आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?

आदिवावासी आन्दोलनको राजनीतिक दर्शन ‘संघीय समाजवाद’ हुने कि ?-लक्ष्मण थारु

जय मगरात, जय थरुहट, जय लिम्बुवान, जय खसान, जय तामाङ्सालीङ, जय खम्बुवान, जय नेवाः मण्डल, जय तमुवान ! आदि हामी आदिवासी जनजाति, दलित, महिला, मुस्लिमलगायत् सबै उत्पीडितहरूको भावनासहितको लक्ष्य र राजनीतिक दर्शन हो । यो उधारो ‘जय’ होइन, न त यो कल्पनावादी छ, अवश्य पनि कोरा कल्पनावादी ‘लाल सलाम’ र राष्ट्रघाती ‘जय नेपाल’ को विकल्पको वैज्ञानिक, यथार्थतावादी दर्शन हो यो । हो, हामी पुराना राजनीतिक मान्यता त्याग्न चाहन्छौं र नयाँ खोज्दै छौं, । हामी हाम्रो गुमेको चिज पाउन जे कुरा आवश्यक पर्छ त्यही गर्न तयार छौं ।

‘लालसलाम’ र ‘जय नेपाल’ को कोरा, ढोंगी राजनीतिक आदर्शले हामी हाम्रो भाषा, संस्कृति, पहिचान मात्रै गुमाएनौं, राजनीतिक, आर्थिक र सामाजिक अधिकार पनि सबै गुमाइसक्यौं । के अझैं हामी गुमाउन तयार छौं – अँह अब त्यसो हुँन कदापी दिँदैनौं । त्यसो भए के अपराधी, तानाशाह, षडयन्त्रकारीहरूलार्इ ठेगान नलार्इ पाउँछौं त हामीले खोजेको कुरा ? हाम्रा सत्रूहरूलार्इ ठेगान लगाउने विधि र तागत छ र सम्भव छ त हामीबाट ? यो सम्भव छ र तागत पनि हामीसँग छ, हुनैपर्छ । त्यसको लागि हामीले विकल्प दिन सक्नुपर्दछ र त्यसकै लागि अब हामी विकल्पसहितको बहस सुरु गरौं ।

‘जय जरुहट !’ यो नयाँ नारा हो, यो नारा वा शब्द आफैमा मौलिक, स्वतन्त्र र सार्वभौम छ किनकि यो जहिले पनि जय लिम्बुवान, जय तामाङसालीङ, जय मगरात, जय तमुवान र जय खसान आदिसँग सँगै छ, सँगै हुन्छ । साथै, अरुसँग पनि साथमा रहन्छ । यी शब्दहरूले आफैमा हामी आदिवासीहरूको असहैय पीडाहरू ओकलिरहेका हुन्छन् । किनकि, आफ्नो प्राचीन थात्थलोमा आदिवासीहरू अधिकार र अवसरबाट वञ्चित हुनुपर्दाको  पीडा स्वयम्लार्इ भन्दा अरुलार्इ सायदै होला ।

हाम्रा कतिपय आदिवासी नेताहरू स्वाँठ लम्पट छन् । जसले आफूलार्इ सर्वगुण सम्पन्न मान्दछन् । जसले २, ४ वटा किताब लेख्दै साम्राज्यवादीहरूलार्इ बेच्दै रमाउँदछन् । उनीहरूको तर्क छ आदिवासीहरू किताबै पढ्दैनन् । गाउँका जनतालार्इ के थाहा कसले कति डलरको खेती गर्छ ?

एक अर्का थरिका हाम्रा आन्दोलनरत् साथीहरू छन् जसले आन्दोलन भनेकै चक्काजाम, बन्द, हड्तालसँगै स्वचालित हतियार प्रयोगको माग गर्दछन् । जो आन्दोलनका प्रत्यक्ष मोर्चामा छन्, जसलार्इ आफ्नो आन्दोलनका समाचारबाहेक अन्य पत्रिकाको समाचारसमेत अध्ययन गर्ने फुर्सद हुँदैन । अरु जनतासँगको छलफल र घुलमिल आन्दोलनको बेलामात्रै आवश्यकता महशुस गर्दछन् । जान्ने बुझनेका गफाडिपनलार्इ व्यवहारमा र व्यवहारिक मुङ्ग्रेहरूको समायोजन गर्न नसक्दा आदिवासी राष्ट्रिय मुक्ति आन्दोलन न त प्रभावकारी नै बन्यौं न त योजनाबद्ध राजनीतिक सक्षमता प्राप्त गर्यो । यी असंख्य जटिलताका बीचबाट हामी छरपस्ट आदिवासी राष्ट्रिय मुक्ति आन्दोलनलार्इ संघीय समाजवादको अन्तिम लक्ष्यमा पुर्याउने अभियानमा छौं, हामी अहिले ।

