आदिकिरात र “स्यस्य” – भीम राई


वर्तमान नेपाली राजनीतिमा इतिहास र पहिचान कसरी स्थापित गर्ने या लेख्ने भन्ने सवालमा किरात, खसान, मगरात र लिम्बुवानजस्ता क्षेत्रहरूको बहस या कुरा भएपनि त्यतिकै महत्वपूर्ण पहिचान बोकेको “स्यस्यादः”को भने कसैले कुरा या विषय उठान गरेको पाइँदैन । भनिन्छ, नेपालको इतिहास लेखन या विश्लेषण चित्तबुझ्दो छैन । यस लेखमा इतिहासमा बिर्सिएको यस्तै एउटा ऐतिहासिक कालखण्ड, भूगोलको बारे चर्चा गरिन्छ ।

पहिचान या ऐतिहासिक नाम या चिन्हहरू आज किन आवश्यक भयो भन्ने सन्दर्भबारे नेपालका धेरै बाहुन विद्वान भनाउँदा लेखक तथा साहित्यकारहरूलाई “वाहियात” लाग्छ । यसको अर्थ छ । उनीहरूलाई आफ्नो एकल पहिचान स्थापित गरेर अन्य आदिवासीका पहिचान मेटाउनु नै सबैथोक लाग्नु हो । यो तथ्य पृथ्वीनारायण शाह, राणाहरूहुँदै “प्रजातन्त्र”को उदय र फेरि पञ्चायतकालभरि उनीहरूका धर्म, संस्कार, नियम कानुन र त्यतिले पनि नपुगेर विद्यालयका पाठ्यपुस्तकहरूमा बाहुनहरूका एकल पहिचान झल्कने भाषा, धर्म र आदर्श नियमहरू सम्पूर्ण आदिवासीहरूले पढ्नु परेको बिडम्वना हो । किन यसो भयो त ?

जेम्स स्कट, जोन तेहरानियन र जेरेमी म्याथियसले ‘द प्रडक्सन अफ् लिगल आइडिन्टिटिज् (२००१)’ नामक पुस्तकमा “नामहरूले पहिचानहरू, साँस्कृतिक सम्बद्धताहरू र ऐतिहासिकताहरूको निक्र्योल गर्न मुख्य भूमिका खेल्छन्, नामहरूले नै जनसमूहलाई फुटाउन, जुटाउन सक्छन् । नामहरूले विचार, ज्ञान अनि सत्ता सञ्चालनसँग सम्बद्ध अभिन्न प्रक्रियालाई प्रतिनिधित्व गर्छन्” भनेका छन् ।

यसको सैद्धान्तिक पृष्ठभूमि उनीहरूले राम्ररी बुझे । तर हामीले बुझेनौं । यो लेखको बाँकी स्रोत, सन्दर्भ मार्टिन चौतारीमा भिक्टर प्रधानसँग भएको छलफलमा आधारित छ । उनी त्रिविमा ३० वर्षको प्रध्यापनपछि अवकास प्राप्त नेपाली भाषाका प्राध्यापक हुन् ।

को हो स्यस्यः या स्यस्याँद ?

नेपालको इतिहासको अध्ययन गर्दा प्राचीन किरातहरूसँगसँगै स्यस्यःहरूको पनि वर्णन पाइन्छ । अर्थात्, नेवार जातिभित्र नयाँ शब्द÷जाति “स्यस्यादः” फेला परेकोछ । इतिहासकार बाबुराम आचार्यले पनि नेपालको इतिहास लेख्दा किरातकाल, मगरात, खसान र स्यस्याँद गरी चारवटा भौगोलिक क्षेत्रको नाम लिएका छन् । सिल्वा लेभिले स्यस्यःहरू किरात हुन् भनेर लेखेका छन् । उनले जर्मन दार्शनिक टोलोमीलाई उद्धृत गदै “स्यस्यःहरू यो किरात भूमिमा चीनतिरबाट आएका हुन्” भनेका छन् ।

लेभीको अनुसार उनीहरू औषधीको व्यापारी भएकाले “मालाव्याथ्रोन” नामक औषधी नेपालमा ल्याउँथे । सम्भवतः उनीहरूले ती औषधीहरू चीनबाट ल्याउने गर्थे भन्ने छ । यसरी बाबुराम आर्चाय र सिल्वाँ लेभीले स्यस्यःहरू किरात थिए भनेर स्पष्टरुपमा भन्नु र स्यस्यःहरू नेवारी साहित्यमा पनि पाइनु इतिहासमा रोचक पक्ष देखिन्छ । उनीहरूको विचारमा यी स्यस्यःहरू नै पछि नेवारमा परिवर्तन भएका हुन् भन्ने अनुमान छ ।

