उदयपुरमा अग्रगामी विचार समूहको कार्यालय स्थापना

नरेशमोहन तामाङ

गाईघाट –उदयुर) कात्तिक १८ । ‘‘सधैँ लड्यौं अरुका लागि, अब लडौं आफ्नो लागि’’ भन्ने मूल नाराका साथ नयाँ राजनीतिक शक्ति निर्माणका लागि गत कातिक १८ गते उदयपुरमा अग्रगामी विचार समूहको जिल्ला सम्पर्क कार्यालय स्थापना भएको छ । कार्यालय स्थापनासंगै विचार समूहलाई जिल्लाव्यापी रुपमा संगठित बनाउन एमाले परित्याग गरेका युवा नेता सिद्धान्त राईको नेतृत्वमा १०१ सदस्यीय अग्रगामी विचार समूह समेत गठन गरिएको छ ।

विचार समूहमा एमाले परित्याग गरेका जिल्ला स्तरका एकदर्जन कार्यकर्ता रहेकाछन् भने नेपाली कांग्रेस, माओवादी, अन्य राजनीतिक दल, जनजाति संघसंस्थामा क्रियाशील कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरु समेत समाहित भएकाछन् । सोही दिन सम्पन्न विचार समूहको भेलाले उदयपुर जिल्लामा सांगठनिक विस्तार तथा समन्वयको लागि क्षेत्र नं. १ मा किशोर ताम्राकार, क्षेत्र नं. २ मा हिमकुमार लुङगेली मगर र क्षेत्र नं. ३ मा मोहन गोलेलाई संयोजक तोकेको छ ।

यसैगरी, विद्यार्थी विभागमा केशव चाम्लिङ, जनजाति विभागमा प्रदिपकुमार चौधरी, मजदुर विभागमा शसिकुमार राई र महिला विभागमा फूलमाया परियारलाई विभागीय प्रमुखको रुपमा जिम्मेवारी दिइएको क्षेत्र नं. ३ का क्षेत्रीय संयोजक मोहन गोलेले बताउनुभयो । पुराना राजनीतिक पार्टीहरुले नेपाली जनताको म्यान्डेट शान्ति र संविधानलाई पूर्णता दिन नसकेको हुँदा नयाँ राजनीतिक शक्ति निर्माणको लागि विचार समूह स्थापना गरिएको गोलेले बताउनुभयो । उहाँले चाडै नै जिल्लाका सम्पूर्ण गाविसमा विचार समूह गठन गरी नयाँ बन्ने राजनीतिक शक्तिमा उत्पीडित जनतालाई गोलबन्द गराउँदै जाने बताउनुभयो ।