हत्यादेखि हत्कडीसम्म
कलेन्द्र सेजुवाल -सुर्खेत- २०६१ असार पहिलो साता माओवादी विद्रोहीले दैलेख बजारमा आउने खानेपानीको पाइप काटेर अवरोध पुर्या-ए। सदरमुकाममा हाहाकार मच्चिएपछि स्थानीयले अगुवा पत्रकारलाई माओवादीसँग मध्यस्थता गरेर पानी आपूर्ति गर्न अनुरोध गरे। त्यसकै लागि असार ९ गते डेकेन्द्रराज थापासहितका केही पत्रकार ‘माओवादीसँग वार्ता र रिपोर्टिङ गर्ने’ भन्दै सदरमुकाम नजिकैको तोली गाविस पुगे। सकारात्मक वार्तापछि काटिएको पाइप जोडिने आशासहित घर फर्किने क्रममा असार १२ गते तिनै माओवादीले ‘तपाईंसँग केही बुझ्नु छ’ भन्दै डेकेन्द्रलाई तामेखोलाबाट गाउँ फर्काए।
घरमा श्रीमान्को बाटो हेरेर बसेकी लक्ष्मीको मनमा चिसो पस्यो। सँगै गाउँ गएका पत्रकारले साथीलाई माओवादीको जिम्मा छोडेर फर्किएपछि उनी सशंकित भइन्। घर आएका एक पत्रकारले ‘सोधपुछको लागि लिएका हुन्, फर्काइहाल्छन्’ भनेर सान्त्वना दिए। हत्या र अपहरणको जगजगी बढिरहेको बेला श्रीमान् एक्लै माओवादीसँग छोडिएको घटनाले उनको मनमा डर ल्यायो। ‘मैले मेरा श्रीमान् कहाँ छन् भन्दै खोजेर घर फर्काउन माग गरेँ,’ लक्ष्मीले भनिन्, ‘उतिबेला मेरो आवाजलाई सबैले सामान्य रुपमा लिए।’
माओवादीले भने गाउँमा डेकेन्द्रलाई विभिन्न आरोप लगाएर केरकार गर्न थाले। गाउँगाउँ सार्दै चर्को यातनासहित ‘बयान’ हुँदै थियो। उनीमाथि राजाको कार्यक्रममा उद्घोषण गरेको, खानेपानी आयोजनाको रकम हिनामिना गरेको, माओवादीविरुद्ध सुराकी गरेकोलगायत आरोप लगाइए। डेकेन्द्रले ‘नखाएको बिख लाग्दैन’ भन्दै आरोप खण्डन गरिरहे। भवानी, रानीवन, बालुवाटारलगायत गाउँ घुमाउँदै एक महिनापछि द्वारी गाविस पुर्यााइयो। आखिर अपहरणकारीको उद्देश्य उनको ज्यान लिनु नै थियो। लगाइएका आरोप र अपहरणको औचित्य पुष्टि नहुने देखिएपछि उनीमाथि यातनाको त्रु्करता बढाइयो। द्वारीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खुट्टा बाँधेर, उल्टो झुण्ड्याई निर्मम यातना दिइयो। उनी बेहोस भए। त्यसपछि बोकेर स्थानीय लक्षीराम घर्तिमगरको घरमा पुर्या इयो। ‘यातनाले हातखुट्टा भाँचेर बेहोस भएपछि मेरो घरमा लग्यौँ,’ घटनाको आठ वर्षपछि लक्षीरामले प्रहरीसँग खुलासा गरे, ‘डेकेन्द्रले ‘पानी’ भनेपछि मैले मुखमा पानी हालिदिएको थिएँ, तर अरु दुईजना साथीले नाडी छामेर मर्यो भनेपछि बारीमा लगेर गाड्यौँ।’
पर्खाइका १४६० दिन
‘राम्रो मान्छे त माओवादीलाई पनि चाहिन्छ, कहीँ लुकाएर राखेका होलान्, एक दिन फर्काइहाल्छन्,’ आफन्तले दिने सान्त्वनाको यही बोलीमा लक्ष्मी लामो समयसम्म श्रीमान् जीवितै छन् भन्ने विश्वासमा बसिन्। अपहरणदेखि शव उत्खनन्सम्मका १४६० दिन उनले श्रीमान्को पर्खाइमै बिताइन्। माओवादीले पर्चा छरेर सफाया गरेको स्वीकार्दासम्म पनि उनको मनमा एक दिन श्रीमान् घर फर्किन्छन् भन्ने थियो। ‘साँझ पर्योा कि अब उहाँ आउनुहुन्छ भन्ने लागिरहन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘आखिर उहाँले ज्यानै जाने गरी कसैको केही बिगार पनि त गर्नु भएको थिएन।’
पत्रकार महासंघको पहलमा राष्ट्रिय मानव अधिकार आयोगले २०६५ असार ११ गते शव उत्खनन् गरेपछि भने लक्ष्मीको मनमा जीवित रहेको विश्वासको त्यान्द्रो चुँडियो। ‘शव उत्खनन् गरेर वैज्ञानिक पुष्टि भएपछिमात्र मैले मेरो श्रीमान्को मृत्यु भएको विश्वास गरेँ,’ उनले भनिन्, ‘नत्र त एक दिन जहाँबाट भए पनि फर्किनु हुन्छ भन्ने लागिरहन्थ्यो।’
शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले थापाको हत्या नभई उच्च रक्तचापका कारण मृत्यु भएको बोली फेरेको थियो। शव उत्खनन्पछि भने माओवादीको बोली मिथ्या सावित भयो। करिब २७ इन्च गहिरो खाडलमा भेटिएको कंकालमा सर्ट, हाफपाइन्ट र अन्डरवियर थिए। बायाँ खुट्टा दुई टुक्रा भएर भाँचिएको र खुट्टा खापेर गाडेको पाइएको थियो। खप्परको संरचना हेर्दा मृत्यु हुँदा थापाको मुख खुल्ला रहेको बुझियो। दाँया हातको कुइनो पनि फुटेको पाइयो। नेपाल पत्रकार महासंघका तत्कालीन मध्यपश्चिम सहसंयोजक जनक नेपालले केन्द्रीय कार्यालयमा बुझाएको रिपोर्टमा डेकेन्द्रको मृत्यु उच्च रक्तचापको कारण नभई चरम यातनाले भएको उल्लेख छ। शव उत्खनन् आयोगका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीको नेतृत्वमा भएको थियो।
न्यायको लडाइँ
डेकेन्द्रका परिवारले सुरुमा सांस्कृतिक अधिकार खौज्दै शव उत्खनन्को माग गरेका थिए। उत्खनन्पछि भने पीडित परिवार न्यायको लडाइँमा होमियो। चरम यातनासहित हत्या गरिएको पुष्टि भएपछि चौतर्पि्क रुपमा हत्यारामाथि कारबाहीको आवाज बुलन्द भयो। पत्रकार महासंघले दोषिलाई कानुनी कठघरामा ल्याउन श्रीमती लक्ष्मीलाई प्रेरित गर्योय। अन्ततः उनले २०६५ असोज ६ गते दैलेख जिल्ला प्रहरी कार्यालयमा लक्षीराम घर्तिमगर, बमबहादुर खड्का (कट्टी), बमबहादुर खड्का (छिउडी पुसाकोट) र केशव खड्काविरुद्ध किटानी जाहेरी दिइन्।
