जनताले हराएका नेताहरुले संविधानसभा विघटन गराए
काठमाडौ, कार्तिक १८ । अग्रगामी विचार समूहका नेता तथा पूर्व गृहराज्यमन्त्री रिजमन अन्सारीले संविधानसभाको निर्वाचनमा जनताले हराएका नेताहरु संविधानसभा भवनभित्र पसेर संविधान बनाउन खोज्दा संविधानसभा बिघटन गराएको आरोप लगाएका छन् ।
नयाँ राजनीतिक पार्टी निर्माण अभियानको क्रममा सोलुखुम्बू–काठमाडौं सम्पर्क समन्वय समूहको शनिबार भएको भेलामा अन्सारीले उक्त अभिव्यक्ति दिएका हुन् । काँग्रेस र एमाले पहिचान विरोधी रहको ठहर गर्दै आदिवासी जनजाति, दलित, मुस्लिम मधेशी तथा सम्पूर्ण उत्पीडित समुदायको पक्षमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्घोषका साथ गत महिना एमाले परित्याग गरेका अन्सारीले एमालेका माधवकुमार नेपाल, केपी ओली र काँग्रेसका सुशील कोइराला जस्ता हरुवा नेताहरु संविधान बनाउन भन्दै संविधानसभाभित्र पसेर जनताले भोट हालेर संविधान निर्माणका लागि जिताएर पठाएका सभासदहरुलाई संविधानसभा बाहिरको हरियो चउरमा सुताएर संविधान बनाउन खोज्दा संविधानसभा नै विघटन भएको उनले ठोकुवा गरे ।
नेपालमा भएका सबै ऐतिहासिक आन्दोलन र परिवर्तनमा उत्पीडित जातिहरुको बलीदानीपूर्ण योगदान रहेको तर उपलब्धि पाउन नसकेको भन्दै उत्पीडितहरुको मुक्तिको लागि हामी उत्पीडित जाति, वर्ग, लिङ्ग नै एक भएर राष्ट्रिय शक्ति निर्माणको अभियानमा लाग्नुपर्ने बताए ।
“हामीले पार्टीमा दुःख गर्ने अनि बाहुनवादीहरु कब्जा गर्ने ?” अन्सारीले भने, “किन महेन्द्र राय यादव, जितेन्द्र देवहरुले एमालेमा जिन्दगी बिताएर अधिकार माग्दा एमाले छाड्नु पर्ने ? यसको जवाफ एमालेसँग छ ? किन महन्थ ठाकुर जस्ता मान्छे सबै जीवन अर्पेर काँग्रेस छाड्नु प¥यो ? आक्रेशित मुद्रामा रहेका अन्सारीले भने, “काँग्रेस एमाले आदिवासी जनजाति, मधेशी, मुस्लिम र दलितलाई अधिकार दिन चाहदैनन्, तपार्इंहरु जति नै काँग्रेस एमालेमा दुःख गर्नुहोस् उपाध्यक्षभन्दा ठूलो पद पाउनु हुन्न । के एमालेमा कहिल्यै बाहुनबाहेक अरु अध्यक्ष भएको छ ? के काँग्रेसमा बाहुनबाहेक कोही सभापति भएको छ ?” छैन र अब पनि हँुदैन, उनले भने, किनकि माकुने, झलनाथ, ओलीपछि प्रदिप ज्ञावलीजस्ता दोस्रो पुस्ता छन् भने तेस्रो पुस्तामा योगेश भट्टराई जस्ता बाहुनहरु छन् । मतलव ५० वर्षको लागि एमाले नेतृत्व प्याक छ अनि किन बस्ने एमालेमा ? कसरी अटाउँछन् बाहुन बाहेकको नेतृत्व ? यसर्थ, नयाँ शक्ति आवश्यक छ, जहाँ सबैले समान अवसर पाउने छन्, उनले भने ।
स्मरणीय रहोस् करिब २०० जनाको संख्यामा उपस्थित उक्त भेलाका सहभागीहरुले नयाँ बन्ने राजनीतिक शक्तिलाई पूर्ण रुपमा सहयोग र सक्रियता हुने जनाएको छ ।