कतिपयको आत्माकेन्द्रित कल्पना लाखौंकोबीच भाषणले स्थापित हुने र सत्ताको भागबण्डामा पुग्ने, कतिपयको अदूरदर्शिता एक पटक आन्दोलन गरिसकेपछि सधैंको लागि पुग्छजस्तो आरामको कल्पना गर्छन् ।

हो हामी जे गर्दछौं जित्नकै लागि हो । त्यसो भए कसरी सम्भव छ त जित्न, के अन्धाधुन्ध ठोकेरै जित्न सकिने हो ? के हाम्रो कुनै सिमा र लक्ष्यहरू छैन – हात हतियार, सैनिक संरचना, सैनिक संगठन परिचालन गर्ने राजनीतिक दल, ब्यूह कौशलता तथा समग्र रणनीति र कार्यनीति सबैभन्दा बढी यस कुरामा निर्भर गर्दछ । उहिलेको घरेलु र औद्योगिक उत्पादन तथा प्रविधि, सञ्चारको विकास आज कुन उचाइमा पुगेको छ ? जस्तैः बारुदले युद्ध पद्दतिमा आमुल परिवर्तन गरिदियो तर बारुद र आग्नेय हतियारको प्रयोग बलको परिणाम थिएन त्यो त उद्योगको प्रगतिको एउटा कदम थियो । साथै, बल र विवेक प्रत्येक समय प्रत्येक स्थानमा आर्थिक परिस्थिति र आर्थिक शक्तिको औजारलेनै बल र विवेकलार्इ अन्तिम सफलतामा पुर्याउँदछ । हामी सत्ता प्राप्ती गर्ने लडाइँको तयारीमा छौं । हामी आफैंलार्इ राजनीतिक सत्ता सञ्चालन योग्य बनाउनसमेत केही वर्षदमन र प्रतिरोध युद्धको बीचबाट गुज्रनै पर्छ ।

पुँजीवादी बुर्जुवाहरू संसारको अर्थतन्त्रलार्इ बहुराष्ट्रिय कम्पनीमार्फत् नियन्त्रण गर्न भाडाका सैनिक बललार्इ स्वचालित हतियार र आग्नेय अस्त्रहरूको ठूला उद्योगहरू निर्माण गरिसकेका छन् र हामीलार्इ त्यसको मजदुरका रुपमा प्रयोग गर्दैछन् । ती उद्योगका मजदुर हाम्रो सर्म्पर्कभन्दा बाहिर छन् । हामी हाम्रो संगठनको कार्यक्षेत्र त्यस ठाउँमा पुर्याउनै पर्छ । त्यसोगर्दा बाहिर रहेका युवा शक्तिलार्इ सशक्त बनाउन सकिन्छ । अर्को विषय प्रतिक्रियावादी सैनिक बलमा आदिवासीहरूको बाहुल्यता छ, हामीले उनीहरूमाथि फौजी हमलाको तयारी गर्नु हुँदैन, बरु त्यो शक्तिलार्इ हाम्रो पक्षमा प्रयोग गर्नतर्फसोच्नै पर्दछ । तर जल, जङ्गल र जमिनको सुरक्षार्थ हाम्रो युवा शक्ति फौजी कलायुक्त हुन जरुरी छ । ययोगर्दा विशाल आदिवासी समाजलार्इ मजबुत बनाउँदै विश्वास जगाउन सक्छौं । र, बिस्तारै आफ्नै पहलमा सत्ता सञ्चालनको प्रकृया व्यवस्थित् बनाउन सकिन्छ ।

