यूके चुम्लुङले खोजिरहेको नेतृत्व

 लाहाङ चेम्जोङ – लण्डन

किरात याक्थुङ चुम्लुङ यूकेको ११ औं महाधिवेशन आगामी हप्ता हुँदैछ । करिब तीन हजार सक्रिय याक्थुङ/ लिम्बु सदस्यहरुले आगामी तीन वर्षको लागि आफ्नो नेतृत्व पनि चयन गर्दैछन् ।

आजकल, चुम्लुङले नेतृत्व छान्न मतदान प्रक्रियालाई अभ्यास गर्न थालेको छ । यो आफैमा याक्थुङहरु समाजमा उन्नत भएको संकेत पनि हो । जब संस्था भर्खरै स्थापना भएको छ अथवा संस्थामा आकर्षण छैनभने, नेतृत्व पाउन गार्हो हुन्छ । नेतृत्व गरिदेउ भनेर खोज्नुपर्ने हुन्छ । त्यही संस्थालाई ठूलो र आकर्षक बनाउदै लगेपछि अथवा उन्नत अवस्थामा पुर्याएपछि नेतृत्व गर्न नेताहरु आकर्षित हुन थाल्छन् । यो समाज विकासको चरण हो, हामीमा मात्र होईन, संसारमै यो हुन्छ । किरात याक्थुङ चुम्लुङ यूके पनि यही चरणमा प्रवेश गरिसकेको छ, यसलाई सकरात्मक आखाले हेर्नुपर्दछ । चुम्लुङलाई मतदानको स्तरमा पुर्याउनु, यूकेवासी याक्थुङहरुको सामाजिक विकासमा उन्नत स्तर भएको हो ।

अब चर्चा गरौं, कस्तो नेतृत्वको खाँचो छ- कियाचु यूकेलाई ? धेरैले भन्ने गरेको सुनिन्छ, जो गए पनि भयो नि । चुम्लुङको अध्यक्ष भएर गर्नु के छ र ! त्यही सिसेक्पा तङनाम मेला र यलम्बरहाङ कप आयोजना गर्नु त हो ।
केवल यतिको लागि मात्र चुम्लुङको अध्यक्ष हुने भन्ने बुझाई वा मान्यता अब हामीले हटाउनु पर्दछ । धेरै याक्थुङहरु भन्छन्, अबको बीसवर्षपछि अथवा एक पुस्तापछि यूकेमा याक्थुङहरु याक्थुङ जस्तो हुने छैनौं । यो भनाईमा केही सत्यता छ । हो, अबको चुम्लुङले यो बीसवर्ष पछिको चुनौतीलाई बुझेर सयौं वर्षसम्म यूकेमा याक्थुङहरुलाई याक्थुङ भएर बाँच्न पाउने र बाँच्न सक्ने बनाउन भिजन भएको नेतृत्व खोजिरहेको छ । सिसेक्पा तङनाम मेला र यलम्बरहाङ कपको आयोजनाले मात्र त याक्थुङ पहिचान सयौं वर्ष बाँचिरहन सक्दैन, अन्य थुप्रै कार्यहरु पनि गरेको हुनुपर्छ, नै ।

