संघीय विद्यार्थी युनियल लिम्बुवान राज्य परिषदद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल
सन्तोष रुचाल
धनकुटा ४ असोज / मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषद निकट संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदले गरेको एकदिने शैक्षिक आमहड्तालको कारण आज धनकुटालगायत पूर्वका ९ जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विधालयहरु बन्द रहेका छन् ।
गत २०६७ साउन ९ गते परिषदले नेपाल सरकारलाई बुझाएको २१ बुँदे ज्ञापन-पत्रमाथि हालसम्म कुनै सुनुवाई नभएपछि विरोधस्वरुप एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीले बताउँनुभयो । २१ बुदे ज्ञापन-पत्रमा सप्तकोशी अरुणपूर्वका प्रस्तावित लिम्बुवानका प्रत्येक उच्च माविहरुमा विषयगत शिक्षक दरबन्दी दिनुपर्ने लिम्बुवानका प्रत्येक स्कुल कलेजहरुमा शहिदको छोराछोरीहरुलाई निशुल्क पढाउनु पर्ने, बहुभाषिक शिक्षा लागू गर्नुपर्ने, लिम्बुवान विश्व विधालयहरु खोल्नुपर्ने, लिम्वुवानभित्र परीक्षा नियन्त्रण कार्यालय खोल्नुपर्ने, समानुपातिक रुपमा स्ववियु निर्वाचन गराइनुपर्नेलगायतका मागहरु राखेका छन् ।
३५ गाउँ विकास समिति र १ नगरपालिका रहेको धनकुटा जिल्लामा हाल सरकारीतर्फ २ सय दश प्रावि, ३७ निमावि, ४१ मावि र २७ उच्च माविहरु रहेका छन् भने निजीतर्फ २३ प्रावि ३ निमावि ७ मावि र ३ उच्च माविहरु सञ्चालनमा रहेका छन् । शैक्षिक संस्थाहरु बन्द गर्ने कार्यक्रम भएपनि आज हुने परीक्षामा भने कुनै अवरोध नगरिएको आयोजकले बताएका छन् ।
