लिम्बुवानको आठराईमा पुस ७ गते विशाल लिम्बुवानी आमसभा हुँदै
आठराई (तेह्रथुम) लिम्बुवान, ३ पुस २०६९ ।
”सम्पूर्ण संघीयवादीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘संघीयता, स्वायत्तता, समावेशी अभियान एवम् दिगो शान्ति, संवृद्धि अरुणपूर्व लिम्बुवान” का लागि यही पुस ७ गते लिम्बुवानको आठराई थुमस्थित सङ्क्रान्ति बजारमा लिम्बुवानी साङ्गीतिक कार्यक्रमसहितको विशाल लिम्बुवानी आमसभा हुने भएको छ ।

”यही २०६९ पौस ७ गते आठर्राई सङ्क्रान्ति बजार जाऔं, बृहत् लिम्बुवानी राजनीतिक आमसभा सफल पारौं” भन्दै आयोजक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, आठराई थुमले अरुणपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनार्थ साङ्गीतिक कार्यक्रम सहितको विशाल लिम्बुवानी आमसभमा सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्य तथा संघीय मञ्चका महासचिव खगेन्द्र माखिमको विशेष आतिथ्य एवम् लिम्बुवानका उपाध्यक्षहरु ज्ञानबहादुर गुरुङ, ज्ञानु इम्बुङ, लिम्बुवानका महासिचव फक्ताङलुङ योङहाङ साथै केन्द्रीय सदस्यहरु शिवकुमार पाङगेनहाङ र विष्णु यक्सो लिम्बू लगायतको आतिथ्यमा सो कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

कार्यक्रममा लिम्बुवानी राष्ट्रिय कलाकारहरु मनु नेम्बाङ, खगेन्द्र यक्सो, मविन्द्र राई र मोहन मादेन लगायतका साथमा बेजोड मनोरञ्जनात्मक लिम्बुवानी साँङ्गीतिक एवम् साँस्कृतिक कार्यक्रमको समेत प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
लिम्बुवानकै इतिहासमा प्रथम पटक आठराईमा आयोजना हुने यस ऐतिहासिक लिम्बुवानी आमसभाले नेपालकै उर्वर राजनीतिक भूमि आठराईलाई संघीयता, पहिचान र लिम्बुवानको पक्षमा सशक्तरुपमा व्युँझाई दिने अपेक्षा गरिएको छ ।
आठराईमा हुने उक्त लिम्बुवानी आमसभामा तेह्रथुमका सबै क्षेत्रका साथै छिमेकी जिल्लाहरु संखुवासभा, ताप्लिजोङ र पान्थरबाट समेत लिम्बुवान नेता तथा कार्यकर्ताहरूको जनसहभागिता हुने बताइएको छ ।

यस कार्यक्रमको लागि विशेष आर्थिक सहयोग मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङले गरेको छ भने अन्य व्यवस्थापकीय सहयोग ब्रुनाई, यूके, यू एस ए, अष्ट्रेलिया र खाडीमुलुक लगायतका प्रवाशमा रहनुहुने शुभेच्छुक संघीयता र लिम्बुवानप्रेमी लिम्बुवानवासीहरुबाट हुने समेत जानकारीमा आएको छ ।
![Flag of Federal Democratic National Forum [FDNF]](http://www.sanghiya.com/wp-content/uploads/2012/12/Flag-of-Federal-Democratic-National-Forum-FDNF-300x200.jpg)
![Flag of Federal Limbwuan State Council [FLSC]](http://www.sanghiya.com/wp-content/uploads/2012/12/Flag-of-Federal-Limbwuan-State-Council-FLSC-300x200.jpg)
साथै, यस आठराई थुमको सङ्क्रान्तिमा पुस ७ गते डिसेम्बर २२ का दिन दिनको ११ बजेबाट हुने आसभामा व्यापक जनसहभागीता जुटाउनको लागि सक्दो सर-सहयोग गर्न देश-विदेशमा रहेका लिम्बुवानप्रेमी लिम्बुवानसीहरुमा हार्दिक आह्वान गरिएको छ ।
यस कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो मेन्छ्यायेम १०२.६ मेगाहर्ज, तेह्रथुम; रेडियो तमोर १०२ मेगाहर्ज, ताप्लिजोङ र वेबसाइट www.nepalisamachar.com, www.sanghiya.com र फेसबुक पेज www.facebook.com/limbuwanstate वा Limbuwan Nepal लिगायतबाट समेत हुने जानकारी गराइएको छ ।
