उधौली चाड यहि २६ नोभेम्बरका दिन ब्रुनाईमा भब्य मनाइने
ब्रुनाई, २१ नोभेम्बर २०११, यस बर्षको उधौली चाड आउदो २६ नोभेम्बर शनिवारको दिन सेरिया फेमली वेलफेर सेन्टर ब्रुनाईमा भब्य मनाउने तयारी भएको छ ।
नेपाल सरकारले किरात उधौली चाड भनेर उल्लेख गरेको यस उधौली चाडमा सम्पूर्ण किरातहरुलाई एकदिन छुट्टि दिदै आएको छ । यस चाडलाई किरातलिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला र सान्केवा, किरात याख्खाहरुले चासुवा र किरात सुनुवारहरुले फोलष्याँदर भन्ने गर्दछन् ।
किरातहरुको मुख्य चाड यस उद्यौलीलाई भब्यताको साथ सम्पन्न गर्न टुकरलाइनको चौतारी क्लवमा बसेको भेलाले क्याप्टेन काजीमान लिम्बु एम.सी. को संयोजकत्वमा आयोजक मण्डल निर्माण गरेको छ । जसमा साकेलाको ब्यवस्थापक डिल्ली शेर राई, च्याब्रुङको ब्यवस्थापक चन्द्र आङबुहाँङ र लोक लिम्बु, याख्खा समाजबाट नवराज जिमी र सुनुवार समाजबाट तरुण सुनुवार रहनु भएको छ । उक्त भेलाले जितेन्द्र चेम्जोङ, किसन राई, महेश वनेम, दिपेन्द्र कन्दङवा, सन्तकुमार आङदेम्बे र विश्वास दीप तिगेला लगायतलाई पनि विभिन्न जिम्मेवारी तोकेको छ ।
उद्यौली चाड दिउसो ११ बजे शुरुभई साँझ ६ बजे समापन हुनेछ र उक्त कार्यक्रममा विभिन्न परिकारका खानाका स्टलहरु सुफत मूल्यमा राखिने कुरा जनाइएको छ । साकेला, च्याब्रुङ लगायतको सांस्कृतिक नाच धित्मरुन्जेल नाच्नको लागि समयमै उपस्थित हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।
स्मरण रहोस, गत बर्ष पनि उद्यौली चाड सोहि ठाँउमा भब्यतापूर्वक मनाइएको थियो साथै यस बर्ष उद्यौली चाडको दिन भन्दा दुइहप्ता अगाडि नै मनाउन लागिएको हो ।
————————————————————————————————————–
उधौली चाड – संक्षिप्त परिचय
नेपालीहरुले मनाउने विभिन्न चाडहरु मध्ये एक मुख्य चाड हो उधौली चार्ड । यस चाडलाई नेपाल सरकारले किरात उधौली चाड भनेर उक्त दिन किरातहरुलाई छुट्टि दिने ब्यवस्था गरेको छ । यस चाडलाई किरात लिम्बुहरुले चासोक तङनाम भन्दछन् । किराँत राईहरुले साकेला, सान्केवा भन्दछन् । किराँत याख्खाहरुले यस चाडलाई चासुवा भन्दछन् र किरात सुनुवारहरुले फोलष्याँदर भन्दछन् ।
प्रकृति पुजक किरात समुदायले नदी, खोलामा पाइने माछा ओह्रालो (उधो) धेरै पानी भएको ठाँउ तिर फर्किएको अवस्थालाई उधौली भनिन्छ र यस अवसरमा उधौली पुजा गर्ने प्रचलन परापूर्वकाल देखि नै चल्दै आएको छ । यस चाडलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्नो देवीदेवता, पितृलाई अन्न, फलफूल चढाएर यो न्वागी पुजा गर्ने गरिन्छ । किरात भित्र मुख्यगरि लिम्बु, राई, सुनुवार, याख्खा, जिरेल, सुरेल आदी लगायतका जातिहरु पर्ने भएकोले जाति, स्थान अनुसार यस चाडलाई मनाउने आ–आफ्नो तरिकाहरु रहेका छन् ।
भाषा, संस्कार संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्थित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किरातहरु आपसमा शुभ कामना कार्ड साटासाट गर्छन । एकै इलाकामा रहेकाहरु एकैठाँउ भेला भएर, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरु लगाएर आ–आफ्नो जातिको नाच नाच्ने गर्दछन् । लिम्बुहरुले थरीथरीका च्याब्रुङ, राईहरुले विभिन्न प्रकारका साकेला, सान्केवा त्यस्तै गरि सुनुवार, याख्खा लगायतले आ–आफ्नो सांस्कृतिक नाच नाच्ने गर्दछन् ।
किरातहरुले यस चाडमा, आफन्त नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठो मसिनो ख्वाउने, खाने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रुपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको भए पनि साइनोले कान्छो ब्यक्ति जेठो साइनोको घरमा गएर बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र सम्मान गर्नुपर्दछ यसरी यो चाडले मेलमिलापको अवसर पनि प्रदान गर्ने भएकोले यस चाडको महत्व बढि पाइन्छ । त्यस्तैगरि आकासमा पूर्ण आकारको चन्द्रमा देखिने, बालीनाली कतै लहलह र कतै अन्नबालीले भकारी टम्म भरिएको अवस्था हुने भएकोले पनि यो चाड खुसि र सुखको चाड मानिन्छ ।
चाडपर्व कसैको पेवा र निजी हुदैन । यो चाड जो कसैले मनाउन सक्दछ त्यसैले आजकाल यस चाडलाई उधौली चाड मात्र भन्ने गरिन्छ । खोला, नाला, नदीहरुमा पानीको मात्र बढ्नु संगै माछाहरु उकालो (उभो) आउने भएकोले वैशाखे पूर्णिमालाई उभौली चाड मनाउने प्रचलन पनि रहेको छ । यस उभौलीलाई पनि किरात जातिहरुले भब्यताको साथ मनाउने गर्दछन् ।
मंसिर पूणिर्माको दिन मनाइने यस उधौली चाड (चासोक तङनाम, साकेला, सान्केवा, चासुवा, फोलष्याँदर) को अवसरमा हार्दिक शुभ कामना ।
– विश्वास दीप तिगेला
