सुरक्षित निकासका लागि पुन:स्थापना : राई
-सचित राई
काठमाडौं, २७ पुस । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले वर्तमान राजनीतिक गतिरोधबाट मुलुकलाई संवैधानिक निकास दिएर सुरक्षित तवरले
अगाडि लैजान संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताएका छन् । सरकार छिटो फेर्न, अन्तरिम संविधान आवश्यकताअनुसार संशोधन गर्न र निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरी चुनाव गर्न एउटै संवैधानिक कडीका रुपमा संविधानसभा पुन:स्थापना रहेको अध्यक्ष राईको भनाइ छ ।
पार्टीले राजधानीमा शुक्रबार गरेको ‘पत्रकारसँगको परिचयात्मक’ कार्यक्रममा अध्यक्ष राईले राजनीतिक सहमतिका नाममा पटकपटक संविधान मिचेर अघि बढ्नुभन्दा एकपटक सहमति गरी विधायिकी प्रयोजनका लागि पुन:स्थापनामा गए मुलुकले सहज निकास पाउने बताए । ‘संविधानसभा पुन:स्थापना गरी संविधान जारी गर्नु बेस हो तर त्यो हुादैन भने विधायिकी काम गर्ने गरी मात्र भए पनि चुनावको बाटो फुकाउन पुन:स्थापना गरौं,’ उनले भने ।
सात सालदेखि भएको संघर्ष र बलिदानको प्रतिफलस्वरुप अन्तरिम संविधान, गणतन्त्रको प्रतिक राष्ट्रपति र सरकार रहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिलाई विवादमा ल्याउने, सरकार भंग गरिदिने, अन्तरिम संविधान मिच्ने कदमबाट यी तीनै चीज ध्वस्त हुने काम गर्यौं भने निकास दिने होइन राजनीतिलाई खाल्डोमा हाल्ने काम गर्छौं ।’
सत्ता पक्षले अघि सारेका थरीथरी विकल्पले अन्योल नै बढाउने स्थिति रहेको टिप्पणी गर्दै उनले प्रतिपक्षले निकासका लागि विकल्प दिन नसकेको आरोप लगाए । ‘राष्ट्रिय सहमतिको सरकार बन्नुपर्यो, बाबुरामजी हट्नुपर्यो’ भन्ने एकमात्र अडान प्रतिपक्षीको रहेको उनले बताए । ‘बाबुरामजी कुन प्रयोजनका निम्ति हट्ने ? अर्को प्रधानमन्त्री कुन प्रयोजनका निम्ति आउने ? नया प्रधानमन्त्रीले कुन विधिबाट समाधान दिन्छ त्यसबारे उहाँहरु केही बोल्नुहुन्न यो किसिमले अवरोध जारी छ,’ उनले भने ।
तीन दल र मधेसी मोर्चा आफूहरुबीचको सहमतिमै आधारमा मुलुक अघि बढ्नुपर्छ भन्ने मान्यता रहेको तर्क गर्दै उनले मुलुक सञ्चालनका लागि संविधान चाहिन्छ या चाहिदैन भनी प्रश्नसमेत गरे । ‘बाबुरामलाई कसरी हटाउने ? नया प्रधानमन्त्री संविधानको कुन धारा प्रयोग गरेर ल्याउने ?,’ उनले प्रश्न गरे । तर, उनले आफूहरु वर्तमान प्रधानमन्त्रीको बचाउको पक्षमा नरहेको स्पष्ट पार्दै राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने चाहना रहेको बताए । अहिले नेताहरु भावनामा बहकिने या त संविधानलाई एकातिर पन्छाएर हामीले सहमति गरे भइहाल्छ भन्ने खालको मनपरीतन्त्रको पक्षमा उभिएजस्तो देखिएको उनले टिप्पणी गरे ।
प्रधानमन्त्रीलाई हटाउनेदेखि चुनावका लागि राजनीतिक सहमति गर्दा संविधान मिचिने धारणा व्यक्त गर्दै उनले यी सबै असंवैधानिक काम गर्ने प्रक्रियामा राष्ट्रपति पनि मुछिने र ६० वर्षको चिनो ध्वस्त हुने बताए । त्यसबाट जोगिन पुन:स्थापना आवश्यक रहेको दोहोर्याउदै उनले भने, ‘त्यस (पुन:स्थापना)पछि सबै कुरा संवैधानिक मार्गमा डोरिन्छ । न राष्ट्रपति विवादमा आउनुपर्ने हुन्छ न त बाबुरामजीलाई सडकबाट हटाउछु भनेर आन्दोलनमा जानुपर्ने हुन्छ । पहिलो कुरा त पुन:स्थापना हुनासाथ बाबुरामजीले राजीनामा दिनुहुन्छ । मोरल डाउन हुन्छ । यति छोटो र सजिलो बाटो हुदाहुदै तपाई बाबुरामजीलाई सडकबाट हटाउछु भन्नुहुन्छ ?’
‘कांग्रेस–एमाले फुटेका छैनन्’
एमाले फुटेर संघीय समाजवादी पार्टी गठन नभएको स्पष्ट पार्दै अध्यक्ष राईले भने, ‘एमाले फुटेको छैन न कांग्रेस फुटेको छ माओवादी फुटेको हो ।’ आफूहरुले पार्टी परित्याग गरेको उल्लेख गर्दै उनले विभिन्न समूहसग एकताको प्रयासमा रहेको जानकारी दिए । सत्तारुढ र प्रतिपक्षको मोर्चामा भने सामेल नहुने उनको भनाइ थियो । उनले पार्टी गठनका क्रममा ‘मिडिया कभरेज’प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
– source:www.souryadaily.com
