संघीयता विरोधी चलखेलको विरुद्ध लिम्बुवानमा हजारौं कालो झण्डा
लिम्बुवान मङ्सिर १०, २०६७/
नेपालमा शान्ति प्रक्रिया, संविधान लेखन, संघीयता, आत्मनिर्णयको अधिकार र स्वशासनहितको स्वायत्तता तथा धर्मनिरपेक्षताताको विरुद्धमा हाल भइरहेको तमाम् एकात्मक षडयन्त्र र चलखेलको विरोधमा आज सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, ताप्लिजोङ, पान्थर, इलाम र तेह्रथुमका विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थलहरु शहर, बजार र गाउँहरुमा लिम्बुवानको आन्दोलनलाई नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदद्वारा हजारौं कालो झण्डाहरु गाडिँदैछ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गत असोज १७-२० विजयपुर धरानमा सम्पन्न लिम्बुवानको तेस्रो विस्तारित बैठकले लिम्बुवान आन्दोलनलाई निर्णायक बनाउन निर्णय गरी सार्वजनिक गरेको विभिन्न आन्दोलनअन्तर्गत पहिलो चरणको कार्यक्रम अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष नेपालअन्तर्गत अरुणपूर्वका नौ जिल्लाहरुलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी अघि बढिरहेको लिम्बुवानी आन्दोलनको विरुद्धमा एकात्मक राज्यले विभिन्न षडयन्त्रहरु गरी अवरोध पुर्याइ रहेकोले ती सबैखाले एकात्मकताको विरुद्धमा लिम्बुवानको नौवटै जिल्लाहरुका ऐतिहासिक र सार्वजनिक स्थलहरुमा मंसिर १० गते एकैपल्ट हजारौं कालो झण्डा गाडिने कार्यक्रम रहेको परिषदद्वारा प्रेसित विज्ञप्ति र अपीलमा जनाइएको छ ।
यही गत मंसिर २ गते लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं प्रमुख जिल्ला अधिकारीहरुमार्फत् ज्ञापन-पत्र सरकारलाई बुझाएर आफ्नो मागहरुलाई अविलम्ब सम्बोधन गर्न अनुरोध गरेको थियो । तर सरकारबाट कुनै प्रतिक्रिया नआएपछि यो आन्दोलनको कायक्रम सुरु गरिएको हो ।
परिषदको यो प्रथम चरणको कार्यक्रअन्तर्गत लिम्बुवानभरि सदरमुकाम र गाउँगाउँमा कालो झण्डा गाड्नेक्रम् तीव्रताका साथ भइरहेको जानकारी विभिन्न जिल्लाका अध्यक्ष तथा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले दिएका छन् ।
यसपश्चात, लिम्बुवानको माग पूरा नभएसम्म प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द रहने आन्दोलनको कार्यक्रमअन्तर्गत यही मंसिर १५ गते बाट सुरु भई सो दिन लिम्बुवान बन्द गर्ने कार्यक्रम छ ।
– डीबी आङ्बुङ