किटानी जाहेरीपछि प्रहरीले उनीहरुलाई खोज्नु त कता हो कता आफ्नै कार्यालय आसपास आउँदासमेत समात्ने साहस गरेन। पत्रकारहरुले आरोपित पक्राउको लागि थुप्रै चरणमा आन्दोलन गरे। प्रहरी-प्रशासनमा दवाव दिए। जिल्लामा पुग्ने प्रहरीका हरेक उच्च अधिकृतलाई उनीहरुको एउटै माग हुन्थ्यो- डेकेन्द्रका ‘हत्यारा’लाई पक्राउ गरी कानुनी कठघरामा ल्याइयोस्। तर, प्रहरीको ‘इच्छा’ नहुँदासम्म उनीहरु सधैँ खुलेआम हिँडिरहे। ‘हामीले आफूलाई जोखिममा पारेर सहयो गर्छौँ भन्दा पनि प्रहरीले यो केसमा हात हाल्ने हिम्मत गरेन,’ शव उत्खनन्मा महत्वपूर्ण भूमिका खेलेका महासंघ दैलेखका तत्कालीन अध्यक्ष विष्णु शर्मा भन्छन्, ‘हामीहरु भने न्यायको लडाइँ जसरी पनि जित्ने विश्वासमा अडिग रह्यौँ।’
जति दवाव दिँदासमेत प्रहरी मौन बसेपछि एड्भोकेसी फोरमको कानुनी सहायतामा लक्ष्मीले मंसिर २७ गते पुनरावेदन अदालत सुर्खेतमा दैलेख प्रहरी र जिल्ला न्यायाधिवक्ताविरुद्ध रिट दायर गरिन्। किटानी जाहेरीमा उल्लेखित अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गर्दै परेको रिटमा न्यायाधीश रत्नबहादुर बागचन्दले भोलिपल्टै परामादेश जारी गरे। परामादेशमा अभियुक्तलाई पक्राउ नगर्नुको कारण १५ दिनभित्र पेश गर्न भनिएको छ।
माओवादी : हत्या, माफी र विरोध
डेकेन्द्र थापा हत्याकाण्डमा माओवादीले अनेक रुप देखायो। हत्याको तीन दिनपछि नै उसले हस्तलिखित पर्चा छरेर ‘सफाया’ गरेको सार्वजनिक गर्योा। पार्टीका तत्कालीन दैलेख सेक्रेटरी रणजीतले ‘डेकेन्द्रराज थापालाई कारबाही किन?’ शीर्षकमा बिभिन्न १० बुँदे आरोपपत्र सार्वजनिक गरे। राजाको सिआइडी बनेर माओवादीविरुद्ध सुराकी गरेको, जनसत्ताको अनुमतिविना लुकिछिपी आधार इलाका प्रवेश गरेको, खानेपानी आयोजनामा आर्थिक हिनामिना गरेको, नक्कली माओवादी बनी चन्दा उठाएको, माओावादी जनसभा बिथोल्न खोजेकोलगायत आरोप उक्त पर्चामा उल्लेख छन्। पर्चामा हस्ताक्षर गर्ने रणजीतको भने द्वन्द्वको क्रममा मृत्यु भइसकेको छ।
प्रहरीले समेत हालसम्मको अनुसन्धानबाट पार्टीको निर्देशनमै हत्या भएको जनाएको छ। प्रहरी हिरासतमा रहेका अभियुक्त लक्षिराम घर्तिमगरका अनुसार हत्याको अघिल्लो दिन घटनास्थल द्धारीमा माओवादीको जिल्ला बैठक बसेको थियो। उक्त बैठकमा केन्द्रीय स्तरका केही नेता पनि उपस्थित थिए। उनको बयानको आधारमा दैलेख प्रहरी माओवादीको तत्कालीन जिल्ला नेतृत्वको निर्देशनमा डेकेन्द्रको हत्या भएको निश्कर्षमा पुगेको छ।
