आदिवासी जनजाति महासंघ यूकेको तेश्रो महाधिबेशन मार्चमा

खुसी तावा लिम्बु – लण्डन । २८ जनवरी ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको वर्तमान कार्यसमितिको अन्तिम बैठक बसेको छ । नर्थहोल्टको गोल्डनसिप रेस्टुरेण्टमा बसेको कार्यसमितिको बैठकमा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो । महासंघको तेश्रो महाधिबेशनको पूर्व सन्ध्यामा बसेको प्रत्यक्ष बैठकले महाधिबेशनको तयारी लगायत बिभिन्न निर्णय गरेको छ ।

महासंघका अध्यक्ष तुल छन्त्यालले अध्यक्षता गरेको बैठकले आगामी मार्च १८ तारिखका दिन महासंघको तेश्रो महाधिबेशन आयोजना गर्ने निर्णय गरेको छ । महाधिबेशन तयारीका लागि निर्वाचन समिति र बिधान संसोधन समिति पनि गठन गरिएका छन् । निर्वाचन समितिमा एकेन्द्र गुरुङ, गणेश इजम, सुमाया राई, पूर्ण लक्सम र फुर्बा शेर्पा रहेका छन् । त्यस्तैगरी बिधान संसोधन समितिमा भक्त बहादुर दुरा, janajati_mahasanghaधन रोगू, विस्वासदीप तिगेला, नेम थापा र नरेश काङमाङ सदस्य तोकिएका छन् ।

तेश्रो महाधिबेशनमा अतिथिको रुपमा नेफिन यूकेले केन्द्रबाट नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिबद्धय सुरेश आले मगर र बालकृष्ण माबोहाङलाई बोलाउने तयारी गरिरहेको कुरा नेफिन यूके महासचिब कर्मा पहाडीले बताए । कार्यक्रम तमुधीं युके हल मिचेटमा हुने र महाधिबेशनमा उपस्थित जनहरुका लागि तमुधीं यूकेले चियापान उपलब्ध गराउने नेफिन यूकेका महासचिब कर्मा पहाडीले बताए ।

नेफिन बेलायतले नेपाल आदिवासी जनजाति चलचित्र महासंघ यूूके पनि स्थापना गरेको छ । देवीमाया पुनको संयोजकत्व र कर्मा पहाडी सचिब रहनेगरी नौ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा शशी सुब्बा थापा र बलराज जबेगु; सदस्यहरुमा बिमोचना लिम्बु, गोरे गुरुङ, मान तबेबुङ, दुत पुन, मानसिंङ दुरा र जीवन छन्त्याल रहेका छन् ।

बैठकमा नेफिन यूकेले कियाचु यूकेका नवनिर्वाचित अध्यक्ष दिलसिङ मेन्याङबो र दुरा समाज यूकेका नवनिर्वाचित अध्यक्ष इन्द्र बहादुर दुरालाई औपचारिक रुपमा बधाई तथा शुभकामना ब्यक्त गर्यो ।

बैठकमा तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, कियाचु यूकेका अध्यक्ष दिलसिङ मेन्याङबो, किरात याक्खा छुम्माका अध्यक्ष धन रोगु, दुरा समाज यूकेका नवनिर्वाचित इन्द्र बहादुर दुरा, किराया लण्डनको अध्यक्ष, किराया यूके लण्डन प्राकस अध्यक्ष श्रीमती शान्ताकला राई, गेसोका सभापति कृष्ण कुमार राई र नेफिन यूकेका सल्लाहकारहरुमा भक्त दुरा, सिरी लिम्बु र थर्क राना उपस्थित थिए । बैठकमा समाजसेवी र राजनीतिकर्मीहरु पूर्ण लक्सम, हिराधन राई, पदम थापा, नरहाङ राईको पनि उपस्थिति थियो ।

त्यस्तैगरी नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष बिमला राई र अन्य पदाधिकारीहरु साथै फोनिज यूकेका महासचिब खुशी लिम्बु पनि बैठकमा उपस्थित थिए ।