ती थुप्रै कार्यक्रमहरु के के हुन सक्छन् ! यसको लागि, पक्कै पनि, अबको नेतृत्व सृजनशिल र याक्थुङ आईडियोलजी भएको हुनुपर्दछ । जन्मले याक्थुङ भएर मात्र पुग्दैन । विचारले याक्थुङ भएको हुनुपर्छ । कुनैपनि विचारको निर्माण रातारात हुदैन । लामो त्याग र तपस्याबाट व्याक्तिमा विचारको निर्माण भएको हुन्छ । चुम्लुङमा लामो समयसम्म काम गरेको हुनु मात्र पनि याक्थुङ विचार हुनु होईन । धेरै पढेको हुनु मात्र पनि याक्थुङ विचार हुनु होईन । याक्थुङ विचार हुनु भनेको याक्थुङ ज्ञान, संस्कार-संस्कृति, भाषा-लिपि, याक्थुङ थात्थलो, जीवनशैलीले गहिरोगरी बोध भएको हुनु हो । यसरी याक्थुङ कुराहरुले बोध भएपछि याक्थुङका लागि याक्थुङ सृजनाहरु वा याक्थुङ कार्यक्रमहरु गर्नसक्ने सृजनसिल नेतृत्व यूके चुम्लुङलाई चाहिएको छ । चुम्लुङले आयोजना गर्ने हरेक कार्यक्रमहरु याक्थुङ वास्ना अथवा याक्थुङ पनले भरिएको हुनुपर्दछ । याक्थुङ विचार नभएको नेतृत्वले सिसेक्पा मेला याक्थुङ कार्यक्रम हो कि कन्सर्ट हो, छुट्ट्याउनै सक्तैन । चुम्लुङले गर्ने हरेक कार्यक्रममा लिम्बुत्व वा याक्थुङ सत्व बाँचेको हुनुपर्दछ । लिम्बुत्व वा याक्थुङ सत्व बेगरको कार्यक्रमहरुलाई स्विकार गर्दै जाने होभने याक्थुङ पिंढीमा याक्थुङ मनोविज्ञान मर्दै जान्छ र याक्थुङ हुनुको अर्थ पनि सकिन्दै जान्छ ।त्यसोभए, कस्ता कार्यक्रमहरु शुरु गरे अब आउने पुस्ताले याक्थुङ भएकोमा गर्व गरिरहेका हुनेछन् होला । त्यस्ता अजम्बरी बुट्टी जस्ता कार्यक्रमहरु सृजना गर्नसक्ने नेतृत्वको खोजी गर्नुपर्दछ । जो गए पनि भयो भनेर नेतृत्व चयनमा हेलचेक्र्याई गर्नुहुन्न ।

चुम्लुङ नेतृत्वले हेक्का राख्नुपर्ने अर्को विषय पनि छ । यूकेवासी याक्थुङ/लिम्बुहरु मात्र होईनन्, विश्वका लिम्बुहरु पछिल्लो खेप, धर्मको नामले नराम्रो गरी विभाजित हुने हुन् कि भनेर भयभीत भएका छन् । नेपालमा समानान्तर अर्को चुम्लुङहरु गठन हुन थालेका छन् । यो एकदम बेठिक हो । यो लहर यूकेसम्म आउन नदिन सक्नु पनि नेतृत्वको क्षमता हो । यूकेमा विशाल इसाई संस्कार, अंग्रेजी भाषा, लिपिको बिचमा याक्थुङ भाषा-लिपि, संस्कार, संस्कृति बचाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुछ, यती ठूलो चुनौतीको बाबजुद यो विभाजनको शृखला यूकेसम्म आईपुगे यूकेवासी याक्थुङहरुको हालत के होला ! यूकेमा भएको हाम्रो थोरै र कम्जोर उपस्थिति आफै विभाजित भए, यहाँ आफ्नो भाषा, लिपि संस्कार जोगाउन असम्भव हुँदै जानेछ । यसकारण, विभाजनको सम्भावनालाई तार्नसक्ने नेतृत्व चुम्लुङले खोजिरहेको हो।

किरात याक्थुङ चुम्लुङ यूकेको बिसौं एकडको आफ्नै जमिन छ । यो जमिन किनेको यतिका वर्ष भैसक्यो, तर किन्दा बेलाको जस्तै छ । यसलाई योजनावद्द याक्थुङ हबको रुपमा विकास गर्दै लग्नुपर्दछ । यो विशाल जमिनलाई सांस्कृतिक केन्द्रको रुपमा विकास र विस्तार गर्नुपर्दछ । आ-आफ्नो पहिचानको खोजी गर्दै जाँदा कोही मन्दिर जान्छन्, कोही गुम्बा जान्छन्, कोही मस्जिद जान्छन्, यहाँ धेरै जसो चर्च जान्छन्, हामी कहाँ जाने ? हामीलाई पनि जानको लागि हाम्रो सांस्कृतिक केन्द्रको खाचो छ । त्यसकारण, यो विशाल जमिनलाई मास्टर प्लान गर्नसक्ने र यो जमिनमा याक्थुङ पहिचान उमार्न सक्ने याक्थुङ विचार भएको नेतृत्व चुम्लुङले खोजिरहेको छ ।

अन्त्यमा, संस्कार-संस्कृति सबैभन्दा ठूलो पहिचान हो । भाषा र लिपि त्यतिकै महत्वपूर्ण पहिचानहरु हुन् । यी पहिचानहरु उमार्न र फुलाउन फलाउन जमिन (राज्य) चाहिन्छ । जमिन छैनभने यी संस्कारहरु कहाँ बचाएर राख्ने ? यी सप्पै बोध भएको नेतृत्व छनौट गर्न सकोस् । किरात याक्थुङ चुम्लुङ यूकेलाई एघारौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु ।