सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन हुनुपर्ने – पूर्व प्रम थापा
सन्तोष रुचाल,
धनकुटा, २७ पौष, पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने वताउँनु भयो ।
गृह जिल्ला धनकुटा आउनु भएका पूर्व प्रधानमन्त्री थापाले आज धनकुटाको डाडागाँउमा आयोजित सभालाई सम्वोधन गर्दै सो कुरा बताउँनु भएको हो । पूर्व प्रधानमन्त्री थापाले ठूला ३ दलका आ–आफ्नै हठका कारण मुलुक दुर्घटनातर्फ गएको आरोप लगाउँनु हुदै सम्पूर्ण दलहरु सहमतिमा आएर मुलुकलाई निकास दिन समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय सरकारको गठन गरी निर्वाचनबाट मात्र मुुलुकलाई निकास दिन सकिने वताउँदै पूर्व प्रधानमन्त्री थापाले निर्वाचनका लागी तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । मुलुकमा अहिले दण्डहिनता बढेको प्रति चिन्ता व्यक्त गर्नुहुदै उहाँले डा.बाबुराम भट्टाराईको नेतृत्वको सरकार पुर्णरुपमा असफल भईसकेको बताउँनुभयो ।
कार्यक्रममा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी धनकुटाका अध्यक्ष कुमार थापा, क्षेत्रिय अध्यक्ष केशव काफ्ले, नगर अध्यक्ष यज्ञवहादुर कार्की लगायतले राजनितिक दलहरुप्रति तत्काल सहमती नभए मुलुक ठूलो दुर्घट्नामा फस्ने चेतावनी दिएका छन् ।
धनकुटा, २७ पौष, दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले धनकुटामा आज विरोध प्रदर्शन र सभाको आयोजना गरेको छ ।
धनकुटाको स्थानिय मदनचौकबाट शुरु भएको पत्रकारहरुको विरोध ¥याली हुलाकटोल, भीमनारायण चौक, तल्लोटुडिखेल हुदै मदनचौकमा नै आएर कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्नुहुदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिद्धराज राईले पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारवाही नभएसम्म पत्रकारहरुको आन्दोलन जारि रहने बताउँनुभयो । उहाँले पत्रकार डेकेन्द्र थापाको हत्यारालाई संरक्षण दिने गरि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध गर्दै प्रधानमन्त्रीको राजीनामाको माग समेत गर्नुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राईले हत्याराहरुलाई बर्तमान सरकारले उन्मुक्ति दिएर मुलुकमा दण्डहिनता बढेको वताउँनु भयो । नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव विजयसन्तोषी राईले पत्रकार थापाको हत्यारालाई उन्मुक्ति दिने निर्देशन दिएर प्रधानमन्त्री डा.बाबुराम भट्टाराईले कानुनको उपहास गरेको आरोप लगाउँनुभयो ।
विरोध सभामा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष मोहन वान्तवा, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरे, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्ेल, क्रान्तिकारी पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता वराईली, नेपाल रेडक्रस सोसाईटी धनकुटाका अध्यक्ष नरेन्द्र पोखरेल, आदिवासी जनजाती पत्रकार संघका सचिव सन्तवीर लामाले पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कडा कारवाही गर्न माग गरेका थिए । नेपाल समाचार पत्र दैनिक र रेडियो नेपालका दैलेख सम्बाददाता डेकेन्द्र थापालाई तत्कालिन विद्रोही माओवादीहरुले घरबाट अपहरण गरि विनाकारण हत्या गरेका थिए ।

