मङ्सिर ७ गते नयाँ संघीय पार्टीको घोषणा हुँदै
काठडमाडौं (नेवाः) मङ्सिर ६ । अन्ततः मङ्सिर ७ गते नेकपा एमाले परित्याग गरी बनेको अग्रगामी विचार समूहको अग्रसरतामा प्रस्तावित नयाँ वैकल्पिक संघीय समाजवादीको पार्टीको घोषणा हुने भएको छ ।
मङ्सिर ७ गते तदनुसार नोभेम्बर २२ का दिन काठमाडौंको खुशिबू टाउन प्लानिङ, पुष्पलाल पथ, विष्णुमति किनारस्थित् नेपाः बेन्किट पार्टी प्यालेशमा विहानको ११ बजेबाट कार्यक्रम सुरुभई नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
पार्टीका नेताहरू रकम चेम्जोङ र विजय सुब्बाका अनुसार मङ्सिर ७ गते पार्टीको तदर्थ समितिका साथ नेपाली कांग्रस परित्याग गर्ने विद्रोही समूह र बुद्धिजीवीसमेतको सहमतिमा तयार गरिएको पार्टीको प्रस्तावित विधान र घोषणा–पत्र लगायतका दस्तावेजहरू थप परामर्श, छलफल र बहसका लागि सार्वजनिक गरिनेछ । वहाँहरूका अनुसार, नयाँ पार्टीको केन्द्रीय कार्य समितिको गठन भने आगामी ३ महिनाभित्रै सबै पक्ष र क्षेत्रका राजनीतिक शक्तिसँग सहकार्य गरी गरिने राष्ट्रिय महाधिवेशनले गर्नेछ ।
नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाका अनुसार मङ्सित ७ गते घोषित उक्त नयाँ पार्टीको तदर्थ समितिले जिल्ला, गाउँ, वडा तह र विदेशमा पार्टी सङ्गठनहरू निर्माण गर्नेछ । साथै, विद्यार्थी, युवा, महिला, शिक्षक, निजामति कर्मचारी, स्वयम्सेवक, भूपू सैनिक र मजदुर लगायतका भ्रातृ सङ्गठनहरू पनि निर्माण गर्नेछ । यसरी पार्टीका अधिकांश सङ्गठनहरू गठन भइसकेपछि स्वदेश, विदेश, केन्द्रदेखि वडातहसम्मका पार्टी सङ्गठनहरूको प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय महाधिवेशनको आयोजना गरेर पार्टी केन्द्रीय समितिको गठन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा नयाँ पार्टी निर्माण कार्यमा सक्रिय तथा पार्टीमा सहभागी हुन इच्छुक तमाम् शुभेच्छुक न्यायपे्रमी जनसमुदायलाई र सञ्चारकर्मीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
कार्यक्रम स्थलनमा पुग्न सहजताको लागि क्षेत्रपाटीबाट स्वयम्भु जाँदा विष्णुमति पुल पुग्ने र पुलदेखि दक्षिणतर्फ विष्णुमतिको किनारमा आउने पथप्रदर्शन गरिएको छ । साथै, बाटो देखाउन विष्णुमतिको पुल र बाटोमा स्वयमसेवकहरू खटाइएको हुनेसमेत जानकारी गराइएको छ ।
यस नयाँ वैकल्पिक संघीय समाजवादी पार्टीको घोषणा कार्यक्रमको पूरै अवधिभरको गतिविधिलाई वेबसाइट नेपालीसमाचार http://www.nepaliSamachar.com तथा फेसबुक पेज http://www.facebook.com/nepalisamachar बाट प्रत्यक्ष अनलाइन भिडियो प्रशारण हुनेछ । साथै, यही वेबसाइट र फेसबुक पेजमार्फत कार्यक्रमको समापन पश्चात पनि सो कार्यक्रमको प्रत्यक्ष रेकर्डेड प्रशारण सुन्न र हेर्न सकिनेछ ।