इलाममा समसामयिक साहित्य विचार गोष्ठी

इलाम, २६ भदौ । महेन्द्ररत्न बहुमुखी क्याम्पसद्वारा सोमबार इलाममा आयोजित ‘समसामयिक साहित्यिक विचार गोष्ठी’मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले साहित्यकारले नेपाली साहित्यमा समयानुकूल विविध वादमा कलम चलाएर पश्चिमी र पूर्वीय भावधारलाई अघि बढाएको उल्लेख गर्नुभयो ।
प्रा डा अभि सुवेदीले इटालीबाट सुरु भएको रोमान्टिकवाद भारतमा छायावादका रूपमा प्रवेश गरी नेपालमा महाकवि देवकोटाबाट आधुनिक साहित्य सुरु भएको बताउनुभयो ।
वर्तमान अवस्थामा नेपाली राजनीतिमा प्रवृत्ति परिवर्तन नभए पनि नेपाली साहित्यमा आ–आफ्नो जातीय भाषा र आञ्चलिकता प्रवेश गराएर बहुलधारामा साहित्य सिर्जना हुन थालेको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ विष्णु प्रभात र प्रा खगेन्द्रप्रसाद लुइँटेलले नेपाली साहित्यमा नयाँ विचार, चिन्तन तथा बहसको चर्चा जति गरे पनि लेखनमा परिवर्तन ल्याएर क्रियाशील हुनुपर्ने औँल्याउनुभयो । नेपाली विभागका प्रमुख प्रा बुद्धिप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त गोष्ठीमा अङ्ग्रेजी विभागका प्रा राजेन्द्र बराल र कवि देवी नेपालले वर्तमान नेपाली साहित्यको स्थितिबारे प्रकाश पार्नुभएको थियो ।
यसैबीच भाषाशास्त्री महानन्द सापकोटा र साहित्यकार विष्णु नवीनको सालिक अनावरण तथा साहित्यिक समारोह समितिद्वारा आयोजित कविगोष्ठीमा विभिन्न कविले आ–आफ्नो कविता वाचन गरे ।