मङ्सिर १० गते विराटनगरमा विशाल लिम्बुवान आमसभा हुने
विराटनगर, मोरङ, लिम्बुवान ३० कार्तिक २०६८/संविधानसभाबाट यही मङ्सिर १४ भित्रै संघीय गणतान्त्रिक धर्मनिरपेक्ष संविधान घोषणा गराउन र अब बन्ने नयाँ नेपालको संविधानमा ‘सङ्खुवा-अरुण-सप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने आन्दोलनलाई थप उचाइमा पुर्याउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यही २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा एकलाख जनताको उपस्थितिमा विशाल लिम्बुवान आमसभा हुने भएको छ ।
विराटनगर मङ्सिर १० मा आयोजना गरिने विशाल लिम्बुवान आमसभा बारे जानकारी गराउन यही कार्त्तिक १४ गते विराटनगरमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रम बारे जानकारी गराइएको छ । उक्त पत्रकार सम्मेलनमा प्रेसित लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- ”संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिष्द २०६४ फाल्गुन १ देखि १८ गतेसम्म संघीय लिम्बुवानी आन्दोलन हाँकेर फागुन १८ गते राज्यसँग पाँचबुँदे सहमति गरी संविधान सभाको चुनावमा सहभागी भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लाहरू झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लिजोङ, पान्थर र इलामलाई आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी यस मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण आन्दोलन अघि बढाइरहेको छ । यो मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लिम्बुवानको वैधानिक र ‘लिडिङ’ राजनैतिक सङ्गठन हो ।”
आयोजक मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर १० गते विराटनगरमा आयोजना गर्ने विशाल लिम्बुवान आमसभाको तयारी तीव्र गतिले अघि बढाइरहेको छ । यो ऐतिहासिक विशाल लिम्बुवान आभसभा विराटनगरको मुटु जनआन्दोलन चोकमा गरिने निश्चित भएको छ । यसका लागि लिम्बुवानका १० जना नेताहरूको ‘स्पेशल टास्क टिम’ (एसएसटी) ले विराटनगरमा राजनैतिक भेटघाट र परामर्श तीव्ररुपले अघि बढाएको छ । यसैक्रममा यही कार्तिक २१ गते विराटनगर क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरू- किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, मगर संघ, गन्गाई परिषद, तामाङ घेतुङ, थारु सभा, तमू छौँज धिँ, आदिवासी जनजाति महासंघ उपमहानगरपालिक समन्वय समितिलगायतसँग विशेष बैठक बसी सो आमसभामा सहकार्य र समर्थन गर्न सशक्त सहभागीता जनाउन अनुरोध गरिएको थियो । लिम्बुवानको अनुरोधपछि उक्त संघ संस्थाहरूले पनि लिम्बुवान र लिम्बूजातिको मात्र नभएर सिङ्गो आदिवासी जनजाति तथा समग्र नेपालीहरूकै हितमा हुने सो आमसभामा सशक्त सहभागीता जनाउने भएका छन् । ती संघ संस्थाहरूले संघीयता, गणतन्त्र, धर्मरिपेक्षता, आई. एल. ओ. महासनिध नं. १६९, आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्र (यूएनड्रीप) तथा लिम्बुवान, खम्बुवान, तामाङसालीङ, तमुवान, मगरात, थारुहट आदि सवाल साझा मुद्दा भएकाले लिम्बुवानको सो आमसभामा सहभागी हुन कुनै अप्ठ्यारो नपर्ने बरु गौरव लाग्ने भन्दै सशक्त सहभागीता जनाउने भएका छन् ।
विराटनगरको ऐतिहासिक विशाल लिम्बुवान आमसभालाई सफल पार्न लिम्बुवानका विभिन्न जिल्ला कार्य समितहरू, विभिन्न स्वायत्त परिषदहरू, जनवर्गीय सङ्गठनहरू, थुम तथा गाउँ कार्यसमितिहरू, लिम्बुवान काठमाडौं उपत्यका र विदेशस्थित् प्रवास सम्पर्क कार्य समितिहरूमा पनि आमसभाको लागि व्यापक तयारीहरू भइरहेका छन् । लिम्बुवानको नौ जिल्ला र झापा काँकडभिट्टादेखि विर्तामोड, दमक, उर्लाबारी, पत्थरी, धरान, इटहरीहुँदै विराटनगरसम्म विभिन्न लिम्बुवानका नाराहरू लेखिएका वाल पेन्टिङ तथा पोष्टरिङका कार्यहरू पूरा भएका छन् ।
उक्त आमसभालाई सफल बनाउन सुरक्षा समन्वय गर्न विभिन्न सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ । त्यसैगरी, सही सूचना सम्प्रेषण गरी सहयोग गर्न विभिन्न सञ्चार माध्यमहरूलाई अनुरोध गरिएको छ । साथै, मङ्सिर १० गते कुनै बन्द-हड्ताल नगर्ने वातावरण मिलाउन र स्वैच्छिक आर्थिक सहायोग गरिदिन, यातायातको साधन उपलब्ध गराई दिन, बृहत् जनसहभागितामा सहयोग गराई दिन, आमसभाको दिन ट्राफिक व्यवस्था मिलाई दिन, अन्य विविध आवश्यक सहयोगनका लागि सम्बन्धित् पक्षहरूसँग हार्दिक अनुरोधसमेत प्रेषित विज्ञप्तिमार्फत गरिएको छ ।
– डीबी आङबुङ