अहिले हामीसँग सामाजिक सत्ता छ तर राजनीतिक सत्ता र आर्थिक सत्तामा हामी आदिवासी छैनौं । राज्यको सत्ता राजनीतिद्वारा निर्देशित छँदैछ । अर्को विषय यो जमानामा राजनीतिक दल निर्माण गरी यदि सत्तामै पुग्दछौं भने पनि त्यसबाट पूरै समाजलार्इ सामान्य सुधारभन्दा धेरै गर्न सक्दैनौं । कम्तीमा परिवर्तनको प्रमुख पहलकर्ता बन्नकै लागि भएपनि आफ्नो पहलमा सत्ताको अभ्यासको थालनीसहितको आन्दोलनद्वारा राजनीतिक दल निर्माण गरी हाम्रो संघीय समाजवादी समाज निर्माणको अभ्यास, प्रचार र ब्याख्या गर्न ढिलो गर्नुहुँदैन ।

जब हामी जातीय आधारमा संघीय राज्यको स्थापना र जातीय जनसंख्याको आधारमा राज्यको सबै अंगमा प्रतिनिधित्वको ग्यारेण्टी गर्न चाहन्छौं भने यो सामान्य परिवर्तन होइन, यो आमुल परिवर्तनकै लक्ष्य हो । यसको बस्तुगत आधार हामीसँग छ । संघीय समाजवादी राजनीतिक, आर्थिक र सामाजिक पक्षको ब्याख्या हामी अन्तिम शीर्षकमा गर्नेछौं ।

यतिबेला नेपालमा नयाँ संविधान बन्दैछ । सबै जाति, क्षेत्र, वर्ग र लिङ्गले पूर्ण अधिकार र अवसर पाउने आसा गर्दैछन् । ठूला दलका प्रतिनिधि, कम्युनिष्ट र बुर्जुवा पुँजीवादीहरू आ-आफ्ना दार्शनिक लक्ष्यअनुरुप संघीय गणतान्त्रिक नेपालको परिकल्पना गर्दैछन् । नेपालको राजनीतिक, आर्थिक र सामाजिक वास्तविकतामा केही विदेशी शक्तिहरूसमेत आ-आफ्ना स्वार्थको लागि सके जति खेती गर्दैछन् ।

संसारको राजनीतिमा सन् १९१७ देखि सन् १९८० को दशकमा कम्युनिष्ट सत्ता भनौं साम्यवादीहरू हावी थिए । माओत्सेतुङको मृत्यु र गोञ्जालोको गिरफ्तारीपछि संसारभरि नै कम्युनिष्टहरू रक्षात्मक अवस्थामा नै छन् । यसको मुख्य कारण नै कम्युनिष्ट पार्टीका नेतृत्वको आफ्नो व्यवहार, संस्कार र चिन्तन्, बुर्जुवा पुँजीवादीभन्दा घृणित पक्षले गरेको छ । अर्कोतर्फ पुँजीवाद र पुँजीवादी शासकहरू अति क्रूर र सैनिक सर्वोच्चतामा केन्द्रित छन् । विनासकारी हतियार उत्पादनको ब्यापारले गर्दा वास्तविक श्रमजिवीहरूको जीवन झन् झन् कष्टकर बन्दैछ । प्राकृतिक सम्पदा प्रदुषित बन्दैछ, कच्चा पदार्थको संकट बढ्दैछ ।

हामी नेपालका आदिवासी जनजाति, दलित, अल्पसंख्यकहरू एउटा नयाँ विकल्पको खोजी गर्दैछौं । के हो त त्यो विकल्प ? के कोरा साम्यवादी दर्शन र फासिष्ट पुँजीवादको विकल्प नै छैन ? हामी त छ भन्दै छौं, त्यसकारण त भन्दैछौं एउटा नयाँ बहस शुरु गरौं अब ।

प्रकृति र मानव जगत र यसका प्रत्येक घटनाक्रमहरू आपसमा सम्बन्धित् छन् । मानव समाज, प्रकृति र ब्रम्हाण्डका वस्तु एवं परिघटनाबारे जान्न, बुझन यसको उत्पत्ति, विकास र रुपान्तरण कसरी हुँदैछ ? संसारका हरेक चिज परिवर्तनशील र तीव्र गतिशील छ । मानव चेतनाले यसको विकास र प्रयोगको अनुकूलता खोज्दैछ । पर्याप्त अनुसन्धानसँगै प्रयोगका नयाँ नयाँ विधिले प्रकृति र मानव जगतको आयु लम्ब्याउन चाहन्छ । के प्रकृतिलार्इ पूर्ण नियन्त्रण गर्न सम्भव छ ? विज्ञान र कला चेतनाका उपज हुन् तर चेतना प्रकृतिबाट प्रभावित छ । असंख्य समस्या र समाधानको प्रयासले दर्शनशास्त्र निर्देशित भयो । जगतलार्इ सधैं हराभरा बनार्इ राख्न प्रकृतिसँगको संघर्ष गर्दै मानव समाज आज आधुनिक युगमा प्रवेश गरेको छ । तर आदिमकालभन्दा आज जटिलता बढ्दै गएको छ । समाधानको प्रयासमा मार्क्सवादी दर्शन जन्मियो त्यो दर्शनले बढ्दो एकाधिकारवादी पुँजीवादलार्इ चुनौती दियो । त्यस पूर्वको अनगिन्ती विचारधाराहरू आफ्नै श्रेष्ठताको पक्षमा छन् ।