सिल्वा लेभीले “स्यस्यः”हरूका “स्यस्याँदः” र “व्यसाँदे” गरी दुई भेदहरू रहेका उल्लेख गरेका छन् । तर दुवै उस्ता–उस्तै हुन् । कालान्तरमा दक्षिणरिरबाट आएका आर्यहरूले किरातहरूभित्र रहेको विभेद या उपसमूहहरूलाई वास्तै नगरी सबैलाई सबैलाई किरात भनेका हुन् भन्ने छ ।

यी आर्यहरू सत्ता नजिक कसरी पुग्न सफल भए भन्ने कुराको अलिक भरपर्दो उदाहरणको लागि एक जना “सिंह सार्थवाह” भन्ने दक्षिणतिरबाट आएका एक व्यापारी हुन् । जो अहिले हालको श्रीलङ्काबाट आएको हो भन्ने पनि भनाइ छ । “सिंह सार्थवाहु” लोककथाअनुसार “सिंह सार्थवा” जसलाई अहिलेका ठमेलका प्रधानहरूका पुर्खा पनि भनिन्छ, यहाँ आएर उनले तिब्बतसँग पनि व्यापार गरेको थियो, भनिन्छ । तर, ऊ यहाँ आएर काठमाडौंको उत्तर–पश्चिम इलाका अर्थात् अहिलेको धर्मस्थली गाउँको गणनायक, या टाकुरे राजा भयो र केन्द्र (काठमाडौं) नगर राज्यको सेनाधिपति भएको इतिहास छ । अर्थात, उसले “गरुड” मान पदवी लिएको थिए, पाएको थियो । यस अर्थमा उसलाई “गरुड राजा” पनि भनिन्छ । तर, यो कुरा १०औं शताब्दीतिरको हुनुपर्छ किनभने यही अवधिमा ठमेलमा विहारहरू बनिसकेको इतिहास छ । त्यसकारण, यो घटना भएको १० शताब्दी भन्दा बरु ९, ८ या ७ औं शाताब्दीतिरको हुनुपर्छ । तर त्योभन्दा यताको होइन ।

शाक्यहरूको नरसंहार

बुद्धको समयमा नै राजसत्तामा स्थापित भइसेकेर यता आएका शाक्यहरू दरवार या सत्ताको नजिक भएनन् । किनकि, बुद्धको अन्तिम समयतिर यी शाक्यहरूको नरसंहार भएको थियो । त्यहीकारण, ती शाक्यहरू श्रीलङ्कातिर, कोही भारतभरि छरिए भने कोही यो हिमालयको पहाडतिर एक टुकडी आएका थिए, भनिन्छ ।
यो प्रशंग किन उठाएको हो भने सँगसँगै आएका “सिंह सार्थवाहु”हरू चाहि जो ठमेलका प्रधानहरूको पुर्खा भनियो उनीहरू चाहि स्यस्यः अथवा प्रधान उपाधि लिइसकेका थिए, भैसकेका थिए । त्यस समयमा नै कोही सत्तासँग नजिक भएको भने कोही नगएको देखिन्छ । यसको अर्थ, हामीले स्यस्यः भनेको के हो भन्ने कुरा बुझ्यांै भने स्पष्ट हुन्छ ।

को हुन स्यस्यः ?

यहाँ, स्यस्यः नै को थिए भन्नेवारे कुरा गर्दा अलिक प्रष्ट हुन्छ । स्यस्यःहरू आफूलाई नेवारभित्रको क्षेत्री वर्गलाई भन्छन् । यो भनेका दरवारमा बस्ने क्षेत्रीजस्तो हो । स्यस्यः आफूलाई राजाको पछाडि राख्थे । कोही हिन्दू धर्मालम्बी थिए भने कोही बौद्ध पनि । हिन्ूु भएकाले राजोपाध्यय ब्राह्मणहरूको पछाडि यी स्यस्यःहरू आउँथे । यसरी दरवारमा उनीहरू ठूला भए । यी स्यस्यःभित्र पनि पाँचथरे (स्पष्ट छैन) र छथरे भनेर विभाजन छ । तर, छथरीलाई मुख्य मानिन्छ । यो वर्गीकरण राणाकालसम्म पनि यथावत थियो ।

