अरुणपूर्व लिम्बुवानका लागि हङकङमा गोलमेच सम्मेलन सम्पन्न
श्याम इङ्नाम हङकङ, २२ अगस्त २०१०/
”संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्धि अरुण-सप्तकोशीपूर्व लिम्बुवान” भन्ने मुल नाराका साथ मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्लासहितको स्वायत्त लिम्बुवान; ऐक्यवद्धताको आह्वान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ ।
A Round Table Conference on Limbuwan at Hongkong By FDNF FLSC
अगष्त २२ आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिव श्याम इङ्नामले गर्नुभएको थियो ।
अतिथिहरु जनजाति महासंघ हङकङका अध्यक्ष श्री एम. बी. थापा र किरात राई यायोख्खा हङकङका अध्यक्ष श्री किशन राईबाट अरुण-सप्तकोशी नदीपूर्वका नौंवटा जिल्लाहरु भएको लिम्बुवानप्रति ऐक्यवद्धतासहित समर्थन जनाउनु भएको थियो । जनजाति महासंघका भू. पू. अध्यक्ष तथा सनराइज साप्तहिकका सम्पादक श्री भुपेन्द्र चेम्जोङले नौं जिल्लासहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनीतिक तयारी गर्नु अब जरुरी भएको बताउनु भयो । त्यस्तै, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष श्री कृष्ण लावतीले भन्नुभयो नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णयको अधिकारसहितको नौं जिल्लाभएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ भन्नुभयो त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधैँ तत्पर रहने कुरा बताउनु भयो । त्यस्तै, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बी. ओख्राबूले नेपालको समसामयिक राजनीति बारेमा बोल्नु भयो । र, अरुण-सप्तकोशीपूर्वको नौं जिल्लासहितको लिम्बुवानको लागि एकात्मकवादीहरुबाट केही चुनौती रहेको कुरा बताउनु भयो ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका बरिष्ठ सल्लाहकार श्री प्रदीप कन्दङ्वाले नौं जिल्लासहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्णरुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गर्नुभयो । त्यस्तै, लिम्बू बुद्धिजिवी टंक चोङबाङले ऐतिहासिक नौं जिल्लासहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित बुँदाहरु कार्यपत्रको रुपमा पेश गर्नुभएको थियो । त्यस्तै, संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठन संघीय लिम्बुवान भू.पू. गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङका अध्यक्ष श्री मनप्रसाद आङ्देम्बेले नौं जिल्लासहितको लिम्बुवान प्राप्तिको लागि एकीकृत आन्दोलन गर्नुपर्ने र समयको क्रमसँगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भन्नुभयो ।
कार्यक्रमको अन्त्यमा, सभापति नबराज काम्बाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने ऐतिहासिक भूमिको सम्मान हुने र झापा, मोरङ र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भूभाग लिम्बुवानको अभिन्न अङ्ग हो र त्यसलाई जसरी भएपनि लिम्बुवानमा नैं पार्नुपर्दछ भन्नुभयो । कुनै पार्टी वा संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्र्याएर वा अपूरो लिम्बुवानलाई स्वीकार गरेमा भोलि लिम्बुवानको नयाँ इतिहासमा सो समूह वा पार्टी कालो धब्बाको रुपमा हुने ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गर्नुभयो । र, अरुण-सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लासहितको लिम्बुवानको लागि त्यहाँ बसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको व्यवस्था गरिने र लिम्बुवान सबैको साझा लिम्बुवानको रुपमा विकास गरिनेछ भन्नुभयो । सो नौं जिल्लासहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस ‘झापा, मोरङ, सुनसरी’ र मिशन डीएस ‘धनकुटा र सङ्खुवासभा’ लाई दीर्घकालीन रणनीतिको रुपमा विकास गर्न अहिलेदेखि नै सक्रिय र सशक्त रुपमा लाग्नुपर्ने कुरा बताउनु भयो । पूर्वका नौं जिल्लासहितको लिम्बुवानको लागि सबै अतिथिहरुबाट ऐक्यबद्धता जाहेर गर्नु भएकोमा धन्यवाद टक्र्याउँदै कार्यक्रम सम्पन्न भएको थियो ।
– श्याम इङ्नाम हङकङ (डीबी आङ्बुङ, नेपाल)
