ताप्लिजोङ दोभानमा लिम्बुवान आमसभा:
ताप्लिजोङ, दोभान, लिम्बुवान, पुस ३, २०६८/
लिम्बुवानी जनताहरू वास्तवमै राष्ट्रवादी भएको तर त्यो एकात्मक नभई संघीय राष्ट्रवादी भएको उद्घोषका गर्दै २०६८ पुस ३ गते ताप्लिजोङ क्षेत्र नं. २ दोभानमा संघीय मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समिति तथा क्षेत्र नं. २ क्षेत्रीय समितिको आयोजनामा लिम्बुवान आमसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ |
कार्यक्रम मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन “मिराक”को प्रमुख आतिथ्य तथा केन्द्रीय सचिवालय सदस्यहरू प्रेम थाम्सुहाङ, चन्द्र साँवा एवम केन्द्रीय सदस्यहरू इन्द्र श्रेष्ठ, होम तुम्बाहाङफे, बिष्णु यक्सो, नबिन पोमू र ताप्लिजोङ जिल्ला अध्यक्ष कृतिमान मादेन एवं बिद्यार्थी उपाध्यक्ष मनिष हेल्लोको आतिथ्यमा सम्पन्न भएको थियो |
मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष काजिमान लिम्बूको अध्यक्षतामा ताप्लिजोङको दोभानमा सम्पन्न उक्त लिम्बुवान जनजागरण आमसभा सुरु हुनअघि दोभान बजारमा विभिन्न सांस्कृतिक झाँकीसहित लिम्बुवानी जुलुश निकालिएको थियो | सांस्कृतिक झाँकीमा नेपाली नौमती बाजा, येबा नाच र च्याब्रुङ नाच प्रश्तुत गरिएको थियो | जुलुशमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद- जिन्दावाद ! सम्पूर्ण लिम्बुवानवासीहरू, एक होऔं ! लिम्बुवानी भूमि योद्धा ऐतिहासिक शहीदहरू, अमर रहून ! लिम्बुवानी जनसंगठनहरू, एक होऔं ! अरुणपूर्व ९ जिल्ला लिम्बुवान राज्य घोषणा गर ! संघीय नेपालमा लिम्बुवान राज्य सुनिश्चित गर ! संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, जिन्दावाद भन्ने नाराहरू लगाइएको थियो | लिम्बुवानका एक चर्चित लोक गायक खगेन्द्र याक्सोको बिशेष सांगीतिक गायन प्रश्तुती रहेको सो कार्यक्रमलाई विभिन्न अतिथि बक्ताहरुद्वारा सम्बोधन गरिएको थियो |
आमसभालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेन “मिराक”ले लिम्बुवानको सशक्त राजनीतिक संगठन मंच सम्बद्व संघीय लिम्बुवान राज्य परिषद व्यक्ति होइन ब्यबस्था परिवर्तनको लागि लडिरहेको बताउनु भयो | वहाँले आफूहरू र आफ्नो संगठन सङ्घात्मक ब्यबस्थाको लागि संघर्ष गरिरहेको जनाउँदै २०१५ सालदेखि हामीले एकात्मकवादीहरूलाई साथ दिइरहेका छौं तर त्यो प्रत्येक भोटले हाम्रै टाउकोमा बन्चरो प्रहार गरेकोले अबको हाम्रो भोट र साथ सहयोग एकात्मकताको लागि होइन, संघात्मक व्यवस्था र लिम्बुवानको स्वायत्त राज्यको लागि हुनुपर्ने कुरामा जोड दिनुभयो | अध्यक्ष मिराकले हामी एकात्मक्वादीहरूको स्वार्थ र इशारामा आफू आफूबीच नलडी भोलि लिम्बुवानको कुनै ठाउँ वा नेपालको महाकालीमा नेपालमाथि आक्रमण भयो भने हामी सबै लिम्बुवान एवं सिंगो नेपालकै स्वयमसेबक एलभी भएर त्यहाँ देश रक्षाको लागि लड्नुपर्ने बताउनु भयो | त्यसैले, वास्तविक राष्ट्रवादी हामी लिम्बुवानी जनताहरू हौं, तर हामी एकात्मक होइन संघीय राष्ट्रवादी हौ भन्ने उद्घोष गर्दै अरुणपूर्व नौ जिल्ला लिम्बुवानको लागि हजार वर्षसम्म पनि लडिरहने प्रतिवद्धता अध्यक्षले मिराकले दोहोर्याउनु भयो | वहाँले भन्नु भयो- “मंचसम्बद्व संघीय लिम्बुवान राज्य परिषद कुनै मन्त्री वा अन्य पद र घर घडेरीमा अल्मलिने छैन, यो भुमिको लडाईं हो |”
लिम्बुवानकै चर्चित पुसे मेलाको अवसरमा ताप्लिजोङको दोभानमा आयोजित उक्त लिम्बुवानी आमसभालाई संघीय मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सचिवालय सदस्यहरू प्रेम थाम्सुहाङ, चन्द्र साँवा एवम केन्द्रीय सदस्यहरू इन्द्र श्रेष्ठ, होम तुम्बाहाङफे, बिष्णु यक्सो, नबिन पोमू र ताप्लिजोङ जिल्ला अध्यक्ष कृतिमान मादेन एवं बिद्यार्थी उपाध्यक्ष मनिष हेल्लोकले सम्बोधन गर्नुभएको थियो |
यस कार्यक्रमलाई स्थानीय एफ एम रेडियो तमोर र रेडियो ताप्लिजोङबाट लिम्बुवानभरि सुनिने गरी प्रत्यक्ष प्रशारण समेत गरिएको थियो |
– डीबी आङबुङ लिम्बू