छथरेहरूमा अमात्य, पधानाङ्ग, कर्माचार्य राजभण्डारी, मास्के र जोशी हुन् । यसमध्ये अमात्य र पधानाङ्ग दरवारका मुख्य मन्त्री हुनेगर्दथे । राजभण्डारीले राज्य÷राजाको भण्डार हेर्ने गर्दथ्यो । कर्माचार्यहरू धर्माधिकारीहरू हुन् । अहिले सबै काम राजोपाध्यहरूले गर्छन् र कर्माचार्यहरू उनीहरूको सहायकको रुपमा काम गर्छन् । पहिला धर्मसम्बन्धी सबै कामहरू, उदाहरणको लागि, राजाको धर्म, कर्म, मन्दिरहरूको रेखदेख, आय आयस्था हेर्ने गर्ने यिनै कर्माचार्यहरू थिए । जोशीहरू ज्योतिषको काम गर्दथे । यसमा दरवारको लागि शुभ–अशुभ साइत हेर्ने आदि पर्छन् । त्यपछि, मास्केहरू आउँछन् र यो “महा नसक” अपभ्रंस भएर “मास्के” भएको हो । “महा नसक” भनेको भान्सा हो । उनीहरू भान्साका नाइके हुन् ।

“शाक्य”हरू र सत्ता

प्राचीकालकै कुरागर्दा जब दक्षिणतिरबाट “सार्थवाहु” (व्यापारी) आउन थालेका थिए । कालान्तरमा ऊ सत्तामा पुग्यो र स्यस्यः भयो । “शाक्य”हरू सत्तामा गएनन् र स्यस्यः पनि भएनन् । किनभने, उनीहरूलाई सत्ता मोह थिएन । किनकि, एक त उनीहरू राजखलक नै थिए, र राजा भएकैले उनीहरूको कत्लेआम काटिनु परेको थियो, थियो । अर्को उनीहरूमा बुद्ध दर्शनको ठूलो प्रभाव परेको थियो । “कपिलवस्तुको राज्यसत्ता त गयो । अब किन यहाँ राज्य सत्ता चाहियो ? या, संसार नै यस्तै हो भन्ने” बुद्ध दर्शनको कारण उनीहरू सत्तामा गएनन् । र, उनीहरू अर्को वर्गमा गए ।

स्यसाँदः नगरमा टिक्न सक्ने र नसक्ने दुई वर्गको उदय हुँदैथियो । टिक्न नसक्नेहरू परपर सर्द गएका थिए । जो नगरमा टिक्न नसकेर ग्रामतिर पछि हट्दै गए उनीहरू आजका तामाङहरू हुन् भन्नेछ । जो बस्न या टिक्न सफल भए उनीहरू ज्यापू नेवार भए । यसरी, दुई या तीन नगरहरू बन्दै या नगर निर्माण हुँदैजाँदा वर्ग पनि निर्माण हुँदैथियो ।

जंगवहादुरले मुलुकी ऐन्मा “मतुवाली महल” बनाएर नेवारलाई पनि हालेका छन् । छ थरीभित्र मल्लहरू किन नपरेको होला ? “मल्ल”हरू नेवार वर्गीकरणभित्र पर्दैनन् या पर्छन् भन्ने सन्दर्भको चर्चा गरौं ।

समान्यतः मल्लहरू पनि नेवारभित्रका एकजाति हुन् भन्ने आम बुझाइ छ । जंगबहादुरको मुलुुकी ऐन् होस् या अन्यमा मल्लहरूको कुरा गर्दा के स्पष्ट हुन आवश्यक छ भने मल्लहरू राजधानीमा अलिक पछि आएका हुन् । उनीहरू सत्तावाल अर्थात् ठकुरी हुन् । त्यही भएर उनीहरूलाई यो छथरीभित्र नहालेको हो । अर्को कुरा जयस्थिति मल्ल नै दक्षिण भारतबाट आएका हुन् । उनी नेवार होइनन् । उनी आफै नै मल्ल हुन् या होइनन् ? शङ्का छ । किनभने, उनले त यहाँको राजकुमारीसँग बिहे गरेका हुन् । यहाँको नेवार राजाको घर ज्वाईं बसेका हुन् । घर ज्वाईं बसेपछि उनी नेवार बनेका हुन् । अर्को कुरा, जयस्थिति मल्ल ज्यादै धूर्त, बदमास थिए । त्यसैले, उनी राजा नै हुन भनी नेपाल आएका थिए ।