ठाउँ विशेष संघर्ष, उत्पादन र मानव चेतनासमेत भिन्न छन् । संसारलार्इ श्रेष्ठ विकल्प दिने चिन्तन र प्रयास गरिएला तर पूरै ब्रम्हाण्डको स्वीचको ठेकेदार बन्न सकिँदैन । र कोही छँदा पनि छैन । राजनीतिक दर्शनले विज्ञान, कला र समाजलार्इ ब्यवस्थित बनाउने हो । साथै, प्राकृतिक सम्पदालार्इ संरक्षण गर्ने पनि हो । धार्मिक स्वतन्त्रताले जगतलार्इ अनुशासित पार्नु पर्ने हो । तर, अलौकिक शक्तिको सर्वव्यापकता दावी गर्दा विज्ञान र कलाले धार्मिक अलौकिक बकवासलार्इ समाप्त पारिदिएको छ । ब्रम्हाण्ड अवोधगम्य छैन वोधगम्य नै छ ।

मात्रै बाँच्नका लागि हुने संघर्षभन्दा उद्देश्यसहितको परिवर्तनको संघर्षले भयानक बिनासकारी दोश्रो विश्व युद्धले निम्त्याएको धेरै कुरुपता सजिलै बिर्सन सकिँदैन । विश्वको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धुघाँटीको सभ्यता, युनानको प्राचीन सभ्यता, रोमको सभ्यतालगायतले मानव चिन्तनलार्इ दार्शनिक रुपले अगाडि बढायो । ब्यापार र कृषप्मा आधुनिकीकरण गर्न सफल भयो । धर्मको प्रचारले अपराध रोक्ने जगतलार्इ नियममा बाँध्ने कोशिस त गर्यो तर अलौकिक भाग्यवादी कल्पनामै सत्ताको कल्पना गर्दा शासन सत्तामा खास पकड राख्न सकेन ।

सातौं र छैठौ शताब्दीमा जुन सभ्यताको विकास भयो त्यसले प्राकृतिक शास्त्र, ज्योतिष शास्त्र, रेखागणित, अंकगणित, आयुर्विज्ञानका विषयमा ज्ञान प्राप्त गरे र त्यसलार्इ संसारभरि नै फैलाए ।

औपचारिक रुपमा शास्त्रको बहस र व्याख्या पूर्वतत्वज्ञानी दार्शनिकहरू थेल्स, आनाक्जीभ्याण्डर, अनाक्जिमिनिज र अनाक्जिगेरसका आफ्ना धारणाहरू बाहिर आए । यी तत्वज्ञानहरूले हावा, पानी र आगोमध्ये कुन प्रमुख हो भन्ने विषयमा आ-आफ्ना धारणाहरू राखेका थिए ।

शास्त्रलार्इ दर्शन भनी शब्द प्रयोग गर्ने बुद्धिवादी दार्शनिक पाइथागोरस (इ.पू. ५८०-५००) ले गरे । अनि पूर्वीय दर्शनमा उपनिषद्का ऋषीहरूजस्तै कल्पना जगतमा बढी उड्दथे । उनका अनुसार “न त मुल तत्व छ न त त्यसको सुष्म रुप । मुल तत्व, भनेको उनका लागि आकृति वा आकार हो” यिनको संख्यादर्शन प्लेटो र अरिस्टोटलसम्म अघि बढ्यो ।

