा ! कति आनन्द लिने ईच्छा छ
ताप्लिजङको मुक्कुमलुङ्मालाई भाकेर
सयौं जुनीको कसम खाने ईच्छा छ
औंशी-पूर्णेको हाट भर्न जाँदा
उकाली ओह्रालीमा अघिपिछ
हिँड्दाको मज्जा अनि अर्कै उमङ्ग
ओहो ! त्यो दिन देख्ने ईच्छा छ ।

सोल्टीनी !
लिम्बुवान राज्य भए
तिमीले मेख्ली र मैले तागा लगाई
धरान झरेर बुढासुब्बा जाने धोको छ
सायद सबैले सोध्लान् हगि
आहा ! कति सुहाएको युगल जोडी भनेर
उतिबेला हाँस्दै लिम्बुवानी परिचय दिने ईच्छा छ ।

सोल्टीनी !
लिम्बुवान भूमि भए
तिमीसँगै मेक्खिम् गर्ने लक्ष्य छ
हाम्रो मेक्खिम् भएको दिन
हुरुङ् हुरुङ् च्याब्रुङ् बजाउँदै
तिमीसँगै च्याब्रुङ नाच्ने इच्छा छ
तुम्याहाङहरुका हाक्पारे साम्लोको मिठासमा
ओ…रिल्लो… अनुप्राससँगै
हामीले मुन्धुमी आशीर्वाद लिनु छ ।

सोल्टीनी !
लिम्बुवान मुक्ति भए
पाँचवर्षपछि हाम्री छोरी इनुले
‘आनि पान्’ पढिरहेकी हेर्ने रहर छ
शायद उमेर ढल्कन्छ हाम्रो
त्यतिबेला तिमी-हामीले आफ्नै भाषामा
पालैपालो अतीतको कुरा गर्ने रहर छ
अतीतलाई सम्झँदै वर्तमान र भविष्यमा
मौलिक जिन्दगी जिउने धोको छ ।

-झापा लिम्बुवान