“मल्ल”हरू सत्ताधारी या ठकुरी भएकाले जो–जो राजाहरू बिग्रिए उनीहरू ठकुरीबाट झरे । ठकुरीबाट झरेपछि झर्ने उही छथरीमा नै हो । त्यसैले, उनीहरूलाई नेवारभित्रको छथरीभित्र नहालेको हो । त्यसकारण, “धवोडेल” र मल्लहरू छथरीमा परेनन् । अर्को, मल्लहरूले दरवार कब्जा गर्नुपरेन । किनकि, उनीहरू आफै श्रीपेचधारी राजा थिए । जबसम्म उनीहरूको टाउकोमा श्रीपेच थियो, मल्लहरूले छथरीहरूसँग बिहे पनि गरेनन् ।

यी विभिन्न वर्गहरू नै छथरे हुन् र यिनीहरू नै स्यस्यःहरू हुन् । तर, उनीहरूबाहेक अरुचाहिँ स्यस्यः छैनन् भन्ने होइन । जस्तो धवोडेलहरू आदि थुप्रै छन् । यिनीहरूले दरवार कब्जा गेरर बसेका थिए । दरवारसाँग बिवाह गरेर बिहेवारी चलाए र दरवारसँग नजिकको साइनो गाँसे ।

यहाँ के महत्वपूर्ण सवाल उठ्छ भने, जसरी युरोपमा धर्माधिकारीहरूले दरवारमा पर्दापछाडि बसेर सत्ता सञ्चालन गर्दथ्ये । नेपालमा पनि ठीक त्यही पारामा यी छथरीका स्यस्यःहरूले पनि राज्य गरेको थिए । यस्तो धर्माधिकारीहरूले कौटिल्यको समयमा भारतमा पनि राज्य सञ्चालन गरेको देखिन्छ । यसको उदाहरण, पाटनका “बदनाम” छ प्रधानहरू हुन् । इतिहासमा उनीहरूले सत्ता कब्जा गरेको इतिहास छ ।

नेपालका मुन्सी “प्रधान”हरूमा मरुहिटीका प्रधानहरू, जो पाटनका छ प्रधानहरूमध्येका एक प्रधान थिए । यिनै प्रधानहरूमध्येका पाँच प्रधानहरूलाई पृथ्वीनारायण शाहले हत्या गरेका थिए भने ती पाटनका एक प्रधानलाई चाहिँ साँचेका थिए । यसको भित्री कारण दुई राज्यबीच लडाई हुँदा पृथ्वीनारायण शाहसहित उनका भाइहरू पनि मारिनसक्ने गोप्य सूचना दिइइ बाँच्न सफल भएकोले हो । यसरी, पछि उनका भाइलाई भगाउन उनीहरू सफल भएको र पाटनमा राजा भएर जाँदा पनि सहयोग गरेकोले पारितोषिक वापत ती प्रधानह बाँचे भने उनीहरू बाहेकलाई हत्या गरिएको थियो भन्ने छ ।

ती “मुन्सी प्रधान”हरूको पुर्खा को थिए भन्ने सन्दर्भमा “हरिसिंह देव” अथवा पाटनको एकजना राजाको छोरीसँग बिहे गर्नको लागि भारतबाट एकजना राजकुमार झिकाइएका थियो । ती राजकुमार र पाटनकी राजकुमारीबीच बिवाह भयो । तर ऊ जयस्थिति मल्ल राजा भएजस्तो ती राजकुमार पाटनको राजा हन सकेनन् । किनभने जयस्थिति मल्ल राजा नै हुन भनेर गद्दिनरसिंह रानीसँग बिहे गर्नको लागि भारतबाट नेपाल आएका थिए । यसो गर्न नसकेपछि उनी राजा हुन सकेनन् ।
तिनै राजकुमार राजकुमारीहरूको सन्तान नै पाटनका “मुन्सी प्रधान”हरू हुन् भन्ने मान्यता छ । मुन्सी भएको राणाकालमा हो । उनीहरूले मुन्सीको काम गरेको हुनाले मुन्सी भएका हुन् । राजा हुन नसकेपछि उसले मुन्सी काम गर्न थालेको थियो । त्यहीकारणÞ पछि राणाकालसम्म पनि उनीहरूका सन्तान “मुन्सी प्रधान” भएका थिए । तसर्थ, राज्य सत्ता, दरवारबाट झरेपछि उनीहरू पनि स्यस्यः भएका हुन् । यसरी, राजा या ठकुरीबाट झरेपछि स्यस्यः नै हुन्थ्यो । मल्लहरू पनि त्यसरी नै भएका हुन् ।