स्वतःस्फुर्त भौतिकवादी र दैधवादीहरू पछि गएर परिवर्तनवादी दार्शनिकका रुपमा आए यसमध्ये हेराक्लाइट (इ.पु. ५४४-४८२) भनेका थिए “तिमी उही नदीमा दुर्इ पटक उत्रन सक्दैनौ किनभने त्यहाँ सधैंभरि नयाँ नयाँ पानी बगिरहेको छ । जगतको सृष्टि त्यसको नास हो र त्यसको सृष्टि हो । स्थायी गुण भएको कुनै चिज छैन । संगीतको समायोजन निम्न र उच्च स्तरको विपरीत समागम हो ।”

प्रकृति, मानवजगत र ब्रम्हाण्डको अनुसन्धान, ब्याख्या र उत्पादनमा आधुनिकीकरणसँगै चलेको चेतनाको बहसले मानव जगतले काफी मात्रामा अनुसन्धान र विज्ञान कलालार्इ व्यवस्थित् गर्नसक्यो । त्यो बेलाका बहसले जे गर्यो त्यो मानव जगतको विकासको प्रकृयामा निरन्तर संघर्ष थियो । बिस्तारै राजनीति, मुद्रा र सामाजिक जीवनका अन्तरविरोधीहरूलार्इ सतहमा ल्याइदियो र पुँजीवादी आधुनिकतातिर अग्रसर गरायो । र्

जर्मनको धर्मसुधार आन्दोलन, इटलीको सिन्क्वेय सेन्टी आन्दोलन र प|mान्सको सांस्कृतिक पुनःजागरण आन्दोलन सामन्तवादको पिरुद्धको लडाइँले बुर्जुवाहरूलार्इ अगाडि ल्याइदियो ।

निकोलास कपर्निकस (१४७३-१५४३), जर्दानो व्रुनो (१५४८-१६०५), सर्वेन्तसर, ग्यालिलियो (१५६४-१६४२), फ्रान्सिस वेकन(१५६१-१६२६), न्युटन (१६४२-१७२७) आदि जस्ता वैज्ञानिकले धर्म र अन्धविश्वासका विरुद्ध लडे र वास्तविक सत्यको पक्षमा उभिए । यिनीहरूमध्ये जर्दानोवु्रनो र सर्वेन्टसलार्इ जिउँदै आगोमा जलाइयो । उनीहरू विज्ञानमा सहिदका नामले प्रसिद्ध छन् । साथै वुज्रुना भौतिकवादको नेतृत्व गरे ।

पुरेतवादी दार्शनिक रेगेडेकार्ट -१५९६-१६५०) यिनलार्इ १९ औं शताब्दीको पूवार्द्धका सवैभन्दा प्रतिभाशाली दार्शनिक पनि भनिन्छ । दर्शन शास्त्र र भौतिक शास्त्र, गणित र विशिष्ट शरीर विज्ञानमा ठूलो योगदान गरे ।

त्यसैताकाका डेकाटियनले भनेका थिए- “म हर कुरामाथि शंका गर्छु यहाँसम्म कि जगतको अस्तित्व र मेरो आफ्नो अस्तित्व माथि । के मेरो शंकाको कुनै सिमा छ ? अवश्य छ । तब हरेक कुरामाथि शंका गर्दा ‘म शंका गर्छु’ भन्ने कुरामा भने म शंका गर्दिन । यही नै एक मात्र शंकारहित अवस्था हो, जुन मेरो शंकाको सिमा र मेरो दर्शनको प्रस्थान बिन्दु । म चिन्तन गर्दछु, यसकारण मेरो अस्तित्व छ, तर म कसरी हुन्छु त – उपरोक्त सम्पूर्ण कुराहरूबाट म यही अनुमान लगाउँछु कि म एउटा चिन्तनशील पदार्थको रुपमा रहन्छु ।”

स्कटिस सन्देहवादी डेविड ह्युम (१७११-१७७६) उनले भने “सबै ज्ञान अनुभवबाट मिश्रति हुन्छ र पहिलो प्रभावहरू संवेदनात्मक र चिन्तनगत उपवर्गमा विभाजित हुन्छन् ।”

द्वन्द्वात्मकतावादी हेगेल (१७७०-१८३१) ले भौतिक संसार निरपेक्ष विचार जुन भौतिक संसारबाट स्वतन्त्र र बाहिर छ । यान्त्रिक भौतिकवादी लुडविक फायरवायन (१८०४-१८७२) उनले हेगेलको आदर्शबाट प्रति निन्दा र तीव्र बिरोध जनाए । र, आफ्नो भौतिकवादको तर्क पेश गरे । अन्ततः उनी मानवतावादमानै सिमित रहन पुगे ।

