खम्बुवानका कार्यकर्ता तथा शुभेच्छुकमाझ खम्बुवान एकताको औपचारिक घोषणा
विजयपुर, धरान
असोज ८, २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मध्यस्थतामा यही असोज ८ गते धरानमा खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रुन्टबीच भएको एकताको औपचारिक घोषणा गरिएको छ ।
खम्बुवानका भूतपूर्व अध्यक्ष बीके कोयुको अध्यक्षतामा भएको उक्त खम्बुवान एकता घोषणा सभामा किरात खम्बुवान संयुक्त मोर्चाका सचिव सङ्गम किराती खम्बुवान स्वायत्त सरोकार माचका उपाध्यक्ष पविहाङ खम्बू याख्खा स्वायत्त परिषदका गोपाल देवान नेकपा एकीकृत का धनकाजी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त घोषणा सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले एकीकरणको सहमति-पत्र वाचन गरेका थिए । एकताको घोषणापछि खम्बुवानका अध्यक्ष आर. के. खम्बू र कार्यवाहक अध्यक्ष इन्द्रहाङ खम्बूले सम्पूर्ण उपस्थितिसमक्ष प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खम्बुवानका उपाध्यक्ष नगेन्द्र खम्बूले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने सहकोषाध्यक्ष पूर्ण राईले कार्यक्रमको उद्घोषण गरेका थिए ।
यस खम्बुवान एकताको कार्यक्रममा खम्बुवानका कार्यकर्ता तथा शुभेच्छुकहरु उत्साहपूर्वक सहभागी भएका थिए ।
– डीबी आङ्बुङ, फोटोः दिलकुमार लावती