माओवादीका तत्कालीन पश्चिम कमाण्ड इन्चार्ज पोष्टबहादुर बोगटीले भने घटनाको केही समयपछि विज्ञप्तिमार्फत थापाको हत्या दुःखद भएको भन्दै माफी मागे। विज्ञप्तिमा पार्टी कार्यकर्ताबाट गल्ति भएको स्वीकारिएको छ। शान्ति प्रक्रियापछि भने माओवादीले उनको हत्या नभई उच्च रक्तचापले मृत्यु भएको भ्रम फिजायो। यद्यपि, शव उत्खनन्पछि संकलित प्रमाणले उसको दावीलाई मिथ्या सावित गरिदिए। उत्खनन्मा गएको विशेषज्ञ टोलीले कुटपिट र अङ्गभङ्गपछि उनको मृत्यु भएको बतायो।
प्रहरी नियन्त्रणमा रहेका अभियुक्तले ज्यूँदै गाडेको बयान दिँदासमेत पछिल्लो समय माओवादी र उसको दवावमा प्रधानमन्त्रीले पक्राउको विरोध गरे। शत्रुवत सम्वन्ध भएका एकीकृत माओवादी र नेकपा-माओवादी गला जोडेर प्रहरी र पत्रकारको विरोधमा उत्रिए। प्रधानमन्त्री बाबुराम भट्टराईले समेत आफ्ना कार्यकर्ता बचाउन ‘अख्तियार दुरुपयोग’ गर्दै कानुनी शासन र प्रधानमन्त्री पदको धज्जी उडाए।
यसरी पक्राउ परे अभियुक्त
पुनरावेदन अदालतको परमादेशपछि भेरी अञ्चल प्रहरीप्रमुख एसएसपी माधवप्रसाद नेपाल नियमित अनुगमनको क्रममा दैलेख पुगे। उनी आएको सुइँको पाउने बित्तिकै स्थानीय पत्रकारले डेकेन्द्रका हत्यारालाई पक्राउको निर्देशन दिन पुनः माग गरे। पत्रकारकै बीच एसएसपी नेपालले जिल्ला प्रहरीप्रमुख डिएसपी शारदाप्रसाद चौधरीलाई अभियुक्त पक्राउ गर्न आदेश दिए। ‘अदालती आदेश र एसएसपीको दैलेख भ्रमण संयोग नै भए पनि यो न्यायको लडाइँमा कोशढुंगा सावित भयो,’ पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्कर थापाले भने, ‘त्यही आदेशको आधारमा दैलेख प्रहरीले अभियुक्तलाई समात्ने साहस बटुल्यो र सफलतता पनि पायो।’
अनुसन्धानमा दक्ष र कानून पालनामा निडर स्वभावका प्रहरी इन्स्पेक्टर विनोद शर्मालाई अनुसन्धान अधिकृत तोकिनु न्यायको लडाइँमा अर्को विवेकपूर्ण निर्णय थियो। ‘हाकिम’को आदेश पाउने बित्तिकै शर्मा आफ्नो टोलीसहित भोलिपल्ट गाउँ पसे। द्धारी पुग्दा किटानी जाहेरीमा नाम दिइएका लक्षिराम घाँस काट्न जङ्गल गएका थिए। प्रहरीटोलीले त्यहीँ गएर उनलाई पक्राउ गर्योर। ‘उनीसँगको प्रारम्भिक बयानपछि अनुसन्धानको दायरा अझ फराकिलो भयो,’ इन्स्पेक्टर शर्माले भने, ‘किटानी जाहेरीमा उल्लेखितभन्दा बाहिरका मान्छेहरु पनि घटनामा संलग्न भएको देखिएपछि अन्यलाई पनि पक्राउ गर्यौँि।’
