अन्तर्वार्ता: बिचार र दर्शनले नै जीवनमा सबथोक बनाउँछ (खगेन्द्र पन्धाक)
१. नेपालपोल्याण्ड इयु मा हार्दिक स्वागत छ । दाजु यहाँको छोटो परिचय दिनुस न |
– म साहित्यकार-कलाकार वा अरु केहिभन्दा पहिले बिचारक र दार्शनिक हुँ । बिचार र दर्शनले नै जीवनमा सबथोक बनाउँछ । जन्म-२०३४, बैसाख-१०, हाङ्खाङ्ग्ला, पौंठाक-४, तेह्रथुम, कोशी , नेपाल ।
२. बिदेशी भुमिमा बसेर पनि साहित्यलाई उत्तिकै माया गर्न भ्याउनु भएको छ नि ?
– कहाँ बसेर साहित्य वा कलालाई माया गर्ने भन्ने नै हुँदैन । देश र परदेश पनि हुँदैन मेरोलाग त । म त बैंककमा पूरै ८ बर्ष बेरोजगार बसेर पनि चिन्तन र सिर्जनामा रमाईरहेकोछु । अनलाईन मार्फत दिनहुँ दर्शन सुनाइरहेको छु । बस् यति हो- जहाँ-जसरी बसे पनि जीवन-जगतको भलोकोलागि शुभचिन्तक हुनुपर्दछ, म शुभचिन्तक नै हुँ ।
३. अमुर्तबोधी दशर्न भनेको के हो ?
-दर्शन जीवन-जगतको मङगलताकोलागि सकरात्मक-सिर्जनात्मक सोच-चिन्तन हो । आजसम्मका मान्छेले जीवन-जगतकालागि जे-जे राम्रा काम गरे, ती पनि पर्याप्त नभएकोले हरेक गौणकुराको खोज, सदुपयोग, उत्खनन,आविस्कार, सिर्जना आदिबाट अमूर्तसत्य शक्तिहरुलाई प्राप्त गरेर जीवन-जगतलाई सुखी, दीर्घायू, उन्मुक्त, सम्पन्न, शान्त र खुशी प्रदान गर्ने दर्शन नै अमूर्तबोधी दर्शन हो । आफ्नै आत्मा पनि अमूर्त रहेको हुन्छ । त्यस्ता अमूर्त कुरा( वस्तु,भावना-सम्भावना)हरुको बोधता नै अमूर्तबोधी दर्शन हो ।
४. अमुर्तबोधी दशर्नसँग सम्वन्धित यहाँका प्रकासित तथा प्रकाशोन्मुख कृतिका बारेमा बताइदिनुस न ।
-मैले आजसम्मन गरेका कार्य वा सबै सिर्जना नै अमूर्तबोधी दर्शनाधारित छन् । तरै पनि कथात्मक रुपले उपन्यास ‘अब्स्ट्रयाक्ट बैंकक’मा यसका सैद्धान्तिक टिपोट र ब्याख्या छ ।
५. अमुर्तबोधी दशर्न नै रोज्नुको कारण ?
-नित्से, बुद्ध, जिसस वा जोकोहिले पनि आजसम्म चर्चा गरेर ल्याएका दर्शनहरु पूर्ण नहुनाले उनीहरुका अनुयायी अझै दुखी-गरीब र बेखुशी छन । तिनै अपुगहरुलाई परिपूर्ति गर्न यो दर्शनको अहम भूमिका रहन सक्दछ भन्ने बोधताले यो दर्शनको विकल्प देखा पर्यो । हामी विकल्पको खोजक पनि हुनाले यो दर्शनको प्राप्ति भयो । यसका बारेमा महत्वपूर्ण बूँदाहरू, प्रयोगहरु र विस्तृत ब्याख्याहरुको बारेमा भने अनलाईन कन्भर्सेसनमा सम्पर्क गर्न सक्नुहुनेछ । Khagendra Pandhak Limbu (skype), yakthung_chum044@yahoo.com, Tell-0066-816499843
लिखतमा भने अझै जोडीबर्षमा मात्र प्राकाशित गर्ने योजना रहेकोछ ।
६. अबस्ट्र्याक्ट बैकक ले खुब चर्चा पायो नि के हो यो अबस्ट्र्याक्ट बैकक ?
-अब्स्ट्रयाक्ट बैंकक- उपन्यास मात्र होइन, अमूर्तबोधी दर्शन हो । एक यौनकर्मीको सत्यकथा हो । तर कथा मात्र होइन-अमूर्तबोधी दर्शनको प्रयोगात्मक बयान पनि हो ।
७. नेपाली लोकगित संकलक र गायक हुँदाहुँदै नया बिधा गेडिको प्रबर्धन गर्नुभयो के फरक छ गेडी र लोकगीतमा ?