अर्को, जेन्युन कुरा बैद्यहरूचाहिँ खै त ? ऐतिहासिक रुपमा बैद्यहरू अलिक पछि आएको देखिन्छ । उनीहरू पहिल्यैबाट दरवारमा कब्जा जमाएर बसेका थिए । ऐतिहासिक रुपमा हेर्दा उनीहरूको आगमन अलिक पछि भएको देखिन्छ । उनीहरू आउनुभन्दा अघि स्यस्यःहरू स्थापित भैसकेका थिए । प्राचीन समयमा “बैद्य”हरू किनपनि थिएनन् भने स्यस्यःहरू आफै व्यापारी र विशेषतः औषधीका व्यापारी हुनाले उनीहरू आफै पनि वैद्य या विशेषज्ञ थिए भन्न कारणले हो । त्यसकारण, दरवारमा छुट्टै बैद्यको खाँचो थिएन । यहाँ के भन्न सकिन्छ भने उनीहरू दरवारमा जान चाहेकाले छिट्टै स्यस्यः वर्गमा प्रवेश गरेका हुन् र जसलाई त्यसो गर्न थिएन उनीहरू सिल्पी या अन्य कुनै वर्गमा बसिरहे । यहि स्यस्याँदबाट स्यस्यः अर्थात किरातबाट स्यस्यः वर्ग भएको होला भन्न सकिन्छ |

कता गयो लिच्छबीकाल ?

नेपालको इतिहासमा लिच्छबीकालदेखि उताको समयलाई कालो इतिहास भनिन्छ । हिमालय क्षेत्रमा लेखन या लिपीको थालनी भएको वैद्धिक आर्यहरूको आगमनपछि मात्रै भएको इतिहास छ । लिच्छबीहरू चाहि कता गए ? कोबाट पराजित भए ? वा, काम गर्ने वर्गमा फेरिए कि के हो भन्ने सन्दर्भमा उनीहरू पनि कालान्तरमा नेवारै भए भन्नेछ ।

यसको पनि सन्दर्भ जोड्दा आदिकिरातकालसम्म पुग्नुपर्ने हुन्छ । यहाँ के स्पष्ट हुनपर्छ भने यी लिच्छबीहरू ज्यापूमा परिणत भए भन्ने तथ्य सही होइन । तर, भन्न चाहि भनिन्छ । किनभने, जसलाई हामी लिच्छबी भन्छांै उनीहरू पनि सबै लिच्छबी थिएनन् । किनभने, “लिच्छबी” काल भनेर त भनिन्छ तर स्वयम् अंशुवर्मा नै लिच्छबी थिएनन् । फेरि, यो काल द्वैध शासनकाल थियो । कहिले गुप्ता त कहिले लिच्छवीहरू सत्तामा पुग्थे । अंशुवर्मा गुप्त थियो थिएनन् अलि अस्पष्ट छ । तर उनी लिच्छवीचाहिँ कदापि थिएनन् । बरु, लिच्छवीहरूको ज्वार्इं थिए । उनी राजा शिवदेवका मन्त्री थिए । शिवदेव बौद्धमार्गी थिए । उनले अंशुवर्मालाई मन्त्री बनाएर राखेका थिए । पछि शिवदेवले स्वैक्षिक अवकास लिएपछि या लिन बाध्य पारिएपछि अंशुवर्मा राजा भएका हुन् ।

त्यसकारण, लिच्छवीहरू कता गए भन्दा गुप्तहरू पनि कता गए भन्ने प्रश्न र सन्दर्भ सँगसँगै आउँछ । गुप्तहरूको बारेमा कुनै इतिहासकारहरूले पनि कुरा उठाउँदैनन् । यो नेपाली इतिहासको नमिल्दो पक्ष हो । यो इतिहासलाई सतही रुपमा हेरेर हचुुवाको भरमा विश्लेषण गरिएको प्रमाण हो । त्यसकारण, गुप्तहरू पनि कता गए ? अंशुवर्माकै सन्तान पनि कता गए भन्ने प्रश्न पनि उठाउन सकिन्छ । यति भन्न सकिन्छ कि लिच्छवीहरू पनि स्यस्यःमा गए होला ।

