विराटनगरमा विशाल लिम्बुवान आमसभा सम्पन्नः
विराटनगर, मोरङ लिम्बुवान, मङ्सिर १०, २०६८/
संघीयताका लागि आन्दोलनमा नेपालकै सशक्त राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानका विभिन्न प्रमुख ठाउँहरूमा विशाल लिम्बुवान आमसभाहरू गर्नेक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा विशाल लिम्बुवान आमसभा सम्पन्न गरेको छ ।
लिम्बुवानका नौ जिल्ला; लिम्बुवानका विभिन्न धिमाल, लेप्चा, आठपहरीया, याक्खा, सतारलगायतका स्वायत्त परिषदहरू, काठमाडौं उपत्यका समिति, विदेशस्थित् प्रवास सम्पर्क समिति र सबै जनवर्गीय सङ्गठनहरूको सशक्त सहभागीता तथा सबै लिम्बुवानवासी शुभेच्छुक जनताहरूको सामूहिक उपस्थितिमा सो विशाल लिम्बुवान आमसभा सम्पन्न भएको हो ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उक्त विशाल लिम्बुवान आमसभाको अध्यक्षता मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदअर्न्तर्गत संघीय धिमाल स्वायत्त पपरिषदका अध्यक्ष तथा लिम्बुवानका सचिवालय सदस्य बाङ्गाई धिमालको अध्यक्षतामा भएको थियो । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को प्रमुख आतिथ्य तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमको विशेष आतिथ्यमा सम्पन्न उक्त आमसभाका अन्य अतिथिहरू लिम्बुवानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानु इम्बुङ लिम्बू र महासचिव फक्ताङलुङ योङहाङलगायत सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, सबै जिल्ला तथा जनवर्गीय सङ्गठनका अध्यक्षहरू र लिम्बुवानका राष्ट्रिय पार्ष सदस्यहरू रहेका थिए ।लिम्बुवानको मिक्लुकथुम अन्तर्गत मोरङ विराटनगरको जनआन्दोलनमा चोकमा आयोजना गरिएको सो विशाल लिम्बुवान आमसभामा लिम्बुवानका नौ जिल्ला र काठमाडौं उपत्यका समेत गरी ३५० भन्दा धेरै बसमा सहभागी नेता तथा कार्यकर्ता र शुभेच्छुहरू विराटनगर आएका थिए । विराटनगरका स्थानीय वासिन्दा तथा सतार, थारु, धिमाल, मेचे, गन्गाईलगायतका आदिवासीहरूको सशक्त उपस्थिति रहेको सो आमसभालाई व्यवस्थित गर्न लिम्बुवान एलभीहरू सक्रीयताका साथ खटेका थिए ।
प्रमुख अतिथि तथा लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ द्वारा नौ जिल्ला लिम्बुवानको प्रतीकस्वरुप नौवटा वत्तीमा द्वीप प्रज्वलन गरी समुद्घाटन गरिएको सो विशाल लिम्बुवान आमसभालाई विभिन्न तहका निश्चित नेतृत्व वक्ताहरूले मात्र सम्बोधन गरेका थिए । लिम्बू, धिमाल, सतारलगायत विभिन्न आदिवासी जनजातिहरूको मौलिक साँसकृतिक नाच तथा झाँकीहरूसमेत प्रस्तुत गरिएको सो आमसभामा काठमाडौंबाट विराटनगर गएका अतिथि कलाकारहरू लिम्बुवान प्रसिद्ध गायिका मनु नेम्बाङ र कमला आङबुहाङ र साथीहरूले ‘हामीलाई प्यारो लाग्छ, हाम्रो लिम्बुवान; पाङ्भे पाङ्भेलाम् पोगेम्मे (गाउँगाउँबाट उठौं) लगायतका गीतहरू गाएका थिए । त्यसैगरी, स्थानीय कलाकारहरूबाट पनि स्वागत गीत र स्टेज गीतहरू प्रस्तुत गरिएको थियो ।
अध्यक्ष ‘मिराक’ले आभसभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालअन्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको प्राप्तिका लागि हजार वर्षम्म पनि लिम्बुवानी जनताहरू अझ सशक्तताका साथ लडिरहने उद्घोष गर्नुभयो । वहाँले एकात्मक केन्द्रीकृत राज्य सत्ताले अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राज्य र लिम्बुवान लगायतका विभिन्न स्वायत्त राज्यहरूको विरुद्धमा विभिन्न षडयन्त्र र चलखेलहरू भइरहेकोले सोको विरुद्ध खबरदारी गर्न, चेतावनी दिन र नेपालका सम्पूर्ण संघीय लाकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्षतावादी जनताहरूलाई आफूले चाहेका स्वायत्त राज्यहरूको सुनिश्चितता गर्नको लागि अझ सशक्तताका साथ लाग्न प्रेरित गर्नको लाग्ने सो आमसभा आयोजना गरिएको बताउनु भयो । त्यसैगरी, अध्यक्ष कुमार लिङ्देनले संघीयता र