संघीयता र लिम्बुवानका लागि संघीय–लिम्बुवान मार्चपास हुँदै :
मङ्सिर २१ र २२ गते उर्लाबारीदेखि इटहरीसम्म हुने मार्चपासको Live प्रशारण हुने
लिम्बुवान (मोरङ), २० मङ्सिर २०६९ । संघीयता र लिम्बुवानका लागि संघीय–लिम्बुवान आन्दोलन जारी रहेको भन्दै मङ्सिर २१ र २२ गते मोरङको उर्लाबारीदेखि इटहरी, सुनसरीसम्मको ऐतिहासिक पाँचौ लिम्बुवान रोड मार्चपास हजारौं नेता तथा कार्यकर्ताहरू को सहभागीतामा हुँदैछ ।
LIVE Link:
Live Media URL:
http://www.ustream.tv/channel/12756450
ऐतिहासिक संघीय–लिम्बुवान मार्चापासको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मोरङ जिल्ला कार्य समितिका अध्यक्ष भगिराज तुम्सा तथा सह–आयोजक सङ्गठन संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष बाङगाई धिमालले जानकारी गराउनु भएको छ ।

लिम्बुवानको ९ वटै जिल्ला (झापा, पोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभा) तथा काठमाडौं उपत्यकाबाट समेत हजारौं नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न हुने यस मार्चपास कार्यक्रम मङ्सिर २१ गते दिउँसो मोरङको उर्लाबारीबाट शुरुभई बेलुकी मोरङकै बेलबारी बजारमा बसेर २२ गते अपरान्ह इटहरी सुनसरीमा पुगी मार्चपास सभा गरेर कार्यक्रम पूरा हुने बताइएको छ ।

मञ्च सम्बद्ध लिम्बुवानको भ्रातृ–सङ्गठनहरू लिम्बुवान भोलेण्टियर्स (एलभी), संघीय लिम्बुवान महिला परिषद, संघीय विद्यार्थी युनियन लिम्बुवान, संघीय लिम्बुवान युवा मञ्च, संघीय लिम्बुवान तुम्याहाङ परिषद, संघीय लिम्बुवान शिक्षक परिषद, संघीय लिम्बुवान पत्रकार परिषद लगायतको सशक्त सहभागिता रहने परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले जानकारी गराउनु भएको छ ।
जातीय मुक्ति आन्दोलनका पुराना योद्धा तथा लिम्बुवानका मोरङका अध्यक्ष भागिराज तुम्साका अनुसार यस मार्चपासमा मोरङको ६५ वटा गा. वि. स.बाट मात्र कम्तीमा २ हजार नेता तथा कार्यकर्ताहरू सडकमा आउने छन् । अध्यक्ष तुम्साले मार्चपासको लागि आर्थिक र भौतिक व्यवस्थापनको अन्तिम तयारी पूरा भएको भन्दै एकदमै उत्साह, जोस र जाँगरका साथ उक्त कार्यक्रमलाई सम्पन्न गरी एकात्मकवादीहरूलाई चुनौती दिनुपर्ने बताउनु भयो । साथै, वहाँले यस मार्चपासलाई सफल पार्नका लागि देश–विदेशमा रहनु भएका संघीयता, पहिचान र लिम्बुवानवादी महानुभावहरूबाट नैतिक, भौतिक, र आर्थिक सहयोग भइरहेको जानकारी समेत गराउनु भयो ।

