अब पहिचान र अस्तित्ववादी गीत लिएर आउनेछु
– भिम मगर, कलाकार

झापाको सतासी, दुधेमा आजभन्दा ३५ वर्षअघि बुवा टिकाबहादुर मगर र आमा स्व. मीनाकुमारी मगरको कोखबाट एक सन्तानको जन्म भयो । झापामा जन्मेर हुर्के पनि गीत–सङ्गीतको दुनियाँमा सङ्घर्ष र कर्म भने काठमाडौंमा गर्दै आइरहेका एक कलाकार भिम मगरले पछिल्लो पटक ‘भूल भए माफ गरिदेऊ’ भन्ने तेस्रो गीति एल्वम लिएर आएका छन् । ‘मैना चरीलाई’ लोक–आधुनिक तथा दोहोरी गीति एल्वमबाट आफूलाई स्थापित गराइसकेका भिमले भारतको इलाहावादबाट सङ्गीत शीक्षममा स्नातकोत्तर एम. ए. गरेका छन् । स्कुल पढ्दा र गाउँमा सानोमा साथीहरुलाई रहरैरहरमा गीत सुनाउने गर्दागर्दै गीत–सङ्गीतलाई करियरको रुपमा लिन थालेका कलाकार भिम मगरसँग संघीय मासिकका लागि लाहाङ चेम्जोङले गर्नुभएको छोटो संघीय कलाकर्मको कुराकानी प्रस्तुत छ ।
——————–

अहिले के गर्दै हुनुहन्छ ?

मेरो आफ्नै ‘सर्जक म्युजिक प्रा. लि.’ छ । मेरो तेस्रो एल्वम ‘भूल भए माफ गरी देऊ’ को भिज्युअल गरिसकेर एल्वम र कम्पनीको बजार व्यवस्थापनमा गर्दैछु ।
तपाइँको ‘भूल भए माफ गरी देऊ’ कस्तो एल्वम हो ?
आधुनिक, अलिअलि लोक, रक र क्लासिकल गीतहरुको मिश्रण भएको एल्वम हो ।
कति भयो साङ्गीतिक दुनियाँमा प्रवेश गर्नुभएको ?
१९, २० वर्ष जति भयो ।
साङ्गीतिक हिसाबले कतिको व्यस्त हुनुहुन्छ ?
लोकप्रियताको हिसावले त्यति व्यस्त नभएपनि सृजना र साङ्गीतिक गुरुको हिसाबले व्यस्त नै छु ।
खासमा, गीत केको लागि गाउने हो ?
गीत राज्य र राष्ट्रको लागि गाउनुपर्छ ।
‘सातै मूल फर्काएर… सान्नानी’ बोलको गीत कुन विद्याको गीत हो ?
लोक र रक गीतको संयोजन हो । यो लोकगीत संस्कृति र रकगीत युवा जगतलाई जोड्ने कन्सेप्टमा तयार भएको गीत हो ।
तपाईं सङ्गीतकार कि गायक ?
‘सङ्गीतकार, गीतकार पनि र अलि बढीचाहिँ गायक नै हुँ’ भन्न रुचाउँछु ।
तपाईं आफूलाई कस्तो गायक हो, लाग्छ ?
सङ्गीत गुरुको नाताले र लोकगीतबाट यो क्षेत्रमा प्रवेश गरेर दोहोरी गीतहुँदै आधुनिक गीत गाउने भएँ । अनि, क्लासिकल गायकहरुसँग सङ्गत गरी जमानाले पप गाउन सिकायो । यसो हुनाले म एक भर्सटायल गायक हुँ ।
त्यति धेरै त चल्नुभएको छैन नि ?
साधनामा बढी समय बिताइरहेको छु । मिडियामा गएको छुइन । जनसम्पर्कमा पनि त्यति छुइन । अनि, आर्थिक कम्जोरीले पनि खास चल्न सकिरहेको छुइन । तर, निरन्तर कोसिसमा छु ।
तपाइँले बुझ्नु भएको सङ्गीत के हो ?
यो लालित्यकला हो । सुमधुर ध्वनिहरुको सङ्गम हो । यो कर्णप्रिय हुन्छ । परम्परासँग जोडिएको हुन्छ । यसले आत्मसन्तुष्टी प्रदान गर्दछ ।
नेपाली गीत–सङ्गीतको अवस्था कस्तो छ ?
भारतीय सङ्गीतले नेपाली सङ्गीतलाई दबाएको छ । अवस्था अझै दयनीय छ । ‘‘नेपालीपनको गीत गाऊँ, संस्कृति जोगाऊँ, देश बचाऊँ’’, भनेर सबैसँग आग्रह चाहन्छु ।
तपाईंको जिल्ला लिम्बुवान राज्यमा पर्छ भन्छन् । लिम्बुवानको आन्दोलनप्रति तपार्इंको प्रतिक्रिया के छ ?
म जातिले मगर । खाँटी आदिवासी जनजाति हुँ । त्यही भएरमात्र लिम्बुवानको आन्दोलन ठीक हो भन्दिन । सयौं वर्षदेखि राज्यबाट त्यहाँका जनताहरुलाई उत्पीडनमा पारिएको छ । हक–अधिकार खोसिएको छ । त्यसैले, मुक्तिको लागि भइरहेको लिम्बुवानको आन्दोलन सतप्रतिशत सही छ ।
अब पहिचानवादी र अस्तित्ववादी गीतहरु गाउन र संगीत गर्न कतिको सम्भव र सम्भावना देख्नुहुन्छ ?
सम्भव छ र सम्भावना पनि छ । मैले यो लाइनको गीत लेखेको पनि छु । अब चाडै नै यस्तो गीत समेटिएको एल्वममबाट आउनेछ ।
अन्त्यमा, पाठक–स्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
धेरै लामो सङ्घर्षबाट यो फिल्डको यो लेवलमा आएको छु । ‘भूल भए माफ गरी देऊ’ निकै लामो समयपछि ल्याएको मेरो तेस्रो एल्वम हो । एकपटक सुनी दिनुहोस् भनी आग्रह गर्दछु । स्रोताहरुको माया पाइरहेँ भने सृजनाहरू ल्याइरहने बाचा गर्दछु ।