लिम्बुवान भनेको बाहुन र क्षेत्री, लिम्बू र बाहुन वा मधेशी र लिम्बूबीच दुष्मनी गरेर एकापसमा लड्ने-भिड्ने सवाल नभई सबैको सहअस्तित्वलाई स्वीकारेर जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीयता र स्वायत्त राज्यहरूको सुनिश्चित गर्नुपर्ने बताउनु भयो । वहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्तताको लागि सबै जाति र पार्टीसंग हातेमालो गर्दै जाने तर, यसको विरुद्धमा हुने जोसुकैको जस्तोसुकै किसिमको कर्तुतलाई पनि सहेर भने नबस्ने बताउनु भयो । आमभालाई सम्बोधन गर्दै अध्यक्ष ‘मिराक’ले सो आमसभा र त्यसमा भएको जनसागरको उपस्थितिले अब लिम्बुवान, नेपाल र देश विदेशमा लिम्बुवान र संघीयताप्रति भएको धेरै भ्रमहरू स्वतः चिरिएको बताउनु भयो । ‘नेपालमा संघीयताका लागि साँच्चिकै सशक्तताका साथ संघर्ष गर्ने कुनै राजनीतिक शक्ति नै छैन, जनता र स्थानीयतहबाट संघीयता मागिएकै छैन; लिम्बुवानमा धेरै सङ्गठन छन् र टुटफुट छ’ लगायतका भ्रमहरू यस आमसभाले स्वतः प्रत्युत्तर गरी चिरेको बताउनु भयो । वहाँले नेपालमै संघीयताका लागि आफ्नै बलबुँताले लागेको एक सशक्त सङ्गठन तथा लिम्बुवानकै सबैभन्दा सशक्त र व्यापक जनर्समर्थन पाएको सङ्गनठ मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद रहेको घोषणा गर्नुभयो । वहाँले त्यसो त, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र सो आमसभा आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएको यसका लागि लिम्बुवान र देश-विदेशमा रहेका सशक्त नेतृत्व, कार्यकर्ता तथा लिम्बुवानी शुभेच्छुकहरूको एक टिम भएको र जसको अनवरत मेहनत, परिश्रम र योगदानको संयोग र संयोजनले मात्र यो लिम्बुवानी आन्दोनल यहाँसम्म उठिरहेको जानकारी पनि गराउनु भयो । आफ्नो सम्बोधनको अन्तमा, नेपालका संघीयता, गणतन्त्रवादी, धर्मनिरपेक्षताका पक्षधर तथा ऐतिहासिक पृष्ठभूमि वा पहिचानको आधारमा स्वायत्त राज्य चाहने जनताहरू आ-आफ्नै स्वायत्त राज्यतहमा सङ्गठिन हुँदै र सशक्त बन्दै एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता पनि औल्याउँनु भयो । अध्यक्ष मिराकले कथित विज्ञ समिति बनाउने कसरतपछि अहिले बनेको राज्यको पुनर्संरचना आयोगका सदस्य हुन खोज्ने र हुने विज्ञ भनाउँदाहरूलाई एकपटक लिम्बुवानमा अहिले उठ्दै गरेको मौलिक संघीय आन्दोलनरुपी विश्व विद्यालयमा पहिले आई. ए. पास गरेर मात्र नेपालका लागि संघीयता र स्वायत्ताताको आन्दोलनमा विज्ञ हुन खोज्न आग्रह गर्नुभयो । साथै, कसैले पनि कथित विज्ञता र पैसाले लिम्बुवानको आन्दोलनलाई तोडमोड गर्न नखोज्नसमेत चेतावनी दिनुभयो । अध्यक्ष मिराकले हामीले यसरी शान्तिपूर्ण तवरले जनताको व्यापक समर्थन र जनसहभागीतामा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान लगायतको स्वायत्तताको माग गर्दा पनि एकात्मक शासक र तिनको सत्ताले अटेर गरी सो पूरा नभएमा दिनदहाडै तिनीहरूसँग भिडन्त गर्नुपर्ने अवस्था पनि आउने भन्दै सोका लागि तयार भएर बस्नसमेत सम्पूर्ण लिम्बुवानी जनताहरूलाई आग्रह गर्नुभयो ।
विशेष अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले आमसभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालअर्न्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य यो संविधान सभाबाटै घोषित हुनुपर्ने र त्यसो नगरिएका नेपाल अन्तहीन गृहयुद्धमा होमिने चेतावनी दिँदै नौ जिल्ला लिम्बुवान लगायतका खम्बुवान, तामाङसालीङ, तमुवान, मगरात, थरुहट, नेवाःलगायतका स्वायत्त राज्यहरूको प्राप्तिका लागि सबै स्वायत्त राज्य तहमा लिम्बुवानको जस्तै आन्दोलनको उठान हुनु आवश्यक रहेको बताउनु भयो ।