-कुनैपनि साहित्यिक विधाहरु मान्छेले निर्माण गरेका हुन् । तर नेपाली साहित्यको मौलिक विधा के नि ? यै प्रश्नको विकल्प हो ‘गेडी’ । नेपालका प्राय: सबैखाले लोकगीतहरुको समायोजनले सबै लोकगीतका कलारस र भावरसहरुको अन्वयले गडी बनेकोछ । कुनै पनि एक लोकगीत केवल एक मात्र हुन सक्छ, तर गेडीमा सबै लोकगीतहरुले एक गेडी हुन्छ वा एक गेडी बराबर सबै लोकगीत !
८. अमुर्तबोधी दशर्न वा अमुर्तबोधी साहित्य अरुभन्दा किन फरक छ ?
-माथीको छोटो परिभाषामा यो प्रश्नको टड्कारो जवाफ छ । यो पनि एक अमूर्तबोधी जवाफ हो । यसको पृथकताले फरक छ ।
९. तपाईं एउटा स्थापित साहित्यकार हो,कत्तिको सन्तुस्ट हुनुहुन्छ ? र यस क्षेत्रमा प्रबेस गर्न चाहने नया पिढिलाई के भन्न चाहनुहुन्छ ?
-म आफू स्थापित हुन साहित्यकार बनेको होइन । मैले भनिसकेँ- साहित्यकारभन्दा पहिले म दार्शनिक हुँ । दर्शन जीवन-जगतको मङ्गलताकोलागि हो । बस ! मेरो साहित्यिक सिर्जनाबाट धेरै पाठक लाभान्वित हुँदैछन् भन्नेमा विश्वास छ । चिन्तनबाट दर्शनलाई पहिले आफूमा स्थापित हुन दिनुस् ! तपाईले सोचे-गरेका सबै कार्य मानव जीवन र जगतकालागि हितकर हुनेछन् । साहित्य लेख्नु शब्द लेख्नु होइन, जीवन-जगतको भलो देख्नु-लेख्नु हो ।
१०. साहित्य र राजनिती एक अर्कामा सरोकार राख्ने बिषय हुन कि होईनन ?यदी हुन भने नेपालको बर्तमान राजनैतिक अवस्थालाई कसरी बिस्लेषण गर्नुहुन्छ ?
-साहित्यले राजनितिलाई दिशानिर्देश गर्नुपर्दछ किन कि साहित्यमा तमाम दर्शन हुन्छ । तर राजनितिमा दर्शनको एक सानो बूँदा जस्तो त्यै दर्शनको सानो अंशको कार्यनिर्धारण मात्र हुन्छ । साहित्यमा दर्शन हुनाले सबैखाले जीवनका परिपाटीहरु यसभित्र पर्छन् । राजनितिले साहित्यलाई हाबी गर्यो भने दर्शन बन्दैन, वाद बन्छ र विवादमा मर्छ । यस्ता सम्भावित दुर्घटनाहरुको सावधानीकालागि पनि साहित्य बोल्नुपर्दछ जो राजनितिले बोल्न सक्दैन । नेपालको अवस्थामा चाहीँ राजनितिले साहित्यलाई निलेकोछ र दुर्घटनाहरू हुँदैछन् ! अमूर्तबोधी दर्शनाधारित साहित्यले भन्दछ कि परिपूरकको सिद्धान्तले १.आध्यात्म(आत्नज्ञान)-३३.३३३३%, २. बिज्ञान (भौतिक वस्तु)-३३.३३३३% र ३. प्रकृति(हावा-पानी-घाम-माटो आदि)-३३.३३३३% को तादम्यताले चल्नू !
११. अबको नेपाली साहित्य कुन धारमा मोडिनु पर्छ जस्तो लाग्छ ?
-साहित्यमा बिचार, चिन्तन र दर्शनबिनाको रुवाबासीलाई मात्र कलात्मकता प्रदान गरेर पुग्दैन । दर्शन सौन्दर्य र कला सौन्दर्यलाई बराबर उठाएर लेख्नू !
१२. अन्तमा नेपालपोल्याण्ड इयु मार्फत बिश्वभरी छरिएर रहेका नेपालिहरु लाई केहि सन्देश दिन चाहनुहुन्छ ?
– नेपाली मात्र भनेर एउटा सिङ्गो दर्शनले सोच्दैन कि तमाम मानव जीवनको हीतकोलागि कामना गर्दै कार्ययोजना सार्दछ-गर्दछ । पछौटे बर्गमा प्राथमिक प्रेम जाने हुनाले नेपाल र नेपाली जीवनप्रति मेरो ध्यानाकर्षण भइरहन्छ । अमूर्तबोधी दर्शनलाई अवलम्बन गर्नुस्, जीवनमा अभाव केहि छैन । आफैंलाई प्राप्त गरेर प्रकृतिका सबै सिर्जनालाई प्राप्त गर्नूस ! बस ! सुखी-खुशी-सम्पन्न रहनूस !
यो सामग्री मुर्तबोधी दशर्नका प्रबर्द्धक खगेन्द्र पन्धाक लिन्बु सँग नेपालपोल्याण्ड इयु का सम्पादक श्रीकृष्ण न्यौपानेले लिएको अन्तरबार्ताको अंश हो | – सम्पादक
साभार:www.nepalpoland.eu