यस पाँचौं ऐतिहासिक लिम्बुवान मार्च पासका सह–आयोजक सङ्गठन संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका उप– महासचिव बाङ्गाई धिमालका अनुसार अरुण–सप्तकोशीपूर्वको झापा, मोरङ र सुनसरीमा आदिवासी धिमालहरू रहेको र त्यसमा पनि मोरङमा सबैभन्दा बढी संख्यामा धिमालहरू रहेकोले लिम्बुवान धिमाल भोलेण्टियर्स (एलडीभी) हरूलाई यो मंसीर २१ र २२ को लिम्बुवान मार्च पासमा उच्च मनोबलका साथ जुट्नगरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनु भएको छ ।
संघीय लिम्बुवान महिला परिषद मोरङ जिल्ला कार्य समितिका उपाध्यक्ष दिलु लिङ्देनका अनुसार महिलाको अधिकार, अस्तित्व र पहिचानका लागि हजारौं महिलाहरू सडकमा उत्रेर मार्चपासमा सहभागी हुने जानकारी गराउनु भएको छ ।
यसैगरी, संघीय लिम्बुवान तुम्याहाङ परिषदका सदस्य रामहर्क खम्बूले यो मार्चपासमार्फत् लिम्बुवानबाट संघीयताको राँको मेची महाकाली, तराई, पहाड र हिमालहुँदै देश–विदेशसम्म फैलने बताउनु भएको छ ।
उर्लाबारीदेखि इटहरीसम्म करिब ३६ किलोमिटर पैदल हिँडेर सम्पन्न हुने ऐतिहासक संघीय–लिम्बुवान मार्चपासको सफलताको लागि विदेशस्थित् प्रवास कार्य समितिहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बेलायत (यूके), मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, बेलायत (यूके), हङकङ, यूएई, मलेशिया, कतार, अष्ट्रेलिया, कोरिया र साउदी अरब लगायतबाट शुभकामनाका साथ जेथासक्दो आर्थिक तथा भौतिक सहयोगहरू पनि आइरहेको आयोजक मारेङ जिल्लका अध्यक्ष भागिराज तुम्सा तथा सह–आयोजक सङ्गठन धिमाल परिषदका अध्यक्ष बाङगाई धिमालले जानकारी गराउनु भएको छ ।
यस मार्चपास विगतको भन्दा अझ धेरै सङ्ख्यामा सहभागी भई सशक्त र व्यवस्थित समेत हुने आयोजकहरूले जनाएका छन् ।
यस मार्चापासमा लिम्बुवानका स्वायत्त क्षेत्र परिषदहरू संघीय याक्खालेन स्वायत्त परिषद, संघीय आठपहरीया स्वायत्त परिषद, संघीय लेप्चा स्वायत्त परिषद, संघीय रजावंशी स्वायत्त परिषद, संघीय मेचे स्वायत्त परिषद र लिम्बुवानवासी नेवाः समाज लगायतको पनि सशक्त सहभागीता रहने लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङले बताउनु भएको छ ।
उक्त मार्चपासमा पहिचान र संघीयवादी आदिवासी जनजाति बुद्धिजीबी तथा अभियन्ता तथा स्वतन्त्र अध्ययन–अनुसन्धानकर्ताहरू समेत सहभागी भई हिँड्ने भएका छन् । साथै, यस मार्चपासमा नेवाः, तमुवान र खम्बुवानबाट समेत पर्यवेक्षकको रुपमा केही नेतृत्वहरूको सहभागिता हुने कार्यक्रम छ ।
मार्चपासलाई मोरङ र सुनसरीका विभिन्न गाउँ कार्य समितिहरूले सडकको विभिन्न स्थानमा स्वागत गर्दै खाजापानी खुवाउने कार्यक्रम छ ।
उर्लाबारीदेखि इटहरी सम्म हुने यस मार्चपासमा विभिन्न व्यानर, प्लेकार्ड, भण्डा, साँस्कृतिक झाँकी र संघीय–लिम्बुवानी नाराबाजी तथा विभिन्न गीत–सङ्गीतहरूले सुसज्जित हुनेछ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लामो समयदेखि संघीयता र लिम्बुवान आन्दोलनको नेतृत्व गरिरहेको भन्दै संघीय गणतान्त्रिक नेपाल अन्तर्गत अरुण–सप्तकोशीपूर्व लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गर्न; आई एल ओ महासन्धि १६९ र यूएनड्रीपलाई कार्यान्वयन गराउन यस्तो आन्दोलन गरिएको आयोजक सङ्गठनद्वारा जारिगरिएको अपीलमा उल्लेख छ ।
लिम्बुवान भित्रै लिम्बुवानमा बसोवास गर्ने सबै जातिको हक–अधिकार सुनिश्चित गर्न–गराउन, सिमान्तीकृत आदिवासी जनजातिहरूलाई स्वायत्तता प्रदान गर्न; संघीय सह–अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद, संघीय ईको– अर्थतन्त्र र संघीय राष्ट्रवादको विकास गर्नु संघीय–लिम्बुवान आन्दोलन र यस मार्चपासको मूलभुत उद्देश्य रहेको लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले बताउनु भएको छ । यसका साथै, यस्तो मार्चपासबाट शान्तिपूर्ण तर सशक्त आन्दोलनको दबाव सिर्जना गरी एकात्मक शासकहरूलाई दबाव दिन, संघीय–स्वायत्ततावादीहरूमा जन–चेतना जगाउँदै एकापसमा अन्तक्र्रिया गर्दै कठीन र निर्णायक आन्दोलनको तयारी हुन अभ्यास हुनेसमेत अपेक्षा गरिएको छ ।
मङसिर २१ र २२ गते डिसेम्बर ६ र ७ मा उर्लाबारीदेखि इटहरीसम्म हजारौं संघीय–लिम्बुवानी नेता तथा कार्यकर्ताहरू एकसाथ पैदल हिँडेर सम्पन्न हुने मार्चपास कार्यक्रमको उर्लाबारीमा हुने उद्घाटन सभा, बीचमा हुने महत्वपूर्ण सभा, सहभागी नेता–कार्यर्ताहरूसँगको विशेष अन्तर्वार्ता तथा अन्तक्र्रिया र इटहरीमा पुगेपछि हुने समापन समारोहको देश–विदेशमा रहनु हुने शुभेच्छुक जिज्ञासु महानुभावहरूको जानकारीको लागि विभिन्न वेब साईट तथा फेसबुक पेजहरूबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ । मार्चपासको लाइभ प्रशारण वेबसाइट www.nepalisamachar.com र www.sanghiya.com तथा फेसबुक पेज: www.facebook.com/nepalisamachar / www.facebook.com/limbuwanstate साथै प्रत्यक्ष प्रशारण लिंक: http://www.ustream.tv/channel/12756450 बाटसमेत कार्यक्रम भइरहेको बेला लाइभ र पछि पनि रेकर्डेड प्रशारण हेर्न र सुन्न सकिने छ । यस प्रत्यक्ष प्रशारणको व्यवस्थापन नेपाली समाचार डट कम, संघीय डट कम र लिम्बुवानका प्रवास कार्य समितिहरू यूएई, बु्रनाई, यूके र आयोजक मोरङ जिल्ला तथा धिमाल स्वायत्त परिषदले गरेका छन् ।
– डीबी आङबुङ लिम्बू, लिम्बुावन