लिच्छवीकालमै मल्लहरू पनि काठमाडौं आइसकेको थिए । तर, त्यसबखत उनीहरू अरुजस्तै साधारण जनता थिए । उनीहरू पाटनका सुनगुठी लगायत साना–साना गाउँ बनाएर बसेका थिए । अर्थात, नयाँ गाउँ बनाउँदै त्यहाँका राजा या नाइके हुन्थे, भए । गाउँको नाइके भएपछि दरवारसँग साइनो–सम्बन्ध हुने नै भयो । उनीहरू कालान्तरमा दरवार पस्न सफल भए । र, ११ औं शताब्दीमा उनीहरू सत्तामा पुगेको देखिन्छ ।

यसरी मल्लहरू विस्तारै राज्यमा पसेको देखिन्छ । लिच्छवीहरू चाहि कहाँ गए भन्न सकिँदैन । अनुमान अनुसार केही लिच्छवीहरू पनि स्यस्यः भइसकेका थिए । यो अनुमान किन पनि गरिएको हो भने पछिका वैश ठकुरीहरूले काठमाडौं र पाटनलाई टोल–टोलमा विभाजन गरेर राज्य गरेका थिए । उनीहरू पछि स्यस्यः र धेरैजसो प्रधानमा प्रवेश गरे ।

यसबारे फेरि लोककथा आउँछ । इटुमवाहालको “गुरुमापा” भन्ने लोककथामा “केशरचन्द्र”को उल्लेख छ । ऊ त त्यहाँको नाइके र ठकुरी थियो । उसैले केशरचन्द्र परावर्तक महाविहारको जिर्णोद्धार गरेको कथा छ । यदि ऊनी बौद्ध मात्रै भएको भएत्यो जिर्णोद्धार गर्ने थिएनन्, भनिन्छ । “केशरचन्द्र”का सन्तानहरू प्रधान र उदासहरू गरी दुई शाखामा विभाजित भएको पाइन्छ । कोही ठकुरीहरू उदासमा गएको पनि पाइन्छ ।

बौद्ध साहित्यअनुसार “श्रेष्ठी” पद नगरमा दिइने सबैभन्दा उच्च मानपदवी हो । बुद्धको समयमा कपिलवस्तुमा यो पद नगरका ज्यादै धनी व्यापारीहरूलाई दिइने चलन थियो । उनीहरूको सम्बन्ध, आउ–जाउ भनेको राजपरिवारसँग मात्रै हुन्थ्यो र उनीहरू समान हुने गर्दथो । तर, बिहेवारी भने हँुदैनथ्यो । बिहेका लागि राजपरिवारले अर्कै राज्यको राजकुमार या राजकुमारीसँग गर्दथे । आर्थिक हिसाबले उनीहरू राजपरिवार समान हुन्थे ।

यो पद स्यस्यःहरूले पनि यो त्यतिखेर नै दिएको हुनुपर्छ । जो बाहिरबाट आएका थिए, दरवारसँग नजिक हुन चाहे र समान हैसियत बनाए उनीहरू स्यस्यःमा गएको हुनसक्दछ । तर, जो दरवार नजिक हुन चाहँदैनथे वा बुद्ध दर्शनका कारण मानेनन् र यो बाटो नै गलत छ भन्ने भए उनीहरू “शाक्य” मात्रै भए । वास्तबमा, हुनुपर्ने स्यस्यः ती “शाक्य”हरू नै हुन् किनकि, उनीहरू त क्षत्रीय नै थिए । “विडुधप” भन्ने राजाले उनीहरूको वंश शाक्यहरूको नरसंहार गरेको हुनाले उनीहरू यता आएका थिए । यस्तो लडार्इं झैझगडामा कति फस्ने भन्ने र बुद्धका मार्ग अपनाएकाले पनि उनीहरू दरवार नजिक हुन चाहेका थिएनन् । त्यसकारण, कोही–कसैलाई पनि नरसंहार गरेर या युद्धमा पराजित गरेर स्यस्यःहरू सत्तामा पुगेका होइनन् ।

E-mail: rai.bhim45@gmail.com

(लेखक राई, जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र,(सिड्स), ललितपुरमा आबद्ध छन् । – स.)