विशेष गरी १४ औं शताब्दीदेखि औद्योगिक क्रान्तिको तीव्रत्तर विकासले आज २१ औं शताब्दीसम्म चमत्कारिक विज्ञान र प्रविधिको विकास भएको छ । त्यति मात्रै हैन उर्जा संकट, प्राकृतिक सम्पदाहरूको विनास, आणविक अस्त्र निर्माणको होडवाजी, पानीको हाहाकार, जलवायु परिवर्तनले केही दार्शनिक चिन्तनहरूको मान्यतालार्इ चिन्तनको बिलासिता सावित गरिदिएको छ । कोरा साम्यवादको कल्पना त गरियो साथै त्यहाँसम्मको गन्तव्य पूरा गर्ने केही विधि बल प्रयोगको सिद्धान्त र सर्वहारा वर्गको अधिनायकत्व भनियो । यसको रुपपक्षको सुन्दरताले धेरै श्रमजिवीहरूलार्इ संगठित गर्न सजिलो त भयो तर यसले सत्ताको अन्त्य, नस्लको अन्त्य र धर्मको अन्त्यको कल्पना मात्रै गर्यौं जसलार्इ निरन्तर विकासको गुणात्मक अपेक्षाभन्दा बदला भावमा अधिकार दुरुपयोग गर्ने नियतले निर्देशित छ । मार्क्सवादको राम्रो पक्ष पनि छ जसले श्रमिकहरूलार्इ व्रि्रोह गर्ने उत्प्रेरणा दियो । अन्ततः यो विचारका संगठनहरू कुनै न कुनै संकीर्णतामा फसेकै छन् ।

२० औं शताब्दीको शुरुवातसँगै पहिलो र दोश्रो विश्वयुद्धले भयंकर विनास र पुँजीवादको उत्कर्षेसमेत मानव जगतको अन्तरविरोधहरूलार्इ समाधान गर्न सकेन । आजका आधुनिक पुँजीवादीहरू आफ्ना हत्यारा चरित्र लुकाउन, मानवअधिकार, स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा र प्रजातन्त्रको बकवास गर्दैछन् । सशस्त्र सैनिक बलमा नयाँ नयाँ व्यापारले प्रकृतिलार्इ बिनास बनाउँदै छ । पुँजीवादले भोगविलासको सपना मुट्ठीभरलार्इ हस्तान्तरण गर्यो । पछिल्लो चरणमा सूचना सञ्चारको चमत्कारले श्रमको मोलले मजदुरको जीवन झन कष्टकर बनाइदिएको छ । अझ युरोप र अमेरिकामा पछिल्लो समय बढेको बेरोजगारीले थप संकट पैदा गरिदिएको छ ।

पुँजीवादले अवलम्बन गरेको बहुदलीय संसदीय प्रतिस्पर्धात्मक व्यवस्था जसले स्वतन्त्र मतको ग्यारेन्टी त गर्यो तर सामान्य नागरिकलार्इ प्रतिस्पर्धाको पहुँचबाट बञ्चित गरायो । किनकि शासकहरूको हैकम सत्ताको दुरुपयोगमा टिकेको छ । जसले धनी-गरीव, श्रमजिवी-श्रमचोरबीचको दुरी अस्वभाविक रुपले बढाइदिएको छ । अझ संसारभरि नै जातीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक र वर्गीय अन्तरबिरोध बढाइदिएको छ ।

संसारको धार्मिक अन्तरविरोध अदृश्य षड्यन्त्रको चलखेलबाहेक केही गर्छ न त, विज्ञानको सत्यलार्इ मानिसको योगदान सम्भिmन्छ । तर धर्मको ध्यानले कुकर्मको त्रास अवश्य फैलाएको छ ।

क्षेत्रीय र वर्गीय अन्तरविरोधले प्रकृतिको कच्चा पदार्थहरूको पहुँचमा भौगोलिक सिमा विवाद खडा गरिदिएको छ ।

लैंगिक असमानता र विभेदका कारण महिलाहरू घरभित्र कैद रहने र मात्रै पुरुषको सेवा सत्कारमै लाग्नुपर्ने बाध्यात्मक संस्कारका कारण यो अन्तरविरोध पनि कम छैन ।