विराटनगरको विशाल लिम्बुावन आमसभालाई सम्बोधन गर्दै लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले लिम्बुवानमा सबै लिम्बुवानवासी आदिवासी जनजाति तथा क्षेत्री-ब्राहण र मधेशी, दलित तथा मुस्लिमहरूको हक अधिकारको सुनिश्चित हने बताउनु भयो । त्यसरी नै अर्का लिम्बुवानका केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ लिम्बूले नेपालका आदिवासी जनजाति तथा लिम्बुवानवासीहरू एकात्मक सत्ताको षडयन्त्र, शोषण र दमनले साँच्चिकै घाइते बाघजस्तो भएकोले योभन्दा बढी नजिस्किकन, नचलाईकन सम्पूर्ण आदिवासी जनजाति तथा लिम्बुवानवासीको हक अधिकारको सुनिश्चिताका लागि नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको विरुद्धमा कुनै चलखेल नगर्नहुन आग्रह गर्नुभयो । यसैगरी, आमसभलाई संघीय लिम्बुवान परिषदका अध्यक्ष शान्ता योङहाङ तथा महासचिव अमृता थेबेले सम्बोधन गर्दै अबको लिम्बुवान राज्यमा सम्पूर्ण लिम्बुवानवासी महिलाहरूको हक अधिकारहरू उपभोग गर्न पाउने व्यवस्था हुने भएकोले लिम्बुवान राज्यको स्थापनाका लागि सबै लिम्बुवानवासी महिलाहरूलाई एकतावद्ध भई लाग्न आग्रह गर्नुभयो । यसरी नै सो आभसभालाई नौ जिल्ला लिम्बुवानका अध्यक्षहरूको तर्फाट लिम्बुवान सुनसरीका अध्यक्ष डम्बर खजुमले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमा लिम्बुवान मोरङका अध्यक्ष देउकुमार लिम्बूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । आमसभालाई सम्बोधन गर्दै लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठले लिम्बुवान लिम्बुवान लिम्बु जातिको मात्र नभएर सबै लिम्बुवानवासीको लागि भएको र हुने कुरामा जोड दिनुभयो ।
यस कार्यक्रमलाई प्रचार-प्रसार गर्नको लागि स्थानीय मकालु टीभीमार्फत् प्रत्यक्ष प्रशारण गर्न खोजिएकोमा नेपाल सरकार गृह मन्त्रालयबाट प्रत्यक्ष निर्देशन गरी सो प्रत्यक्ष प्रशारण गर्नमा रोक लगाएको थियो । पान्थरको स्थानीय इगल एफ एम र लिम्बुवानको आफ्नै मिडियामार्फत् नेपालीसमाचार डटकम्बाट सो कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो । लिम्बुवान अन्तर्गत संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङ्गाई धिमालको अध्यक्षतामा सम्पन्न उक्त आमसभाको उद्घोषण लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिसार प्रेमदीप थाम्सुहाङले गरेका थिए । आमसभाको बीच बीचमा पटकपटक संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, आदिवासीय अधिकार र लिम्बुवानका विभिन्न नाराहरू लगाइएको थियो ।
लिम्बुवानका नाराहरू :
१. अरूण सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य – घोषणा गर !
२. नौ जिल्ला लिम्बुवान- लिम्बुवान, लिम्बुवान !!
३. ऐतिहासिक लिम्बुवान भूमि टुक्राउन – पाईन्दैन !
४. संघीय गणतन्त्र नेपाल – जिन्दावाद !
५. एकात्मक राज्य सत्ता – मुर्दावाद !
६. We want Limbuwan !
७. ILO C 169 – लागू गर ।
८. लिम्बुवानी सहीदहरू – जय लिम्बुवान !
९. सम्पूर्ण लिम्बुवानबासी – एक हौ !
१०. मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद – जिन्दावाद !
११. सम्पूर्ण संघीयवादीहरू – एक हौं !
१२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – जिन्दावाद !
१३. पांच बुँदे सहमति – लागू गर !
१४. समानुपातिक प्रतिनिधित्व – कायम गर !
१५. धिमाल, लेप्चा, याख्खा, आठपहरिया, थारू, राजवंशी, गन्गाई, सतार ………. स्वायत्त क्षेत्रहरू -कायम गर !
१६. एकात्मक राज्यले गरेका दमनहरूको लागि – माफी माग !
१७. संघीय लिम्बुवानी राष्ट्रवाद – जिन्दावाद !
१८. संघीय सहअस्तित्ववाद – लागू गर !
१९. संघीय सामुदायिक समाजवाद – जिन्दावाद !
२०. संघीय इको-अर्थतन्त्र – लागू गर !
२१. लिम्बुवानको कर लिम्बुवानलाई नै फिर्ता गर !
२२. लिम्बुवान भूमिमा एकात्मक लुटपाट – बन्द गर !
२३. लिम्बुवानमा जातीय सदभाव – कायम रहोस् !
२४. नौ लिम्बुवानसहितको संविधान तुरून्त जारी गर !
२५. लिम्बुवान हाम्रो – घर हो !! नेपाल हाम्रो – देश हो !!
२६ लिम्बुवान आन्दोलन – जारी छ !
– डीबी आङ्बुङ लिम्बू