प्रहरीले लक्षिरामको बयानको आधारमा भोलिपल्ट द्धारीकै हरिलाल पुन, बालुवाटारका बीरबहादुर केसी र निरक घर्तिमगर तथा रानीबनका जयबहादुर शाहीलाई पक्राउ गर्योा। यद्यपि, यो कदम दैलेख प्रहरीको लागि निकै महँगो सावित भयो। स्थानीय नेता-कार्यकर्ताको दवाव त सामान्य भइहाल्यो, प्रधानमन्त्री बाबुराम भट्टराईको समेत अभियुक्तलाई छोड्न निर्देशन आयो। जागिर खाइदिनेसम्मको धम्की आएपछि जिल्ला न्यायधिवक्ताको कार्यालयमा लिइने बयान दुई दिनसम्म रोकियो। जिल्ला न्यायधिवक्ता डम्बर काफ्लेलाईसमेत त्यस्तै धम्की थियो। अन्ततः नागरिक समाज र पत्रकारको विरोधसामु प्रधानमन्त्रीको आदेश फिक्का सावित भयो। प्रहरीले अभियुक्तलाई हत्कडी लगाएर पुनः बयानको लागि जिल्ला न्यायधिवक्तासमक्ष पुर्या यो।
‘सहिदको सम्मान दिइयोस्’
न्यायको लागि लामो लडाइँ लडेकी डेकेन्द्रपत्नी लक्ष्मी अभियुक्त पक्राउपछि घटनाको निश्पक्ष छानबिन हुनेमा आशावादी छिन्। श्रीमान्का हत्यारा जिन्दगीभर जेलमा सडुन् भन्ने उनको चाहना छैन। तर, कसरी हत्या भयो भन्ने जान्न उनको मन आतुर छ। ‘हत्या आरोपमा पक्राउ परेका मान्छेका पनि बालबच्चा र श्रीमती होलान्,’ नागरिकसँग उनले भनिन्, ‘उनीहरुले वास्तविकता स्वीकारेर माफी माग्छन् भने सधैँ जेलमा सडाएर के पाउनु छ र?’ कानुनी दायरामा परेका व्यक्तिहरुलाई अनुसन्धान गर्नमा लगाइएको अवरोधप्रति उनले दुःख व्यक्त गरिन्।
किटानी जाहेरी दिए पनि उनले अभियुक्तलाई पहिलोपटक आइतबार बयानको लागि लैजाँदै गर्दामात्र देखिन्। अनुसन्धानको लागि हिरासत परेका उनीहरुलाई देख्दा उनको मनमा रिस हैन दया जागेर आयो। ‘हत्या जसले गरेका भए पनि त्यो कुरा अदालतले भन्ला,’ उनले भनिन्, ‘तर कसको आदेश र कुन स्वार्थमा अपहरण गरेर हत्या गरियो राम्ररी छानबिन भएर बाहिर आइदिए मेरो मनले शान्ति पाउने थियो।’
तीन बालबच्चाकी आमा लक्ष्मीको चाहना डेकेन्द्रलाई राज्यले सहिद घोषणा गरोस् भन्ने पनि छ। पत्रकारिता र समाजसेवा गर्दागर्दै कसैको षड्यन्त्रमा हत्या गरिएकोले सहिदको सम्मान दिनुपर्ने उनको भनाइ छ। ‘पाइप काटेर बजारमा पानीको हाहाकार भएपछि त्यसलाई जोड्न खोज्नु के मेरो श्रीमान्को गल्ति थियो?’ उनले भनिन्, ‘राम्रो कामको लागि लड्न खोज्दा मृत्यु भएकाले सहिद घोषणा गरे उहाँको आत्माले न्याय पाउनेछ।’ राज्यले बालबच्चाको उज्ज्वल भविष्यको ग्यारेन्टी गर्नुपर्ने उनको माग छ।
डेकेन्द्र थापा प्रकरण
• २०६१ असार १२ गते अपहरण
• २०६१ साउन २७ गते हत्या
• २०६५ असार ११ गते शव उत्खनन्
• २०६५ असोज ६ गते किटानी जाहेरी
• २०६९ मंसिर २७ गते पुनरावेदनमा रिट
• २०६९ पुस २० गते आरोपितमध्ये एक पक्राउ
• उनको बयानका आधारमा अन्य चार पक्राउ
– Source: www.nagariknews.com