युनान र रोमको नाफामुखी व्यापारिक चिन्तन आज संसारभरि व्यक्तिगत नाफाका लागि जे गर्न पनि तयार छ । नाफामुखी व्यापारी चिन्तन् केही संगठित रुपमा सत्तामा हावी छ । सत्ताको दुरुपयोग गर्न सिपालु पनि छ । पछिल्लो समय बहुराष्ट्रिय कम्पनीमार्फत् प्राकृतिक कच्चा पदार्थमा एकाधिकार कायम गर्न विश्व बैंकजस्ताले लगानी केन्द्रित गर्दैछन् जसले विश्व बजारलार्इ आफ्नो अनुकूल सञ्चालन गर्न खोज्दैछ । यो घरानियाँ ग्याङ्ग चम्किला र सुकिला बस्तुको उत्पादनमा केन्द्रित छ । जसले हस्तकला, पुराना संस्कृतिलार्इ असभ्य संस्कारको आरोप लगाउँदैछ । उसलार्इ दुनियाँ जति धेरै संकटग्रस्त भएपनि लुटको नाफा गर्न सिपालु छ । जसलार्इ प्राकृतिक विनासमा कुनै चिन्ता छैन ऊ आफ्नो वासस्थान सुरक्षित र रमणीय स्थान नयाँ नयाँ ठाउँमा सार्न माहिर छ । जसलार्इ यो लुटको दुनियाँका शासकहरूले उच्च, कुलिन र भाग्यमानि जातको रुपमा पहिचान दिँदैछ जसलार्इ आफ्ना बिरोधी ९० प्रतिशतभन्दा बढी भएको पनि थाहा छ ।

संसारभरिका आदिवासीहरू आफ्नो उत्पत्ति कालदेखि आ-आफ्नै भूमिमा जे गरे त्यही गरे । तर व्यक्तिगत नाफाका लागि प्रकृतिलार्इ अस्वभाविक रुपमा नष्ट गर्ने गरेको छैन । खेती, पशुपालन, माछा मार्ने, सिकार गर्नेजस्ता पेशामा नै जीवनयापनले जहिले पनि श्रमले बाँच्न सिकाएको छ । तर बिस्तारै आधुनिकताको प्रभावले अछूत भने छैन । संसारका अपराधी शासकहरूलार्इ तवाहतवाह पार्ने स्पाटाकसको व्रि्रोह आदिवासीहरूलार्इ दासत्वबाट मुक्ति दिने आवाज थियो । तर आज पनि संसारभरिका गरिव र अवसरबाट वञ्चित आदिवासीहरू नै किन आत्माकेन्द्रित चिन्तकहरू भाडाका पाल्तु जीवसरह छन् । अरुका श्रममा पालिने कथित उच्च श्रेणीका परजीवीहरू संसारका मेहनतकस आदिवासीहरूलार्इ गँवारको संज्ञाले हेप्ने गरेका छन् ।

संसारभरि नै आदिवासीहरूको रितिरिवाज, चालचलन, चाडपर्वसँगै सामाजिक संस्कार आ-आफ्नै प्रकारका छन् । सामाजिक सद्भाव व्यवस्थित गर्न आ-आफ्नै प्रकारका सत्ताहरू पनि छन् । जेहोस् आदिवासीको सामाजिक मान्यता र संस्कार समाजवादी छ । सामुहिक बसाइँ, आफ्ना आदिम थात्थलोमै बस्ने यो आदिवासीहरूको मुख्य पहिचान हो । प्रकृति पुजा गर्ने र धर्म-संस्कार आफ्नै प्रकारको थियो । आफ्नै श्रममा बाँच्ने आदिवासीहरू बाँच्नकै लागि अरुमाथि दमन कहिल्यै गरेनन् । जहिले पनि शान्तिको पक्षधर हामी आदिवासीहरू आज आन्दोलन, क्रान्तिको कुरा गर्दैछौं । सायद, यतिवेलासम्म बुद्ध पनि बाँचेका भए यो अत्याचारको सामना मेसिन गनले गर्थे होलान् ।

(यो लेख संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष लक्ष्मण थारुले मञ्चको २१ औं पूर्ण बैठक, मिति २०६६ साउन २१-२३, मा बहस र छलफलका लागि प्रस्तुत गर्नुभएको विचारको पहिलो अंशमा आधारित सार संक्षेप रुप हो ।)